कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

सुरू भयो ‘होस्टेल ३’ को छायांकन

भाद्र ३१, २०८१
सुरू भयो ‘होस्टेल ३’ को छायांकन

काठमाडौँ — व्यावसायिक रूपमा सफल फिल्म ‘होस्टेल’ को तेस्रो संस्करणको आइतबार ललितपुरको कार्यविनायक मन्दिरमा पूजा गर्दै छायांकन सुरु गरिएको छ । 

फिल्मका मुख्य कलाकार पारस बम र सिम्रन पन्तले मुहूर्त सट दिएका थिए । काठमाडौंको बोडेबाट थालिएको छायांकनको पहिलो चरण २५ दिनको रहने र तिहारलगत्तै पुनः छायांकन थालिने निर्देशक सशान कँडेलले बताए ।

‘होस्टेल ३’ मा ‘कुल ब्वाय’ का नामले चिनिएका टिकटकर पारस र सिम्रनसहित रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँलगायतका कलाकार रहेका छन् । फिल्ममा अभिनेता आर्यन सिग्देल होस्टेल वार्डेनका रूपमा अतिथि भूमिकामा तथा ‘पुजार सार्की’ फेम अभिनेत्री परीक्षा लिम्बू पनि विशेष भूमिकामा हुने बताइएको छ ।

पहिलो फिल्म ‘होस्टेल’ बाट अनमोल केसी, सलोन बस्नेत र प्रकृति श्रेष्ठ अभिनय क्षेत्रमा प्रवेश गरेका थिए भने यसको दोस्रो शृंखला ‘होस्टेल रिटर्न्स’ बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन र सुशील सिटौलाले डेब्यु गरेका थिए । फागुन १६ लाई प्रदर्शन मिति तोकेर छायांकन थालेको ‘होस्टेल ३’ लाई माधव शर्माले लेखेका हुन् ।

अर्जुन तिवारीको सिनेमाटोग्राफी रहने फिल्मलाई कर्ण कार्की र गोविन्द अधिकारीले निर्माण गर्न लागेका हुन् ।

प्रकाशित : भाद्र ३१, २०८१ ०६:०३
x
×