कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

चर्चामा  ‘ज्वाइँसाब’ जितु

आश्विन १, २०८१
चर्चामा  ‘ज्वाइँसाब’ जितु

काठमाडौँ — टीभी सिरिज ‘जिरे खुर्सानी’ बाट सानो पर्दाका दर्शकमाझ हास्य कलाकारका रूपमा स्थापित भएका जितु नेपाल पछिल्लो समय भने ठूलो पर्दामा व्यस्त छन् । फिल्म ‘छ एकान छ’ देखि दीपकराज गिरी क्याम्पका फिल्ममा हास्य कलाकारका रूपमा अहंभूमिका निर्वाह गर्दै आएका उनको पछिल्लो समय भने दीपक टिमसँगको सम्बन्धमा चिसोपन छ । 

दसैंको छेको पारेर दीपकले ल्याउन लागेको फिल्म ‘छक्का पन्जा ५’ मा जितु देखिने छैनन् । तर सोही मितिमा भने उनी हलमा दर्शकसँगै हुनेछन्, ‘ज्वाइँसाब’ मार्फत् । अर्थात्, नीति शाहसँग जितुको अनस्क्रिन जोडी जमाउँदै निर्देशक वसन्त निरौलाले बनाएको फिल्म ‘ज्वाइँसाब’ र ‘छक्का पन्जा ५’ असोज २४ मा एकै दिन भिड्ने भएपछि जितुको चर्चा एकाएक चुलिएको छ ।

कतिपयले व्यावसायिक रूपमा सफल ‘छक्का पन्जा ५’ सँग जुधेर ‘ज्वाइँसाब’ ले आफ्नै खुट्टामा बन्चरो हान्न तम्सेको टिप्पणी पनि गरेका छन् । लगातार दसैंको छेकोमा फिल्म ल्याइरहेका दीपकसँगको इगोकै कारण जितुले जबर्जस्ती ‘ज्वाइँसाब’ लाई सोही मितिमा जुधाएको आरोप पनि उत्तिकै छ । त्यसो त जितुले उक्त आरोपको खण्डन गरिरहेका छन् ।

जितु र नीतिबाहेक बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, शिशिर वाङ्देल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको समेत अभिनय रहेको ‘ज्वाइँसाब’ का ट्रेलर र गीत सार्वजनिक भएपछि भने ‘हाइप’ बढेको छ । उक्त ‘हाइप’ ले यतिबेला ‘ज्वाइँसाब’ टिमलाई दसैं भिडन्तका लागि झन् उक्साइरहेको देखिन्छ ।

निशान भट्टराई र समीक्षा अधिकारीले गाएको ‘कसम बत्तीको’ गीतबाट चर्चा पाइरहेको फिल्मको ट्रेलरबाट पनि कथा केही पृथक् हुन सक्ने अड्कल काटिएको छ । ट्रेलरमा बेहुला बनेका जितुलाई बेहुली बनेकी नीतिले डोली चढाएर भित्र्याएको देख्न सकिन्छ ।

प्रकाशित : आश्विन १, २०८१ ०५:५८
x
×