कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

नकारात्मक टिप्पणीले ‘सोसल एन्जाइटी’

आश्विन १, २०८१
नकारात्मक टिप्पणीले ‘सोसल एन्जाइटी’

Highlights

  • रंगमञ्च हुँदै फिल्ममा अभिनय गरेकी इस्टु अचेल भने सामाजिक सञ्जालकी चल्तीकी ‘कन्टेन्ट क्रिएटर’ हुन्, आफैं ‘स्क्रिप्ट’ लेख्छिन्, आफैं खेल्छिन् । लकडाउनको समयमा परिवारसाग टिकटक बनाउादा बनाउँदै भाइरल बनेकी इभाले त्यसकै जगमा फिल्ममा ‘ब्रेक’ पाइन् 

काठमाडौँ — उनी कहिले आमा बनेर देखिन्छिन् त कहिले छोरी । अनि कहिले आधुनिक युवती त कहिले गाउँले भेषभूषामा । गाडी, रेस्टुरेन्टदेखि, थुप्रै ब्रान्डका विज्ञापन गरिसकेकी उनी घरबेटीदेखि डेरावाला सबै भूमिकामा आफूलाई खरो उतार्छिन् । कथाको भावअनुसार विभिन्न पात्र/चरित्रमार्फत विज्ञापन गर्नु टिकटकर इस्टु कार्कीको दिनचर्या नै हो । 

मुस्ताङ, पोखरा, झापालगायत रमणीय गन्तव्यमा पुगेर फ्यानहरूलाई लोभ्याउने इस्टु पछिल्लो समय सामाजिक सञ्जालमा ‘कन्टेन्ट क्रिएटर’ का रूपमा चर्चित छिन् । रंगकर्मीसमेत रहेकी इस्टु अचेल भने अभिनयको भोक टिकटक, इन्स्टाग्राम वा रिल्सका लागि तयार पारिने भिडियो सामग्रीमा अभिनय गरेर पूरा गरिरहेकी छन् । केही नाटक र फिल्ममा समेत अभिनय गरिसकेकी उनलाई त्यसमा पाइने सीमित काम र नगन्य दामले रमाउन सकिरहेकी थिइनन् । कलाकारिता सँगसँगै केही गर्ने हुटहुटीले ‘स्क्रिप्ट’ लेख्ने र त्यसमा भिडियो बनाउने काम थालिन् । पछि यही नै उनको पहिचान बनिदियो ।

पहिलो भिडियो बनाएपछि नै उनलाई दायाँबायाँ सोच्नु परेन । आम्दानीका बाटोहरू खुल्दै गए । इस्टु आफ्नो पृथक् पटकथा र स्वाभाविक अभिनयका कारण गरिएका विज्ञापन सामग्रीलाई पनि रोचक बनाउन सिपालु छिन् । उनी भन्छिन्, ‘सुरुको भिडियो अपलोड गरेपछि नै धेरैवटा कामका अफर आए, आत्तिए पनि । सायद मेरो मार्केटिङ गर्ने शैली राम्रो भएर पनि होला ।’ सामाजिक सञ्जालमा आफ्नो कन्सेप्टलाई सदुपयोग गर्न सक्दा आम्दानी सँगसँगै सेलेब्रिटी बन्न सकिने उनको बुझाइ छ ।

देख्दा सहज भए पनि काम गर्दा चुनौती पनि छन् उनका लागि । ब्रान्डदेखि एजेन्सीसम्मका समस्या पनि भोग्नुपर्दछ । स्क्रिप्ट लेखनमा धेरै मिहिनेत गर्नुपर्ने र सोहीअनुसार भिडियो बनाउने, पात्र/चरित्र निर्माण गर्नेदेखि एजेन्सीलाई चित्त बुझाउन सहज नभएको उनको अनुभव छ । ‘भिडियोको यति ‘रिच’ पुग्नैपर्छ भन्ने विज्ञापन एजेन्सीको दबाब पनि हुन्छ,’ इस्टु सुनाउँछिन्, ‘हरेक कन्टेन्ट क्रिएटरको उद्देश्य नै बढीभन्दा बढीले कन्टेन्ट हेरून् भन्ने नै हो । तर सधैं सोचेजस्तो भिडियोको भ्युज नजाने पनि हुन्छ ।’

फेसबुक, इन्स्टाग्राममा उनी लोकप्रिय छिन् । फ्यान फलोइङ पनि बढ्दो छ । उनी सञ्जालमा माया मात्र पाउँदिनन्, गाली पनि उत्तिकै खाइरहेकी हुन्छिन् । छोटो लुगा लगाएको भन्दै उनलाई नकारात्मक टिप्पणी आउँछ । त्यसबाहेक उनको बोल्ने, हाँस्ने, हिँड्ने जस्ता निजी कुरामा पनि नकारात्मक टिप्पणी आइरहेको हुन्छ । सुरुवाती दिनमा यस्ता टिप्पणी आउनुको कारणमा आफू नराम्रो भएकाले हो कि भन्ने ठान्थिन् रे इस्टु । ‘नकारात्मक टिप्पणीले पनि सहने र हेर्ने बानी पर्दो रहेछ, अहिले त वास्ता लाग्दैन, त्यस्ता कमेन्ट्स गर्नेहरू आउँछन्, जान्छ,’ उनी भन्छिन् ।

यस्तै अर्की ‘कन्टेन्ट क्रिएटर’ इभा गिरीलाई भने नकारात्मक टिप्पणीले नराम्रो असर पार्‍यो । सामाजिक सञ्जालमा आएका ‘कमेन्ट’ले धेरै पटक रोएकी छन् उनी । ‘नेगेटिभ कमेन्ट्सकै कारण सोसल एन्जाइटी नै भएको थियो,’ १६ वर्षको छँदै सामाजिक सञ्जालमा छिरेकी इभाले भनिन् । लकडाउनको समय, जुनबेला बाहिर निस्कने अवस्था थिएन । घरमा यसै बसिरहँदा पनि समय कटाउन गाह्रो थियो । एक दिन इभाले बाबासँग बनाएको भिडियो टिकटकमा अपलोड गरिन् । लगातार पारिवारिक भिडियोमा फोकस भएर बनाइएका उनका ‘कन्टेन्ट’ धेरैले रुचाइदिए । त्यसपछि त दैनिक २० देखि ३० वटासम्म भिडियो अपलोड गर्न थालिन् ।

रमाइलो र टाइम पासका लागि बनाइएका भिडियोहरूमा जब नकारात्क टिप्पणी आउन थाले तब भने उनी आत्तिइन् । ‘मलाई मार्नेदेखि रेपसम्मका थ्रेट पनि आए, कमेन्ट सहन नसकेर म धेरै रोएकी छु, सोसल एन्जाइटी नै भयो ।’ उनलाई नकारात्मक ‘कमेन्ट’ किन आउँछ त ? ‘त्यो मान्छेको सोच हो,’ उनको निष्कर्ष छ, ‘नकारात्मक सोचले नकारात्मक नै र सकारात्मक सोचले सकारात्मक नै देख्छ ।’ ‘फेमिली कन्टेन’बाट सुरुवात भएको उनको भिडियोको यात्रा लाइफस्टाइल, फेसन फिटनेससम्म आइपुगेको छ । हरेक समय भिडियोमा नयाँपन खोजिरहेकी हुन्छिन् । फ्यानले पनि एउटै शैलीका भिडियो मन नपराउने उनको अनुभव छ ।

अहिले उनलाई नकारात्मक टिप्पणी सहने बानी नै परेको छ । ब्रान्डहरूसँगको सहकार्य पनि अगाडि बढाएकी छन् । पारिवारिक सपोर्ट पनि पाएकी छन् । फेसनमा रुचि राख्ने उनी सामाजिक सञ्जालमार्फत नै ‘क्लोथिङ’ ब्रान्ड ‘जोफिल बाई इभा’ मार्फत व्यवसायमा पनि हात हालेकी छन् । अनलाइनदेखि स्टोरमार्फत उनले बिक्री गरिरहेकी छन् ।

सामाजिक सञ्जालमा जति मिहिनेत गर्‍यो त्यत्ति आम्दानी बढ्ने उनको भनाइ छ । सामाजिक सञ्जालबाट नै उनको यात्रा फिल्म अभिनयसम्म पुगेको छ । केही साताअघि मात्रै प्रदर्शनमा आएको फिल्म ‘नमेटिने घाउ’ मा उनले अभिनय गरिसकेकी छन् ।

प्रकाशित : आश्विन १, २०८१ ०६:००
x
×