कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

गीत र म्युजिक भिडियोमार्फत भ्रष्टाचारको विरोध

भाद्र २५, २०८१
गीत र म्युजिक भिडियोमार्फत भ्रष्टाचारको विरोध

काठमाडौँ — मुलुकमा भ्रष्टाचार, अनियमितता र बेथिति मौलाएमा विरोध जनाउँदै रचिएको गीत तथा म्युजिक भिडियो ‘भ्रष्टाचारको चपेटामा देश’ सार्वजनिक भएको छ ।

विगत दुई दशकदेखि अमेरिकालाई कर्मथलो बनाएका समाजसेवी हेम पाठकद्वारा रचित ‘भ्रष्टाचारको चपेटामा देश’ गीत तथा म्युजिक भिडियो मंगलबार वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र निवर्तमान मुख्यसचिव लीला गड्तौलाले काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरेका हुन् ।

हेम–सरिता फाउन्डेसनका संस्थापक एव संरक्षक पाठकद्वारा रचिएको गीतमा बीबी अनुरागीको संगीत तथा गायिका कुन्ति मोक्तान र गायक शिशिर योगीको स्वर रहेको छ । म्युजिक भिडियोमा वरिष्ठ हास्य अभिनेता किरण केसीसहित कलाकारहरु विद्या कार्की, रेश्मा श्रेष्ठ, राजु भुजु, आरके मानन्धरलगायतले अनियन गरेका छन् ।

शासनसत्ता चलाउनेबाट मौलाएको भ्रष्टाचार, सार्वजनिक सेवामा कर्मचारीहरुले घुस खाएको, राज्यको पहुँचबाट टाढा रहेका नागरिक भ्रष्टाचारीबाटै आजित भएको लगायतका विषयलाई गीत तथा म्युजिक भिडियोका माध्यमबाट नेता–कर्मचारी तथा बिचौलियाहरुलाई ब्यंग्य गरिएको छ ।

कार्यक्रममा निवर्तमान मुख्यसचिव गड्तौलाले ‘जोसँग धेरै सम्पत्ति छ, उ नै समाजको गन्यमान्य व्यक्ति’ भन्ने भाष्य निर्माण भएको तर पैसा कमाउनेको आर्थिक स्रोत नखोज्ने प्रवृत्ति’ले भ्रष्टाचार मौलाएको टिप्पणी गरिन् । ‘समाजमा पैसा भएको व्यक्ति ठूलो मान्छे हो भन्ने भाष्य निर्माण भएको छ, यहाँ जसलाई पनि ठूलो मान्छे हुने रहर जागेको छ,’ गड्तौलाले भनिन्, ‘समाजमा कसरी ‘ठूलो मान्छे’ले धेरै पैसा कमाइरहेको छ भन्ने कुरामा हेर्दैन, पैसालाई गुणगान गाइरहेको छ, त्यस्तो थोरबहुत गल्ती हामीले पनि गरिरहेका छौं, जरैदेखि त्यसको खोजबिन हुनुपर्छ । माथिबाट होइन, तलबाट, जरैबाट हुनुपर्छ । विद्यालयबाटै भ्रष्टाचारविरुद्ध पढाउन थाल्नु पर्छ ।’

भ्रष्टाचार देशका लागि रोग भएको भन्दै उनले कसैले भ्रष्टाचार छैन भन्यो भने पत्यार नै नहुने बताइन् । ‘देशमा भ्रष्टाचार छैन भनेर कसैले भन्छ भने कसैले पनि पत्याउँदा पनि पत्याउँदैनन्,’ उनले भनिन्, ‘भ्रष्टाचार नगरी पनि देशमा आदरणीय/सम्माननीय व्यक्तिहरु हुन्छन् भन्ने कुरा केही पात्रहरुबाट पनि पुष्टि हुन्छ, त्यस्ता व्यक्तिहरुले घुस खानु हुन्छ भनेर कसैले पनि पत्याउँदैन ।’ उनले भ्रष्टाचारविरुद्ध सबैले बोल्ने/प्रश्न प्रयास गर्नुपर्ने भन्दै ‘भ्रष्टाचारको चपेटामा देश’ गीत त्यही बोल्ने प्रयासको एउटा पाटो भएको बताइन् ।

कलाकार मदनकृष्ण श्रेष्ठले मुलुकमा भ्रष्टाचार र अनियमितता मौलाएर गएको बताए । भ्रष्टाचारविरुद्ध गीतका माध्यमबाट बोल्ने प्रयास गरेको भन्दै सर्जक तथा कलाकारहरुको उनले प्रशंसा गरे । कलाकार किरण केसीले ‘भ्रष्टाचार र अनियमिततामा संलग्न व्यक्ति’ भएका कुनै पनि कार्यक्रममा आफू नजाने प्रतिबद्धता जनाए । ‘भ्रष्टाचारीहरु आएको देखेँ भने म अर्कोतिर फर्किन्छु,’ उनले भने, ‘कसैले कार्यक्रममा बोलाउँछन्, सेलिब्रेटी भनेर पनि निम्ता दिन्छन्, तर म त्यस्तो कार्यक्रममा कोही भ्रष्टाचारी रहेको र आउने थाहा पाएँ भने जादिनँ, तपाईंहरु पनि नजानुस्’ भनेर अपिल गरे ।

‘जानअन्जानमा बच्चाहरुले भान्सामा पनि शौच गर्छन् । तर बच्चालाई कुट्ने त ? त्यसबेला माफी दिइन्छ नि, त्यस्तै थाहा नपाउँदा खेरी मैले जानअन्जानमा भ्रष्टाचारीका छोराछोरीको विवाहमा गएर खाएँ होला, त्यसमा पाप नलागोस्,’ उनले भने, ‘आउँदा दिनहरुमा त्यस्ताले पक्कै निम्ता त दिन्छन् हामीजस्तो सेलिब्रेटीलाई, यो भ्रष्टाचारी पक्कै हो भनेर थाहा पाएमा म नजाने प्रतिबद्धता जनाउँछु ।’

प्राध्यापक सुरेन्द्र केसीले भ्रष्टाचार मौलाएको तर त्यसलाई रोक्न कसैले पनि पहल नगरेको भन्दै असन्तुष्टि जनाए । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्रले भ्रष्टाचार नियन्त्रण गर्न जरैबाट खोतल्नु पर्ने बताए ।

गीतकार पाठकले भ्रष्टाचारीको सम्पत्ति राज्यले जफत गरेर देशको हितमा खर्च गर्नुपर्ने बताए ।

प्रकाशित : भाद्र २५, २०८१ १९:०२
×