कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

इन्डियन एयरलाइन्सको विमान अपहरणबारेको सिरिज विवादमा 

भाद्र १७, २०८१
इन्डियन एयरलाइन्सको विमान अपहरणबारेको सिरिज विवादमा 

Highlights

  • ‘आईसी ८१४–द कान्दाहार हाइज्याक’ सिरिजमा अपहरणकर्ताहरूलाई ‘भोला’ र ‘शंकर’ नाम दिइएका कारण भारतमा विरोध 

काठमाडौँ — काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको विमान अपहरणमा परेको साढे दुई दशक भयो । भारतीय राजधानी नयाँदिल्लीका लागि उडेको ‘आईसी–८१४’ विमान १९९९ डिसेम्बर २४ मा अपहरणमा परेको थियो । ४ बजेर ३९ मिनेटमा भारतीय हवाई क्षेत्रमा प्रवेश गरेसँगै विमानलाई पाँच जना अपहरणकारीले नियन्त्रणमा लिएका थिए । 

हवाई टिकट र विमानस्थलको अध्यागमन कक्षमा देखाएको परिचयपत्रमा उल्लेख भएअनुसार अपहरणमा अहमद ए शेख, सन्नी अहमद कजी, सइद अख्तर सैयद, मिस्त्री जहूर इब्राहिम र राजेश गोपाल बर्माको प्रत्यक्ष संलग्नता थियो । विमानमा क्याप्टेन देवी शरण, को–पाइलट राजिन्दर कुमार र इन्जिनियर अनिल कुमार जग्गियासहित ११ जना चालक दलका सदस्य थिए । त्यसपछि विमान भारतको अमृतसर, पाकिस्तानको लाहोर, संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई हुँदै अफगानिस्तानको कान्दाहारमा पुर्‍याइएको थियो । विमान भारत प्रशासित कश्मीरमा सक्रिय रहेको उग्रवादी समूह हर्कत–उल–मुजाहिद्दिनले गरेको थियो ।

अपहरणपछि भारतीय विदेशमन्त्री जसवन्त सिंह कान्दाहार पुगेर अपहरणकारीको मागबमोजिम भारतीय जेलमा रहेका तीन बन्दीलाई बुझाएर ८ दिनपछि जहाजका यात्रुहरूलाई मुक्त गराएका थिए । जहाजमा रहेका १७९ यात्रुमध्ये एक जना भने अपहरणकारीको आक्रमणमा मारिएका थिए ।

यात्रुहरूको सफल उद्धारका लागि भूमिका निर्वाह गरेको भन्दै क्याप्टेन देवीको निकै प्रशंसा भएको थियो । ‘जहाजको ककपिटमा मेरो पछाडि दुई जना आतंककारी उभिएका थिए । मैले मेरो को–पाइलटसँग जेसुकै कुरा गरे पनि उनीहरूले बुझ्ने अवस्था थियो,’ जहाज अपहरणपछिको अवस्थाबारे न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा क्याप्टेन देवीले भनेका थिए । अपहरणपछि कान्दाहार पुर्‍याइएकाे इन्डियन एयरलाइन्सको विमान । तस्बिर : एएफपी

अपहरणपछि विमान पाकिस्तानसँगको भारतीय सीमावर्ती सहर अमृतसर पुर्‍याइएको थियो । सुरुमा अपहरणकारीले विमान पाकिस्तानी सहर लाहोर लैजान दबाब दिएका थिए । तर एकातर्फ इन्धनको कमी र अर्कोतर्फ पाकिस्तानले अनुमति नदिएपछि विमान अमृतसरमा आपतकालीन अवतरण गराइएको थियो ।

अपहरणकारीहरूले भारतीय भूमि छाड्न दबाब दिएकै कारण अमृतसरबाट निकै कम इन्धनका भरमा विमान पुनः लाहोरका लागि उड्यो । क्याप्टेन देवीका अनुसार लाहोरमा विमान अवतरण गर्न एटीसी (एअर ट्राफिक कन्ट्रोल) ले अनुमति नदिएपछि आफूले ‘क्यास ल्यान्डिङ’ गराउने बताएका थिए । त्यसमाथि विमानमा इन्धन कम भएका कारण पनि पाकिस्तान अवतरण अनुमति दिन बाध्य भएको थियो ।

त्यहाँ इन्धन भरेपछि अपहरणकारीले विमानलाई अफगानिस्तानको काबुल लैजान खोजेका थिए । तर काबुलमा राति अवतरण गर्ने सुविधा नभएकाले विमान दुबई पुर्‍याइएको हो । त्यहाँबाट भने विमानलाई तत्कालीन तालिवान शासन रहेको कान्दाहार पुर्‍याइयो । त्यसपछि अपहरणकारीले भारत सरकारका प्रतिनिधिसँग वार्ता गरेका थिए । वार्तामा सघाउन र नेपाली पक्षका कुरा राख्न पाकिस्तानस्थित नेपाली दूतावासका एकजना कूटनीतिज्ञ युगनाथ पौडेललाई समेत कान्दाहार पठाइएको थियो ।

अपहरणकारीसँगको सम्झौतापछि भारतीय जेलमा रहेका मौलाना मसूद अजहर, अहमद ओमार सइद सेख र मुस्हतक अहमद जर्गारलाई छाडिएको थियो । तीमध्ये एकजना मसूद अजहरले पछि जिहादी संगठन जैश–ए–मोहम्मद स्थापना गरेका थिए । उक्त संगठनले भारतका विभिन्न सहरमा शृंखलाबद्ध आक्रमणहरू गराएको बताइन्छ । नेटफ्लिक्स सिरिज ‘आईसी ८१४–द कान्दाहार हाइज्याक’ काे एक दृश्य

२५ वर्षअघिको विमान अपहरण र त्यसपछिका घटनाक्रमका विषयमा विभिन्न फिल्महरू बनिसकेका छन् । तीमध्ये केही फिल्म निकै सफल भए भने कतिपय गुमनाम । तर यही विषयमा हालै सार्वजनिक क्राइम थ्रिलर सिरिज ‘आईसी ८१४–द कान्दाहार हाइज्याक’ भने निकै चर्चामा आएको छ । खासगरी नेपाल र भारतसहित दक्षिण एसियाली देशमा ।

त्यसका साथै सिरिज भारतमा केही विवादित पनि बनेको छ । खासगरी अपहरणमा संलग्न मुस्लिमहरूलाई गरिएको चित्रणका कारण ‘आईसी ८१४–द कान्दाहार हाइज्याक’ विवादमा तानिएको हो । ६ एपिसोडको क्राइम थ्रिलर सिरिजमा जहाज अपहरणकर्ताहरूलाई ‘भोला’ र ‘शंकर’ को नाम दिइएका कारण भारतमा विरोध सुरू भएको हो ।

सिरिजमा पाँच जना अपहरणकारीको नाम ‘चिफ’, ‘डाक्टर’, ‘बर्गर’, ‘भोला’ र ‘शंकर’ दिइएको छ । कतिपयले सिरिजमा अपहरणकारीको वास्तविक नाम राख्नुको सट्टा नियोजित रूपमा हिन्दु नाम छनोट गरिएको आरोप लगाएका छन् । भारतीय पत्रकार वीर सांघवीले ‘सिरिजले पाकिस्तानी जासुसी संस्था आईएसआईको प्रपोगाण्डाको काम गरेको’ दाबी गरेका फ्रस्ट पोस्टले उल्लेख गरेको छ ।

विमान अपहरणका क्रममा अपहरणकारीले पनि एक अर्कालाई ‘चिफ’, ‘डाक्टर’, ‘बर्गर’, ‘भोला’ र ‘शंकर’ कोड नामले बोलाएका समाचारहरू सार्वजनिक भएका थिए । सन् २००० मा भारतीय विदेश मन्त्रालयले अपहरणकारीको नाम इब्राहिम अथर, शाहिद अख्तर सइद, सन्नी अहमद कजी, मिस्त्री जहूर इब्राहिम र शाकिर भएको जनाएको थियो ।

भारतको सत्तारुढ दल भाजपाका आईटी सेल प्रमुख अमित मालवीयले आईसी ८१४ का अपहरणकर्ताहरू खतरनाक आतंकवादी भए पनि आफ्नो मुस्लिम पहिचान लुकाउन सफल भएको दाबी गरेका छन् । ‘फिल्म निर्माता अनुभव सिन्हाले गैरमुस्लिम नाम अघि बढाएर उनीहरूको आपराधिक उद्देश्यलाई वैधानिक बनाए,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । ‘दशौं वर्षपछि मानिसहरूले आईसी–८१४ हिन्दुहरूले अपहरण गरेको सोच्नेछन् ।’ मोनिका सेरगिल

त्यसका साथै फिल्ममा गरिएको गलत चित्रण पाकिस्तानी आतंकवादी र सबै मुस्लिमहरूले गरेका अपराधबाट मुक्ति पाउने एजेन्डा बनेको उनको दाबी छ । ‘यो सिनेमाको शक्ति हो, जसलाई कम्युनिस्टहरूले १९७० को दशकदेखि आक्रामक रूपमा प्रयोग गर्दै आएका छन् । सायद अझै अगाडिदेखि पनि,’ मालवीयले भने ।

सिरिज विवादमा परेसँगै भारत सरकारले विषयमा ओटीटी प्लाटफर्म नेटफ्लिक्सका सामग्री प्रमुखलाई सोधपुछका लागि बोलाएको छ । भारतीय सूचना र प्रसारण मन्त्रालयले ‘आईसी ८१४–द कान्दाहार हाइज्याक’ को विषयमा सोधपुछ गर्नका लािग नेटफ्लिक्स भारतको सामग्री प्रमुख मोनिका सेरगिललाई मंगलबारका लागि बोलाएका हो ।

अनुभव सिन्हाको निर्देशनमा बनेको ‘आईसी ८१४–द कान्दाहार हाइज्याक’ मा नसरुद्दिन शाह, पंकज कपुर, विजय शर्मा, दिया मिर्जा, अरविन्द स्वामी, आदित्य श्रीवास्तव, पत्रलेखा पल, दिब्यन्दू भट्टाचार्यलगायत कलाकारले अभियन गरेका छन् । अपहरणमा परेको विमानका क्याप्टेन देवी शरण र पत्रकार श्रीन्जोय चौधरीले लेखेको पुस्तक ‘फ्लाइट इन्टू फियर : द क्याप्टेन्स् स्टोरी’ मा आधारित सिरिजको कथा अड्रियन लेभी र त्रिशान्त श्रीवास्तावले लेखेका हुन् । सिरिज अगष्ट २९ मा ओटीटी प्लाटफर्म नेटफ्लिक्समा रिलिज गरिएको हो ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : भाद्र १७, २०८१ १९:४२
x
×