कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

सौगातको ‘बमबहादुर’ कात्तिकमा

भाद्र १०, २०८१
सौगातको ‘बमबहादुर’ कात्तिकमा

काठमाडौँ — अभिनय कौशलमा सौगात मल्ल अब्बल मानिन्छन् । गनेचुनेर फिल्म खेल्न रुचाउने उनको पछिल्लो फिल्म ‘बमबहादुर’ आगामी कात्तिक ३० देखि प्रदर्शनमा आउने भएको छ । आइतबार फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज मिति पनि तय गरिएको हो । पोस्टरमा उनै सौगात लडाकु पोसाकसहित प्रस्तुत भएका छन् । 

सौगातको शीर्ष भूमिका रहेको ‘बमबहादुर’ जोन राईले निर्देशन गरेका हुन् । सस्पेन्स, थ्रिलर, रोमान्ससँगै सोसल ड्रामाको सम्मिश्रण रहेको बताइएको फिल्मले बमबहादुरको जीवनमा चार दशकअघिको घटनाका स्मृतिले कसरी वर्तमानमा पिरोल्छ भन्ने कथा पस्किन खोजेको निर्देशक राईले बताए ।

‘कथाले दर्शकलाई बमबहादुरको बाल्यकालको स्मृतिपटमा लग्छ, जुन समयमा उनले बिताएका सुन्दर पलहरू अचानक आइपर्ने घटनाले एकाएक विग्रहतर्फ लग्छ, फिल्मले विगत घटना र वर्तमानको अवस्थालाई जोड्दै नाटकीय प्रस्तुतिमा दर्शकलाई रिझाउनेछ,’ निर्देशक राईले कथाका आरोहअवरोहका कथालाई सुन्दर ढंगले बुनिएको दाबी गरे ।

सञ्जीव सार्कीको निर्माण रहेको फिल्ममा सौगातसँगै प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, रिया भुजेल, शान्तिला तामाङ, वाशित कार्कीलगायतको मुख्य अभिनय रहेको छ । फिल्मको पटकथा निर्देशक राईले रूपेश तामाङसँग मिलेर तयार पारेका हुन् । सुजोयकुमार घोष ‘मुन्ना’ को छायांकन रहेको फिल्मको संगीत दीपंकर सिंह मुखियाले दिएका हुन् ।

प्रकाशित : भाद्र १०, २०८१ ०७:१९
x
×