कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

‘नेपथ्य’ले गर्‍यो अमेरिकामा पाँचौ कार्यक्रम 

भाद्र १०, २०८१
‘नेपथ्य’ले गर्‍यो अमेरिकामा पाँचौ कार्यक्रम 

काठमाडौँ — लोकरक ब्यान्ड ‘नेफथ्य’ले अमेरिकाको टेक्सासमा सांगीतिक कार्यक्रम गरेको छ । अमेरिकाको सांगीतिक यात्रामा रहेको ब्यान्डले  टेक्सासको डालसस्थित चार हजार दर्शक क्षमताको टोयोटा म्युजिक फ्याक्ट्रीमा प्रस्तुति दिएको हो । 

दुई घन्टासम्म चलेको कार्यक्रममा नेपथ्यले ‘कोशीको पानी यो जिन्दगानी’, ‘शिरफूल शिरैमा’, ‘नैनताल’, ‘पचासै वर्षमा’, ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजारमा’, ‘रेशम’, ‘तालको पानी’ जस्ता नयाँ तथा पुराना गीतहरू प्रस्तुत गरेको हो ।

कार्यक्रममा मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । नेपथ्यको प्रस्तुति हेर्नका लागि कतिपय दर्शक–स्रोता राजधानी वासिङ्टन डिसीदेखि पनि पुगेका थिए ।

नेपथ्यको यसवर्षको अमेरिका यात्राका क्रममा चारवटा कार्यक्रम सम्पन्न गरिसकेको छ । ब्यान्डले आफ्नो पाँचौ प्रस्तुति न्यूयोर्कमा गर्नेछ । कार्यक्रम अगस्ट ३० मा म्यानहटनको फिफ्टी सिक्स्थ स्ट्रिटस्थित ‘टर्मिनल फाइभ’ हलमा हुँदै छ ।

ब्यान्डले न्युयोर्कपछि मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभेनियाको ह्यारिसबर्गमा प्रस्तुत गरेपछि यस वर्षको शृंखलाबद्ध यात्रा सम्पन्न हुनेछ ।

प्रकाशित : भाद्र १०, २०८१ १४:४६
x
×