कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

सुदूरपश्चिमले ल्याउने भयो एकै वर्ष दुई बजेट

भाद्र ३१, २०८१
सुदूरपश्चिमले ल्याउने भयो एकै वर्ष दुई बजेट

Highlights

  • यसअघि मन्त्री सुरेन्द्रबहादुर पालले असार १ मा प्रदेशसभामा पेस गरेको बजेटसम्बन्धी विधेयक आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सोमबार फिर्ता लिने, वर्तमान सरकारले तयार गरेको नयाँ बजेट टेबल गर्ने

धनगढी — एकै वर्षको बजेट वक्तव्य दुई पटक प्रस्तुत गरेर नौलो अभ्यास गर्दै सुदूरपश्चिम प्रदेश सरकारले सोमबार चालु आर्थिक वर्षको बजेट ल्याउने भएको छ । बजेटको तयारी पूरा भएको मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् । दुई महिनादेखि सुदूरपश्चिम प्रदेश सरकार बजेट शून्यतामा छ । 

प्रदेशसभा बैठकको कार्यक्रमअनुसार सोमबार सुरुमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले यसअघि मन्त्री सुरेन्द्रबहादुर पालले गत असार १ मा प्रदेशसभामा पेस गरेको बजेटसम्बन्धी विधेयक फिर्ता लिनेछन् । त्यसपछि वर्तमान सरकारले तयार गरेको नयाँ बजेट टेबल गर्नेछन् । बजेट टेबल गरिसकेपछि मन्त्री थापाले चालु आर्थिक वर्ष ०८१/८२ का लागि बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यसूची छ ।

‘यसअघि पेस भएको बजेट छलफलमै गएन । तसर्थ उक्त बजेट फिर्ता लिएर आर्थिक मामिलामन्त्रीले नयाँ बजेट वक्तव्य प्रस्तुत गर्नुहुनेछ,’ सचिव झलकराम अधिकारीले भने, ‘अघिल्लो सरकारले ल्याएकै अंकमा बजेट ल्याउन लागिएको छ ।’ यसअघि ३१ अर्ब ६२ करोडको बजेट पेस गरिएको थियो ।

नयाँ बजेट निर्माणका क्रममा चार वटा आधार तयार गरिएको मुख्यमन्त्री शाहले जनाए । २५ लाखभन्दा माथिका योजना राख्ने, आवश्यकता र औचित्यका आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भए कार्ययोजनासहित ससर्त अनुदानका रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने आधार तय गरिएको मुख्यमन्त्री शाहको भनाइ छ ।

यसअघि दीर्घबहादुर सोडारी नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको सरकारले असार १ मा प्रदेशसभामा प्रस्तुत गरेको बजेट छलफलमै जान नसकेर अलपत्र परेको थियो । सोडारी नेतृत्वको सरकार ढलेपछि साउन २१ मा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको सरकार गठन भएको छ । यही सरकारले नयाँ बजेट ल्याउन लागेको हो ।

मुख्यमन्त्री शाहले चार वटा आधार तयार गरेर बजेटलाई पारदर्शी बनाउने बताए पनि विगतमा सांसदहरूलाई योजनाका लागि बजेट दिने कार्यक्रमलाई वर्तमान सरकारले घुमाउरो बाटोबाट समावेश गर्ने भएको छ । विगतमा जस्तो निर्वाचन क्षेत्र विकास कोष (सांसद कोष) नाम नदिए पनि प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदलाई दुई करोड बराबर रकम विनियोजन गरेर सरकारले योजना बजेटमा समावेश गर्ने तयारी गरेको छ । सरकारले सांसदहरूको सिफारिसका योजनाका लागि एक अर्ब ७० करोड विनियोजन गरेको जनाएको छ । ‘प्रभावशाली सांसदहरूका त त्योभन्दा बढी बजेटका योजना पनि समावेश भएका हुन सक्छन्,’ एक मन्त्रीले भने ।

चार महिनासम्म बजेट शून्यतामा रहेको सुदूरपश्चिममा बजेटका कारण चौतर्फी असर परेको सरोकारवाला बताउँछन् । विगतका वर्षमा असार १ मा बजेट आएर साउन १ देखि कार्यान्वयनमा जाने अवस्था थियो । तर यस वर्ष अहिलेसम्म सम्पूर्ण आर्थिक क्रियाकलाप ठप्प छन् । कर्मचारीहरूले तलब पाएका छैनन् भने प्रदेश सरकारका सम्पूर्ण कार्यालयका दैनिक प्रशासनिक कार्य पनि उधारोमा चलिरहेका छन् ।

बजेट दुई महिना ढिला हुँदा यसको कार्यान्वयनमा गम्भीर असर पर्ने स्वयं सांसद बताउँछन् । ‘असारमै बजेट आएको भए दसैंअघि कार्यक्रम कार्यान्वयनका सम्पूर्ण तयारी हुन्थे,’ पूर्वमन्त्रीसमेत रहेका कांग्रेस सांसद प्रकाश देउवा भन्छन्, ‘अब त मंसिरतिर बल्ल बजेट कार्यान्वयनको प्रक्रिया सुरु हुने देखिन्छ ।’

बजेट शून्यताकै कारण कृषि क्षेत्र प्रभावित भइसकेको छ । विगतका वर्षमा कृषि ज्ञान केन्द्रले ढुवानी अनुदान दिएपछि बाजुराको स्याउ धनगढीलगायत सहर पुग्थ्यो । तर यसपालि बाजुराका किसानले लटरम्म फलाएका स्याउ ढुवानी हुन सकेको छैन । ‘विगतमा प्रदेश सरकारअन्तर्गतको कृषि ज्ञान केन्द्रले ढुवानीमा सहयोग गर्थ्यो । तर यसपालि बजेट नभएकाले त्यो सुविधा भएन । त्यसैले यहाँका किसानले स्याउ पठाउन सकेका छन्,’ बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले भने ।

प्रकाशित : भाद्र ३१, २०८१ ०६:४८
x
×