कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ग्रामीण क्षेत्रमा गरिबी न्यूनीकरण गर्न कृषिमा लगानी बढाउनुपर्छ : मन्त्री अधिकारी

भाद्र २७, २०८१
ग्रामीण क्षेत्रमा गरिबी न्यूनीकरण गर्न कृषिमा लगानी बढाउनुपर्छ : मन्त्री अधिकारी

काठमाडौँ — कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ग्रामीण कृषकमाझ रहेको गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले बिहीबार विराटनगरमा गरेको कृषि एक्स्पो-२०८१ को उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले कृषि लगानी दशक घोषणा गरेको बताए ।

लगानी दशकका लागि बैँक तथा वित्तीय संस्थामार्फत कृषिमा लगानीका लागि विशेष उत्पादनहरूमा लगानी सहजीकरण गर्ने पनि मन्त्री अधिकारीले बताए । ‘निजी क्षेत्र र सहकारी क्षेत्रको लगानी अपेक्षा गरे अनुरूप हुन नसक्दा कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण हुन सकिरहेको छैन,’ मन्त्री अधिकारीले भने,‘कृषिमा निजी क्षेत्रले लगानी गर्ने वातावरण निर्माण गर्न जरुरी छ ।’

निजी क्षेत्रको सहभागिताविना लगानी दशकले सार्थकता पाउन गाह्रो रहेको भन्दै कृषि मन्त्री अधिकारीले भने, ‘कृषिमा लगानी दशकको अभियानले वर्तमान शासकीय संरचनाका तीनवटै तह, कृषक, सहकारी, निजी क्षेत्र, विकास साझेदारको लगानी कृषि क्षेत्रको व्यवसायीकरणमा केन्द्रित गर्ने छ ।’

कृषि मन्त्री अधिकारीले नेपालमा उत्पादित कृषि उपजले सहज रूपमा बजार नपाइरहेको अवस्थामा एक्स्पो वा महोत्सवका माध्यमबाट स्वदेशी उत्पादनको खपतमा सहज हुने तथा बजारको सम्भाव्यताबारे जानकारी समेत हुने बताए । नेपाली बजारमा दूधको खपत नहुँदा दुग्ध किसान तथा व्यवसायी मर्कामा परिरहेको भन्दै मन्त्री अधिकारीले देशमै दुग्ध पदार्थको विविधिकरणका साथै बजारीकरणको खोजी गर्न आवश्यक रहेको बताए ।

दूधको मूल्य वृद्धिले छुर्पी, चिज र नौनीको उत्पादन लागत बढ्न गएको पनि मन्त्री अधिकारीले बताए । नेपाली छुर्पीको प्रतिस्पर्धात्मक क्षमता कमजोर भएको आफूलाई जानकारी रहेको पनि उनको भनाइ छ ।

प्रकाशित : भाद्र २७, २०८१ १५:१०
×