कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

गुणस्तर र तोकिएको मूल्यमा पानी बिक्री गर्न बोटल संघको आग्रह

भाद्र २१, २०८१
गुणस्तर र तोकिएको मूल्यमा पानी बिक्री गर्न बोटल संघको आग्रह

काठमाडौँ — नेपाल बोटल वाटर संघले फानीको गुणस्तर र तोकिएको मूल्यमा बिक्री गर्न बिक्रेताहरूलाई आग्रह गरेको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै चाडवाडको समयमा उपभोक्तालाई निर्धारित गरिएको मूल्यभन्दा धेरैमा बिक्री नगर्न आग्रह गरेको हो । 

पानीको गुणस्तर र मूल्यमा उपभोक्ता तथा सरोकारवाला निकाय पनि सचेत हुनुपर्नेमा समेत संघले जोड दिएको छ ।

‘पानीको गुणस्तर, पहिचान खुलेको लोगो, इम्बोसिङ वा प्रिन्टेड जार, मूल्य खुलेको क्युआर कोड स्टिकर, सफा राम्रो जार, पानीको बोटल, ल्याब परिक्षणको कागजात हेरी चाडबाडको मुखमा तोकिएको मूल्यभन्दा बढीमा प्रभाव पार्ने गरी पानी बिक्री वितरण गर्ने देखिएकाले सचेत रहौं,’ संघले जारी गरेको विज्ञप्तिमा छ, ‘साथै पानीको विल/विजकसहित पानी खरिद गर्न अनुरोध गर्दछौं ।’

उपत्यकामा पानीको एक जारको खुद्रा मूल्य ४५ देखि ४७ र एक बोतल पानीको मूल्य १६ रुपैयाँ पर्ने संघले जनाएको छ । उपत्यका बाहिर भने एक जारको खुद्रा बिक्री मूल्य ६० र एक बोतलको २० रुपैयाँ पर्नेछ ।

संघले उपभोक्ताबाट पानीको खाली जारमा डिजेल, मट्टितेललगायत अखाद्य सामान राख्ने कार्यले समस्या आउने गरेको संघले जनाएको छ । साथै सिलबन्द पानीको कैफियत त्रुटीको जिम्मेवारी उद्योगीले लिनुपर्ने भएपनि सिल खोलिएको पानीको जारको उजुरीको आधारमा उद्योगी कारबाहीमा परिरहेको संघले जनाएको छ ।

उद्योगीलाई नियमित, मर्यादित र व्यवसायिक बनाउन राज्यको सहकार्य आवश्यक समेत रहेको संघको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : भाद्र २१, २०८१ २१:०२
x
×