कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

विद्युत् खरिदबिक्री सम्झौता प्रक्रिया छिट्टै अघि बढाउँछौं : ऊर्जामन्त्री खड्का

भाद्र ३१, २०८१
विद्युत् खरिदबिक्री सम्झौता प्रक्रिया छिट्टै अघि बढाउँछौं : ऊर्जामन्त्री खड्का

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले चाँडै नै नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको विद्युत् व्यापार निगमबीच ऐतिहासिक त्रिपक्षीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन् । नेपालले भारतीय प्रसारण लाइन प्रयोग गरी वर्षायाममा बंगलादेशमा विद्युत् निर्यातले दुई देशबीच विद्युत् व्यापारको ढोका खोल्ने उनको भनाइ छ । 

ऊर्जामन्त्री खड्का र नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीबीच आइतबार भएको भेटमा नेपाल र बंगलादेशबीचका ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको हो । विद्युत् उत्पादन, व्यापार र प्रसारण लाइनको विकासमा बंगलादेशले नेपाललाई सहयोग गर्ने ऊर्जामन्त्री खड्काले उल्लेख गरे ।

नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र बंगलादेशमा बढ्दो ऊर्जा आवश्यकता रहकाले दुई देशबीचको सहकार्यलाई अझ गहिरो बनाउन भेटले सहयोग पुगेको उनको भनाइ छ ।

आगामी दिनमा हुन लागेको दुई देशका सचिव तथा सहसचिवस्तरीय बैठकमा ठूला जलविद्युत् आयोजना निर्माणमा सहकार्य, अन्तरदेशीय प्रसारण लाइनमा भारतीय पक्षको सहमति र विद्युत् व्यापारको सुरुवातलगायत विभिन्न महत्त्वपूर्ण विषयमा छलफल तथा निर्णय हुने भएकाले उक्त बैठक फलदायी हुने खड्काले विश्वास व्यक्त गरे । ६८० मेगावाटको सुनकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरका लागि आवश्यक प्रक्रिया अगाडि बढेकामा राजदूतावासबाट आवश्यक पहल पुग्ने मन्त्री खड्काको भनाइ छ ।

बंगलादेशले चाँडै नै ४० मेगावाट विद्युत् खरिद सम्झौता गरेर नेपाल र बंगलादेशबीचको ऊर्जा सहकार्यलाई अगाडि बढाउने बंगलादेशका राजदूत चौधरीले बताए । बंगलादेशले सिँचाइको नवीनतम माध्यमबाट कृषि क्षेत्रमा थोरै जमिनबाट धेरै उत्पादन गरिरहेको भन्दै उक्त प्रविधिलाई नेपालमा भित्र्याउनका लागि आवश्यक सहयोग गर्ने चौधरीको भनाइ छ ।

बंगलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्न मूल्यलगायत सबै विषयमा टुंगो लागे पनि अन्तिम सम्झौता हुन सकेको छैन । यसअघि साउन १३ मा सम्झौताका मिति तय भए पनि बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले गर्दा सम्झौता मिति सरेको थियो । त्यसयता सेप्टेम्बरमै सम्झौता गरी अक्टोबर र नोभेम्बरमा बिजुली बिक्री गर्ने गरी सम्झौताका लागि छलफल भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

प्रकाशित : भाद्र ३१, २०८१ ०६:४७
x
×