कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

नाडामा नयाँ सवारीले आकर्षण

भाद्र १३, २०८१
नाडामा नयाँ सवारीले आकर्षण

Highlights

  • पहिलो दिन मंगलबार १० हजार, दोस्रो दिन बुधबार १५ हजारभन्दा बढी अवलोकनकर्ता 

काठमाडौँ — काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो सोमा नयाँ गाडी, मोटरसाइकल र तिनका पाटपुर्जाबारे बुझ्न र अवलोकन गर्न आउनेहरूको संख्या बढ्दै गएको छ । एकै ठाउँमा विभिन्न कम्पनीका सवारी साधन प्रत्यक्ष हेरेर आफ्नो रोजाइको बनाउन सकिने भएपछि युवादेखि पाकापुस्तासम्म अटो सो पुगेका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १६औं संस्करणको ‘नाडा अटो सो २०२४’ को पहिलो दिन मंगलबार १० हजार दर्शक आएको बताइएको छ । दोस्रो दिन बुधबार १५ हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेको नाडाले जनाएको छ ।

अटो सोमा कम्पनीहरूबीच सवारीसाधनदेखि हेल्मेट, टायर, लुब्रिकेन्ट्समा छुट दिन प्रतिस्पर्धा छ । त्यसो त कम्पनीहरूका लागि अटो सो नयाँ उत्पादन (प्रोडक्ट) लन्च गर्ने राम्रो गन्तव्य बन्दै आएको छ ।

अटो सोमा चारपांग्रे, दुईपांग्रे, सेमी कमर्सियल तथा कमर्सियल भेहिकल र अटो कम्पोनेन्टमा टायर, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट, स्पेयर पार्ट्सलगायत गरी १ सय ३० वटा स्टल राखिएको छ । जसमा २३ वटा चारपांग्रे ब्रान्ड, १९ वटा दुईपांग्रे र १२ वटा हल्का व्यावसायिक सवारीसाधनका ब्रान्ड राखिएको छ । लुब्रिकेन्ट्स, टायर, ब्याट्री लगायतका कम्पनीका स्टल ३३ वटा छन् ।

समग्र स्टलमा ८० प्रतिशत विद्युतीय सवारीसाधनको सहभागिता रहेको नाडा अटो सोका संयोजक अनुपकुमार बरालले जनाए । प्रदर्शनीमा विद्युतीय पिकअप भ्यान पनि राखिएको छ । अटो सोमा आफूलाई मन परेको सवारीसाधन छुट अफरमा बुकिङ गरेर किन्न सकिन्छ । सवारी कर्जाका लागि बैंक तथा वित्तीय संस्थाले सस्तो ब्याजदरमा नयाँ–नयाँ स्किम ल्याएका छन् । ११ वटा बैंक तथा वित्तीय संस्थाले अटो सोमा स्टल नै राखेर कर्जाका लागि अफर गरिरहेका छन् । बैंकहरूले सवारी कर्जामा सात वर्षसम्म ब्याजदर परिवर्तन नहुनेलगायत विभिन्न योजना सार्वजनिक गरेका छन् ।

चाडबाडको पूर्वसन्ध्यामा आयोजना गरिएको अटो सोमा नगद छुट अफर राखेर दुई र चारपांग्रे सवारी साधनको बुकिङ भइरहेको छ । अटो सोमा राखिएको छुट अफर प्रायः कम्पनीहरूले दसैं, तिहार र छठसम्म उपलब्ध गराउनेछन् । व्यवसायीहरूले अटो सोलाई अटो बजारको कुम्भमेला मानेका छन् । अटो सो अटो व्यवसायीहरूका लागि ठूलो चाड भएको नाडाका अध्यक्ष करण चौधरीले बताए । मेलामा सबैभन्दा बढी भीड विद्युतीय सवारीसाधनका स्टलहरूमा लागेको छ ।

‘अटो सोले व्यवसायी उत्साहित छन्,’ संयोजक बरालले भने, ‘प्रत्येक स्टलमा रहेका कम्पनीहरूले केही न केही नयाँ उत्पादन (प्रोडक्ट) ल्याएका छन्, जसले गर्दा अटो सोमा चहलपहल छ ।’ दर्शकको उपस्थिति सोचेभन्दा राम्रो भइरहेको उनले जनाए । नयाँ प्रोडक्ट लन्च गर्ने कुरामा व्यवसायी उत्साहित देखिएका छन् ।

सर्वसाधारणका लागि बिहान ११ बाट साँझ साढे ६ बजेसम्म अटो सो खुला रहने नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले बताए । नाडाका अनुसार अटोमोबाइल क्षेत्रमा १ खर्ब रुपैयाँभन्दा बढी लगानी छ । प्रत्यक्ष १ लाख र अप्रत्यक्ष रूपमा १५ लाखभन्दा बढी रोजगार छन् ।

प्रकाशित : भाद्र १३, २०८१ ०६:४२
×