कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

किसानको उत्पादन नगदमा बेच्ने, उधारो नतिर्ने समस्या अब सधैँलाई अन्त्य हुनुपर्छ : मन्त्री अधिकारी

किसानको उत्पादन नगदमा बेच्ने, उधारो नतिर्ने समस्या अब सधैँलाई अन्त्य हुनुपर्छ : मन्त्री अधिकारी

Highlights

  • 'उखु किसानलाई १ अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी छ । दुग्ध किसानलाई १ अर्ब ३६ करोड रुपैयाँ बक्यौता छ । यो रकम दशैँअघिसम्म भुक्तानी भइसक्छ । म कृषि मन्त्रालयको जिम्मेवारीमा छु । मैले जिम्मा लिन्छु।'

काठमाडौँ — कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले दुध र उखु किसानको रकम दशैँअघि नै भुक्तानी दिने बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकारहरूसँगको भेटमा मन्त्री अधिकारीले किसानको ११ महिनादेखि बाँकी रहेको दुधको रकम एक महिनाभित्र भुक्तानी दिने तयारी भइरहेको बताए । 

मन्त्री अधिकारीले उक्त रकम भुक्तानीको लागि दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ उपलब्ध गराउने योजना रहेको बताए । मन्त्री अधिकारीले दुग्ध किसानलाई १ अर्ब ३६ करोड रुपैयाँ तिर्न बाँकी रहेको भन्दै दुग्ध किसानहरुको भुक्तानीको दीर्घकालीन समाधानको विषयमा पनि सरकारले योजना बनाइरहेको बताए । उनले सरकारले किसानसँग उधारो दुध किन्ने र नगदमा बेचेर किसानलाई पैसा नदिने समस्या समाधान गरिने बताए ।

मन्त्री अधिकारीले उखु किसानलाई १ अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी रहेको भन्दै उक्त रकम पनि दशैँअघि नै उपलब्ध गराउन मन्त्रालयले काम थालिसकेको बताए । उनले भने, ‘सरकारले १ अर्ब ३६ करोड रुपैयाँ किसानलाई तिर्न बाँकी छ । उक्त रकम यो महिनाभित्र वा दशैँअघिसम्म भुक्तानी भइसक्छ । विगत ११ महिनादेखि बाँकी रहेको यो बक्यौता अब पनि नतिरेर रहन मिल्दैन । सरकारले दुग्ध किसानहरुको भुक्तानीको दीर्घकालीन समाधानको विषयमा पनि सोच बनाएको छ । किसानसँग उधारो दुध किन्ने, तर नगदमा बेच्ने किसानलाई पैसा नदिने समस्या अब सधैँका लागि अन्त्य हुनुपर्छ । त्यसका लागि मन्त्रालयले गृहकार्य गरिरहेको छ ।'

मन्त्री अधिकारीले त्यसैगरी उखु किसानका दु:खबारे पनि मन्त्रालय जानकार रहेको बताए । 'उखु किसानलाई १ अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी छ । म कृषि मन्त्रालयको जिम्मेवारीमा छु । मैले जिम्मा लिनैपर्छ। वन, भूमिसुधार, उद्योग, अर्थ, प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयसँग समेत समन्वय गरेर म यो समस्या समाधानका लागि पहल गर्नेछु ।'

उनले कृषि मन्त्रालयले जिम्मा लिएपछि गलत गर्ने छुट नभएको भन्दै कृषि क्षेत्र सुधार गरेर देखाउने बताए ।

प्रकाशित : भाद्र ९, २०८१ १७:२२
x
×