कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

एसी च्याम्बरमा च्याउ

भाद्र २८, २०८१
एसी च्याम्बरमा च्याउ

चितवन — कमल सुवेदीले गत वर्ष दुई करोड रुपैयाँ बराबरको च्याउ बिक्री गरे । यो वर्ष दोब्बर बनाउने उनको लक्ष्य छ । कालिका नगरपालिका–२ पदमपुरमा उनले च्याउ खेती गर्छन् । उनले पाते (कन्ने) र डल्ले (बटन) च्याउ गरेर दुई प्रकारका च्याउ लगाउँदै आएका छन् । 

गत वर्ष डल्ले च्याउ जाडोयामका तीन महिना मात्रै लगाए । यो पटक १२ महिना नै खेती गर्न मिल्ने वातानुकूलित च्याम्बरमा डल्ले च्याउ लगाएका छन् । तुलनात्मक रूपमा अलि बढी मूल्य आउने डल्ले च्याउ वर्षभर नै उत्पादन लिन मिल्ने भएपछि कारोबार रकम दोब्बर हुने उनको आकलन छ । नवलपरासी मूल घर भएका कमल सन् २००२ मा बेल्जियम गए । त्यहाँ उनले च्याउबारे दुई वर्ष तालिम लिए । थप पाँच वर्ष त्यही च्याउ खेमा काम गरे । अन्य देशमा पनि गएका कमल चार वर्षअघि विदेश छाडेर घर आए ।

सुरुमा उनले अर्कैको च्याउ फार्ममा काम गरे । ‘विदेशबाट फर्केपछि मैले भैरहवा र जुगेडीको च्याउ फार्ममा काम गरें । ०७९ पुसदेखि पदमपुरमा आएर जग्गा भाडामा लिएर आफैंले च्याउ खेती सुरु गरेको हुँ,’ कमलले भने ।

पाँच लाख रुपैयाँबाट च्याउ खेती गरेका कमलले लगानी बढाउँदै गए । बाह्रै महिना उत्पादन गर्दा राम्रो आम्दानी लिन सकिने सम्भावना देखेपछि उनले एसी च्याम्बर बनाए । अहिले त्यसबाट उत्पादन लिन सुरु भएको छ । ‘बुझ्नलाई एसी च्याम्बर भने पनि यो एयर हेन्डलिङ युनिट (एएचयू) हो । यो एक प्रविधि हो, जसका कारण आर्द्रता, तापमान जस्ता डल्ले च्याउका लागि उपयुक्त वातावरण र तापमान हरदम त्यहाँ भइरहन्छ,’ कमलले भने ।

एउटा एएचयूका लागि १० देखि ११ लाख रुपैयाँ खर्च लाग्ने कमलले बताए । यस्ता १२ वटा च्याम्बर छन् । एउटा च्याम्बरका लागि प्रदेश सरकारले अनुदान दिएको हो । अरू आफैं स्रोत जुटाएको उनले जनाए । ‘अहिले चार करोड रुपैयाँ जति लगानी भएको छ । अढाई करोड बैंकबाट ऋण जुटाएको हुँ,’ कमलले भने । पाते च्याउको मूल्य अस्थिर भए पनि डल्लेको भाउ वर्षभर एकैनासको हुने गरेको उनको भनाइ छ । ‘पाते च्याउ किलोको दुई सय रुपैयाँमा बिक्री गर्दा गर्दै ह्वात्तै भाउ घटेर सय रुपैयाँमा पनि बेच्नुपर्ने हुन्छ । डल्लो च्याउ तीन सय साढे तीन सयमा बिक्री हुन्छ,’ उनले भने । यसैका लागि एएचयू तयार गरेको उनले बताए । एएचयू प्रविधि नेपालमा नयाँ प्रविधि भने नभएको उनी सुनाउँछन् ।

भैरहवा, सर्लाही, गैंडाकोट, जुगेडी र काठमाडौंमै पनि चार–पाँच ठाउँमा एएचयूमा च्याउ खेती हुँदै आएको कमलले जानकारी दिए । ‘विदेशमा सीप सिक्यौं । स्वदेशमा यसैलाई अपनाऊँ भनेर काम सुरु गरेको हुँ । नयाँ नौलो प्रविधि अपनाएर च्याउ खेतीलाई व्यवस्थित गर्दै लैजानु छ,’ कमलले भने । कालिका नगरपालिका क्षेत्रभित्र च्याउ खेती पहिल्यैदेखि हुँदै आएको थियो । अहिले पनि वर्षको चार करोड रुपैयाँको हारहारीमा च्याउ उत्पादन र बिक्री हुने गरेको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले बताए ।

‘नगरपालिकाभित्र ७०/८० परिवार जतिले च्याउ खेती गरेका छन् । नयाँ प्रविधि प्रयोग गरेर व्यवस्थित च्याउ खेती पनि सुरु भएको छ । यसले स्वरोजगारका साथै रोजगारीको थप अवसर ल्याएको छ,’ मेयर रेग्मीले भने । कालिका नगरपालिकाभित्र पनि वडा नम्बर २ मा बढी च्याउ खेती हुने गरेको छ ।

प्रकाशित : भाद्र २८, २०८१ ०७:००
×