कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

माथिल्लो तामाकोशीको उत्पादन १८ घण्टा बन्द 

श्रावण २७, २०८१
माथिल्लो तामाकोशीको उत्पादन १८ घण्टा बन्द 

दोलखा — स्वदेशी लगानीको देशकै ठूलो माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले १८ घण्टाका लागि विद्युत् उत्पादन बन्द गरेको छ । जलविद्युत् केन्द्रको जलाशयमा थुप्रिएका गेग्रान सफा गर्न आइतबार विहानबाट विद्युत् उत्पादन बन्द गरिएको हो ।

४ सय ५६ मेगावाट क्षमताको जलविद्युत् केन्द्रले आइतबार बिहान ५ बजेबाट राति १० बजेसम्म जलाशयको पानी खाली गरेर थुप्रिएको बालुवा र अन्य गेग्रान हटाउन लागेको हो । जसका कारण १८ घण्टा विद्युत उत्पादन बन्द हुने विद्युत केन्द्रका प्रबन्धक पूर्ण गोपाल रञ्जितले बताए ।

तामाकोशी जलविद्युत केन्द्र सोही समयमा बालुवा थिग्राउने पोखरी, टनेल, र विद्युत गृहको समेत सरसफाई र मर्मत गर्ने उनले बताए । वर्षमा दुई पटक जलाशय सफा गर्नुपर्ने भए पनि यो पटक केही समय अगाडि जलाशय सफा गर्न लागेको उनले बताए । यो बर्ष धेरै बाढी र पहिरोका कारण जलाशयमा गेग्रान थुप्रिएकाले समयअघि नै सफा गर्न लागेको उनले बताए ।

जलाशय सफा गर्ने क्रममा तामाकोशी नदीको वहाव घटबढ हुने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन पनि आग्रह गरेर सार्वजनिक सूचना जारी गरेको छ । जलाशय खालीगर्ने क्रममा बाँस्थलबाट पानी छाड्दा नदी एक्कासी पानी सतह बढ्ने भएकाले तामाकोशी र सुनकोसी तटीय क्षेत्रका स्थानीयलाई माछा मार्न, पौडी खेल्न, नुहाउन लुगाधुन, शव जलाउन, नदीबाट लवा निकाल्न नजान आग्रह गरेको छ ।

गएको असार २१ गते बाढीका कारण तामाकोशीले बाँधस्थलका ढोका खोलेर जलाशय खाली गराउँदा १८ घण्टा उत्पादन बन्द भएको थियो । तामाकोशी जलविद्युत केन्द्रले लक्ष्य राखे अनसार नै विद्युत् उत्पादन एकाले जलाशय सफा गर्ने विद्युत उत्पादन बन्द हुँदा आर्थिक नोक्सानी नहुने केन्द्रका प्रबन्धक रञ्जितले बताए ।

‘हामीले राखेको उत्पादनको लक्ष्य भन्दा बढी विद्युत उत्पादन भएको छ,’ उनले भने, ‘१८ घण्टा राष्ट्रिय प्रशारण लाइनमा तामाकोशीका विद्युत उपलब्ध नहुने कुनै नोक्सानी हुँदैन ।’ हिउँद सुरु हुन पूर्व आउँदो असोजमा पुनः जलाशय सफा गरिने तालिका रहेको उनले बताए ।

प्रकाशित : श्रावण २७, २०८१ १८:०४
×