कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दुई सातादेखि सिँगटी सडक नखुल्दा उत्तरी दोलखामा यातायात ठप्प

श्रावण २७, २०८१
दुई सातादेखि सिँगटी सडक नखुल्दा उत्तरी दोलखामा यातायात ठप्प

Highlights

  • कालिञ्चोक गाउँपालिका–४ बञ्चरेनजिकै झमार्सी खोलाले सडक बगाएपछि उत्तरका बिगु, गौरीशंकर र कालिञ्चोक गाउँपालिकाका २२ वडा सम्पर्कविच्छेद 

दोलखा — दोलखा–सिँगटी सडक दुई सातादेखि पहिरोले अवरुद्ध हुँदा उत्तरी क्षेत्रका तीन गाउँपालिकाका बासिन्दाको जनजीवन प्रभावित बनेको छ । पहिरोले क्षतिग्रस्त बनाएपछि दुई सातादेखि यातायात पूर्ण रूपमा ठप्प भएको हो । सडक सञ्चालनमा नआएपछि उत्तरी क्षेत्रका तीन गाउँपालिकाका २२ वडाका ५० हजार स्थानीयको जनजीवन प्रभावित बनेको हो । 

सडक पहिरोले क्षतिग्रस्त बनेपछि उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्रमा ढुवानी ठप्प बनेको छ । वैकल्पिक रूपमा रहेको सिसा गोलाई दम्फा कालोपत्र सडकसमेत पहिरोले बगाएपछि उत्तरीक्षेत्रका बासिन्दाले थप समस्या बेहोरिरहेको सिँगटी उद्योग वाणिज्य संघका अध्यक्ष महेश श्रेष्ठले जनाए ।

यही साउन १२ मा भएको वर्षाले कालिञ्चोक गाउँपालिका–४ बञ्चरेनजिकै झमार्सी खोलाले सडक बगाएपछि उत्तरका बिगु, गौरीशंकर र कालिञ्चोक गाउँपालिकाका २२ वटा वडा सदरमुकामबाट सम्पर्कविच्छेदमा परेको श्रेष्ठको भनाइ छ । सडक सञ्चालनमा नआउँदा सिँगटीमा स्टक रहेको उपभोग्य वस्तु सकिँदै गएको उनले बताए । ‘झमार्सीमा केही व्यापारिले उपभोग्य वस्तु पल्टी गरेर बोकाएर ढुवानी गरिरहेका छन्,’ श्रेष्ठले भने, ‘पल्टी गर्दा ढुवानीको भाडा बढ्दा उपभोक्ता थप महँगीको मारमा परेका छन् ।’

पहिरोले अवरुद्ध बनाएको भमार्सीमा चामल, ग्यास तरकारीलगायत केही व्यापारीले पल्टी गरेका सामग्रीले माग धानिरहेको श्रेष्ठले जनाए । पल्टी गर्दा एक बोरा चामलको ३० र ग्यासको ५० रुपैयाँ लाग्छ । यसले थप ढुवानीको भाडा पनि बढेको उनको भनाइ छ । यसको प्रत्यक्ष असर उपभोक्तामा परेको छ । यस क्षेत्रमा निमार्णाधीन साना–ठूला जलविद्युत् आयोजनाको ढुवानी पनि पूर्ण रूपमा प्रभावित बनेको छ ।

मुख्य र वैकल्पिक सडक अवरुद्ध भएसँगै सबैभन्दा बढी मारमा बिरामी परेका छन् । बिरामी बोकेका एम्बुलेन्सले वैकल्पिक रूपमा बिरामीलाई झमार्सीमा यात्रीहरू साटासाट गरेर स्वास्थ्य संस्था लैजाने गरेका छन् । झमार्सीबाट सानाठूला सबै सवारीसाधन पूर्ण रूपमा बन्द भएका छन् । मोटरसाइकलमा भने जोखिम मोलेर आउजाउ भइरहेको छ ।

वैकल्पिक रूपमा रहेको अर्को कालोपत्र सडक कालिञ्चोक गाउँपालिका–५ घट्टेखोलामा पहिरोले बगाएपछि थप संकट भएको स्थानीय पुस्कर शिवाकोटीले बताए । मुख्य सडक बगाएपछि वैकल्पिक सडक सञ्चालनका लागि तल्लो तामाकोशी नदीको बाटो प्रयोगको प्रयास गरे पनि तामाकोशीको बहावका कारण सम्भावना नदेखिएको बिगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीले जनाए ।

सडक सञ्चालनमा नआउँदासम्म झमार्सीमा पल्टी गरेर ढुवानी र आउजाउ सहज गर्ने काम भइरहेको ओलीको भनाइ छ । बिरामी र अत्यावश्यक ढुवानीका लागि पालिकाले सहजीकरण गरिरहेको उनले बताए । ‘सिँगटीमा खाद्यान्न मौज्दातको अवस्था बुझिरहेका छौं,’ उनले भने, ‘तत्कालका लागि अभाव र कालोबजारी हुन नदिन सचेत छौं, बिरामीका लागि दुवैतर्फ पल्टीका लागि एम्बुलेन्स राखेका छौं ।’

डिभिजन सडक कार्यालय चरिकोटसँग समन्वय गरेर सडक खुलाउने प्रयास गरिरहेको ओलीले जनाए । वैकल्पिक सडकसमेत तत्काल खुलाउन नसकिने गरी बगेकाले अवस्था असहज बनेको हो । दोलखा–सिँगटी उत्तरी क्षेत्रको एक मात्रै विकल्पका रूपमा रहेको सडक हो । अन्य सहायक सडक पनि वर्षाले क्षतिग्रस्त बनाएको छ । सडक खुलाउने प्रयास भइरहेको डिभिजन सडक कार्यालय चरिकोटले बताएको छ ।

सडक खुलाउन फास्टट्र्याकमा आह्वान गरेको बोलपत्र कबोल गराएर १५ दिनको समयसीमामा सडक खुलाउने गरी निर्माण व्यवसायीले काम थालिसकेको उक्त सडक हेर्दै आएका डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर भरत श्रेष्ठले जनाए । सडकलाई तलबाटै खोलाले तानेको हुनाले एकतर्फी पनि सडक सञ्चालन गर्न पनि नसकिएको उनको भनाइ छ ।

‘सडक खुलाउनका लागि सबै संयन्त्र परिचालन गरेका छौं,’ उनले भने, ‘सम्झौता गरेर निर्माण व्यवसायीले काम सुरु गरिसकेका छन्, काम थालेको दुई सातामा सडक सञ्चालनमा आउने विश्वास गरेका छौं ।’ सडक पहिराले बगाएपछि निमार्णाधीन तामाकोशी तेस्रो आयोजनासहित अन्य निजी क्षेत्रका जलविद्युत् आयोजनाको कामसमेत प्रभावित बनेको छ ।

प्रकाशित : श्रावण २७, २०८१ ०६:१०
×