कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इलामबाट अलैंची पुनर्रोपण अभियान

श्रावण २७, २०८१
इलामबाट अलैंची पुनर्रोपण अभियान

Highlights

  • रोग, प्रकोप बढेको र वर्षौं पुराना बोट भएका कारण अलैंची खेती मासिादै जान थालेका बेला सुरु भएको अभियानले किसान उत्साहित 

विराटनगर — ‘खोल्सीको सुन’ मानिने अलैंचीको संरक्षणसँगै उत्पादन बढाउने उद्देश्य राखेर इलामबाट पुनर्रोपण अभियान सुरु भएको छ । खासगरी भारतलगायत तेस्रो देशमा अलैंची निर्यात हुँदै आएको छ । विभिन्न खाले रोग, प्रकोप र वर्षौं पुराना बोट भएका कारण अलैंची खेती मासिँदै जाने सम्भावना देखेपछि नयाँ प्रविधिमा आधारित अलैंची पुनर्रोपण अभियान सुरु गरिएको हो । नेपाल अलैंची व्यवसायी महासंघले यसको अगुवाइ गरेको छ । 

प्रदेश तथा स्थानीय सरकार, व्यवसायी, किसानलगायत सरोकारवालाको सहभागितामा यो अभियान सुरु भएकाले यसबाट प्रतिफल प्राप्त हुने नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईको दाबी छ । रोङमा अलैंची नर्सरीकै लागि महासंघको आर्थिक सहयोगमा निर्माण गरिएको टनेलमा नर्सरीकै लागि चार सय बिरुवा रोपिएको छ । ‘यस नर्सरीबाट आगामी वर्ष चार हजार बिरुवा उत्पादन उत्पादन गरी पुनः किसानलाई वितरण गरिनेछ,’ भट्टराईले भने ।

महासंघ किसानसँग प्रत्यक्ष जोडिएको संगठन भएकाले यसले किसानलक्षित कार्यक्रमलाई जोड दिने महासंघका अध्यक्ष भट्टराईको भनाइ छ । इलामबाट थालिएको अभियानलाई अलैंची उत्पादन हुने सबै जिल्लामा विस्तार गरिने उनले जनाए । टिस्यु कल्चर प्रविधिबाट उत्पादित बिरुवाबाट आगामी ४०–५० वर्षसम्म आम्दानी लिन सकिने अलैंची विकास केन्द्रका प्रमुख राजन परियारको दाबी छ । ‘तर किसानले रोपण प्रविधि, सिँचाइ र सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ,’ उनले भने ।

विभिन्न कारणले मासिन लागेको अलैंचीले पुनःरोपण अभियानमार्फत पुनर्जीवन प्राप्त गर्ने मन्त्रालयका सचिव लेखराज दाहालले जनाए । कोशीको आयको प्रमुख स्रोतका रूपमा रहेको अलैंची खेतीमा देशभर एक लाखभन्दा बढी किसान तथा व्यवसायी आबद्ध छन् । अलैंची मासिएर निराश बन्दै गएका किसानका लागि यो अभियानले खुसी र उत्साहको दुवै जगाएको रोङ गाउँपालिकाका किसान सोमराज लेप्चाले जनाए ।

देशभर कुल १९ हजार हेक्टर क्षेत्रमा अलैंची खेती हुन्छ । यसबाट प्राप्त उत्पादन निर्यातबाट वार्षिक करिब ७ देखि ८ अर्ब रुपैयाँ भित्रिने गरेको छ । नेपाली अलैंचीलाई भारत तथा तेस्रो देशमा गुणस्तरीय कृषि उपजका रूपमा लिइन्छ । अघिल्लो वर्षदेखि मूल्य पनि वृद्धि भएकाले अलैंची किसान थप उत्साहित बन्दै गएको व्यवसायीहरूको भनाइ छ ।

प्रकाशित : श्रावण २७, २०८१ ०६:११
×