कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

एमच्याममा विपद् व्यवस्थापन कार्यशाला 

भाद्र १०, २०८१
एमच्याममा विपद् व्यवस्थापन कार्यशाला 

काठमाडौँ — अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) ले विपद् व्यवस्थापनसम्बन्धी एकदिने कार्यशाला सम्पन्न गरेको छ । कार्यशालमा अमेरिकी नियोग युएसएआईडी अन्तर्गतको डीएआईका नेपाल प्रतिनिधि निलु बस्न्यातले नेपालमा विपद्का कारण ठूलो धनजनको क्षति भइरहेकाले रोकथाम र न्यूनीकरणका लागि थप स्रोतसाधन परिचालन गर्नुपर्नेमा जोड दिइन् । 

गोपाल तिवारीले युएसएआईडीले नेपालमा सञ्चालन गर्दै आएको तयार नेपाल परियोजनाले उद्यमशीलताका लागि सिर्जना गरेका अवसरबारे चर्चा गरे । परियोजनामार्फत् ३५ भन्दाबढी व्यवसाय विस्तार भइसकेका छन् । त्यसका लागि युएसएआईडीले आवश्यक अन्य सहयोग समेत गरिरहेको छ ।

हरित व्यवसायलाई प्रवर्द्धन गर्दै आएको परियोजनाले करिब ७ सय जनालाई व्यवसाय निरन्तरता व्यवस्थापन तालिम समेत दिएको तिवारीले बताए । विपद् व्यवस्थापन र न्यूनीकरणको आवश्यकताबारे प्रस्तुतीकरण दिएका सुमन शाक्यले परियोजनापश्चात् स्थानीयमा आएको परिवर्तनबारे जानकारी दिए ।

डीएआई सन् २०१६ देखि नेपालमा सञ्चालनमा रही विभिन्न परियाजनामार्फत दिगो विकासका लक्ष्यहरूमा टेवा पुर्‍याउँदै आएको छ । संस्थाले नेपालसहित विभिन्न १ सय ५० भन्दाबढी मुलुकमा विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

एमच्याम नेपालमा अमेरिकी लगानीका ५० भन्दाबढी व्यवसायिक संस्था आबद्ध छन् । स्थापनाको दुई वर्षमै एमच्याम नेपालले यूएस च्याम्बर्स अफ कमर्सको आवद्धता पाइसकेको छ । पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा केन्द्रित संस्थाले नेपालका लागि वैदेशिक लगानी भित्राइ दुई देशबीचको व्यापारमा टेवा पुर्‍याउँदै आएको छ ।

एमच्यामले आफ्ना सदस्य संस्थाहरूसँग गर्ने नियमित कार्यक्रम 'मेम्बर लर्निङ सिरिज' अन्तर्गत उक्त कार्यक्रमको १२ औं संस्करण डीएआईसँगको सहकार्यमा सम्पन्न गरेको हो । कार्यक्रमको बोल्दै एमच्याम नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले मेम्बर लर्निङ सिरिज र एक्सपर्ट लर्निङ सिरिज अमेरिकाको काम गर्ने संस्कृतिलाई नेपालमा रूपान्तरण गर्ने उत्तम तरिका भएको बताए ।

प्रकाशित : भाद्र १०, २०८१ १९:४३
x
×