कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्सको दोस्रो संस्करणको घोषणा

भाद्र १६, २०८१
मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्सको दोस्रो संस्करणको घोषणा

Highlights

  • सन् २०२५ को फेब्रुअरीबाट अडिसन हुने

काठमाडौँ —  दुई नेपाली अन्तर्राष्टिय रियालिटी शोहरु 'मेरो भ्वाइस यूनिभर्स' र 'मेरो डान्स यूनिभर्स'को सिजन-२ अमेरिकाको ओहायोबाट औपचारिक घोषणा गरिएको छ ।दोस्रो संस्करणको अडिसनको शुरुवात सन् २०२५ को फेब्रुअरीको मध्यमा अमेरिकाबाट गरिने आयोजकले जनाएका छन् । 

एक्रोन सहरको कोप्ले खेल मैदानमा आयोजक संस्था इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले दोस्रो संस्करणको घोषणा गरे । जसअनुसार, विश्वका विभिन्न मुलुकहरुमा स्थलगत अडिसनहरु तय गरिएका छन् ।

नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै परिचय बनाउन सक्छु भन्ने अभिलाषा राख्ने नेपालीभाषी समुदायका लागि दुई रियालिटी शोहरु आयोजना गरिएको फाउण्डेसनका अध्यक्ष अधिकारीले जानकारी दिए ।

'छरिएर रहेका नेपाली मूलका नेपालीहरु बीचको साझा सांस्कृतिक चौतारी बन्न सकोस्, नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्न सकियोस् र नेपाली जातिका प्रतिभाहरुलाई जहाँ बसे पनि आफ्नो संस्कृतिमा गर्व गर्न सक्ने अवसर दिन सकियोस् भनेर रियालिटी शोहरु आयोजना गरिएको हो' अध्यक्ष अधिकारीले भने ।

फाउण्डेसनका अनुसार, दोस्रो संस्करणका लागि युरोपमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्डमा, मध्यपूर्वका लागि दुबईमा, अष्टेलियाका लागि सिड्नीमा, भारतको लागि सिक्किममा र नेपालका दमक, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसनहरु आयोजना गरिनेछ ।सहभागी हुन चाहने प्रतिष्पर्धीहरुले फाउण्डेसनको वेभसाइटबाट आवेदन दिन सक्ने छन् । विश्वभरिबाट स्थलगत अडिसनमा छनौट भएका कलाकारहरुलाई थप प्रतिष्पर्धाका लागि काठमाडौंमा हुनेछ ।

भ्वाइस र डान्सका लागि १२०/१२० गरी गरी दुई सय चालीस प्रतिष्पर्धीहरुले काठमाडौंमा प्रतिस्पर्धा गर्नेछन् । दुवै शोका विजेताहरुलाई १ करोड नेपाली रुपैया पुरस्कार स्वरुप प्रदान गरिने छ । दोस्रो हुनेलाई २५ लाख रुपैंया र तेस्रो हुनेलाई १० लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

दोस्रो संस्करणको घोषणा कार्यक्रममा नेपाली चलचित्रका नायक दीलिप रायमाझी, गायिकाहरु अन्जु पन्त, मिलन नेवार, सुजाता वर्मा, गायकहरु यम बराल, केशब पौडेल, खेम सेन्चुरी, मन आले, प्रबीण बर्देवा, बाल गायिका अनुया तामांग, नृत्य निर्देशक शंकर बिसी र पार्वती राई, नृत्य प्रशिक्षक रुपेश उप्रेती, विकास घले एवं इन्टाको डान्स स्कूल अमेरिकाका किशोर किशोरी कलाकारहरुले आआफ्नो प्रस्तुति दिएका थिए ।

यी दुई रियालिटी शोहरुको पहिलो सिजन सन् २०२३ मा नेपालमा सम्पन्न भएको थियो । जसमा गायनतर्फ भारतको सिक्किमका प्रीतम राई र नृत्यतर्फ थाइल्याण्डकी खुसी कार्कीले प्रथम पुरस्कार प्राप्त गरेका थिए ।

प्रकाशित : भाद्र १६, २०८१ १८:४१
x
×