कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

चुनावी बहस : ट्रम्पमाथि ह्यारिस हाबी

भाद्र २६, २०८१
चुनावी बहस : ट्रम्पमाथि ह्यारिस हाबी

Highlights

  • ६ सय मतदाताबीच गरिएकाे सर्वेक्षणका सहभागीमध्ये ६३ प्रतिशतले ह्यारिस र ३७ प्रतिशतले ट्रम्पले बहसमा राम्राे गरेकाे बताएका बीबीसीले जनाएको छ ।

काठमाडौँ — अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनअघि दुई उम्मेदवारहरू पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस  पहिलोपटक बहसमा भिडेका छन् । मुख्य–मुख्य चुनावी मुद्दामा दुई उम्मेदवारबीच चर्को बहस भएको छ । 

बहसको सुरूमा दुवै उम्मेदवार निकै संयमित रूपमा प्रस्तुत भएका थिए । तर विस्तारै उनीहरू नीतिगत विषयमा प्रवेश गरे र तत्कालै उनीहरू राजनीतिक विगतसम्म पुगे । त्यसपछि केही समय भने व्यक्तिगत आरोप–प्रत्यारोप नै भयो । त्यस क्रममा पूर्वराष्ट्रपति ट्रम्प बढी आक्रोशित देखिए थिए ।

ह्यारिसले बारम्बार पूर्वराष्ट्रपति ट्रम्पलाई व्यक्तिगत विषयमा आक्रमण गरिन् । जसका कारण ट्रम्पले पनि उनीविरुद्ध विभिन्न आरोप लगाए र बहस केही तात्यो । ह्यारिसले ट्रम्पलाई र्‍यालीमा भीडको आकार, क्यापिटल हिल दंगाको समयमा उनको आचरण र उनको प्रशासनमा सेवा गर्ने अधिकारीहरूमाथि औंला उठाइन् ।

डेढ घण्टासम्म चलेको बहसको पहिलो आधा घण्टामा दुवै उम्मेदवारले बारम्बार एक अर्कालाई ‘झुटो बोल्ने व्यक्ति’ भनेका थिए । प्रस्तोताहरूले ट्रम्पका अभिव्यक्तिका तथ्य जाँच गरिरहेका बेला उनले आफ्नो बचाउमा निकै समय खर्चन बाध्य भए । डेमोक्रेटिक उम्मेदवार ह्यारिसले आफ्ना रिपब्लिकन प्रतिद्वन्द्वी ट्रम्पलाई विगतको आचरण र टिप्पणीहरूप्रति प्रतिरक्षामा उत्रने अवस्थामा पुर्‍याइन् ।

राष्ट्रपतीय उम्मेदवारहरूले अमेरिकी अर्थतन्त्रको विषयबाट बहस सुरु गरेका थिए । त्यसक्रममा पूर्वराष्ट्रपति ट्रम्पले अन्य देशमाथि कर लगाउने कुरामा जोड दिए भने उपराष्ट्रपति ह्यारिसले लघु उद्यमहरूलाई प्रोत्साहन दिने विषय उठाइन् । ह्यारिसले गर्भपतनसम्बन्धी प्रतिबन्धहरूले महिलाको महत्त्वपूर्ण स्याहारको विषयलाई नकार्ने बताइन् भने ट्रम्पले गर्भपतन अधिकारसम्बन्धी मुद्दालाई पुनः राज्यहरूसम्म ल्याउन सहयोग गरेको दाबी गरे ।

बहसका क्रममा ट्रम्पले बारम्बार आप्रवासन संकटको कुरा उठाए । ह्यारिसले पूर्वराष्ट्रपतिमाथि अदालतमा चलिरहेका मुद्दाबारे स्मरण गराइन् । ह्यारिसले ट्रम्पका र्‍यालीबाट मानिसहरू निराश भएर छिट्टै बाहिरिने गरेको भन्दै आलोचना गरिन् । बहसको सुरूमा ह्यारिसले अध्यागमनसम्बन्धी प्रश्नको क्रममा भनिन्, ‘अमेरिकीहरूले ट्रम्पको र्‍यालीमा जानुपर्छ, किनभने उनीहरू भ्रममा पारिएका छन् । मानिसहरूले चाँडै त्यस्ता र्‍यालीमा जान छाड्न थाल्छन् ।’

ट्रम्पले भने ह्यारिसको डेमोक्रेटिक पार्टीले अमेरिकालाई भेनेजुएला बनाउन खोजेको आरोप लगाए । ट्रम्पले बाइडेन प्रशासनको अफगानिस्तानबाट बाहिरिने निर्णयलाई लिएर ह्यारिसमाथि आक्रममण गरे । त्यस्तै, ट्रम्पले ओहायो राज्यको स्प्रिङफिल्ड सहरमा हाइटीयन आप्रवासीहरूले आफ्ना छिमेकीका घरपालुवा जनावरहरू चोरेर खाने गरेको प्रसंग उठाए ।

ट्रम्पले ह्यारिस अमेरिकाको इतिहासकै सबैभन्दा खराब उपराष्ट्रपति भएको दाबी गरे । युक्रेनमा रुसी अतिक्रमण हुनुअघि ह्यारिस वार्ताका लागि गएपनि युद्ध रोक्न नसकेको ट्रम्पको आरोप छ । युक्रेनले रुसमाथि जित हासिल गरेको हेर्न चाहनुहुन्छ भनेर सोधिएको प्रश्नमा ट्रम्पले युद्धको अन्त्य चाहेको बताए ।

इजरायल–हमास विषयमा ट्रम्पले आफू राष्ट्रपति भएको भए युद्ध नै नहुने दाबी गरे । इजरायलले ह्यारिसलाई घृणा गर्ने गरेको ट्रम्पको आरोप छ । विदेश नीतिका विषयमा बोल्दै ह्यारिसले विश्व नेताहरूले ट्रम्पलाई हाँस्य पात्र बनाएको दाबी गरिन् । ट्रम्पले तानाशाहीहरूलाई मात्र प्रभावित पार्न खोजेको उनको आरोप छ । ह्यारिसले इजरायलको प्रतिरक्षाको अधिकारलाई आफूले जहिल्यै समर्थन गर्ने तर प्यालेस्टिनीसँग सुरक्षित भएर आत्मसम्मानसाथ बाँच्ने हक रहेको बताइन् ।

अमेरिकी संसद् भवनमा भएको जनवरी ६ को दंगाबारेको प्रश्नमा ट्रम्पले आत्मालोचना गरेका थिए । त्यसका विषयमा ह्यारिसले दिएको जवाफ भने निकै कूटनीतिक र गम्भीर रह्यो । उनले त्यसका दिनको अव्यवस्था सम्झँदै अमेरिकीले पाना पल्टाउनुपर्ने बताइन् ।

ह्यारिसले बारम्बार टेलिभिजन हेरिरहेका करोडौं मानिसलाई प्रत्यक्ष सम्बोधन गर्दै अमेरिकीबारे आफूले विशेष ध्यान दिने तर्क दिएकी थिइन् । त्यसक्रममा उनले ट्रम्पले धनीहरूलाई मात्र हेर्ने गरेको बताइन् । बहसको अन्त्यमा ह्यारिसले आफू भविष्यप्रति केन्द्रीत रहेको बताइन् । त्यसको जवाफमा ट्रम्पले ह्यारिसँग केही योजना भएका भए उपराष्ट्रपतिकै रूपमा कार्यान्वयन गर्नसक्ने बताए ।

यदि प्रस्तुत मुद्दा र त्यसप्रति उम्मेदवारहरूको प्रस्तुति र प्रतिरक्षाका आधारमा नै हारजित हुने भए ट्रम्पसँगको बहसमा उपराष्ट्रपति ह्यारिस हाबी देखिइन् । बहस हेरिरहेका मतदाताहरूबीच सीएनएनले गरेको सर्वेक्षणले पनि ह्यारिसले राम्रो प्रदर्शन गरेको बताएका छन् । ६ सय मतदाताबीच गरिएकाे सर्वेक्षणका सहभागीमध्ये ६३ प्रतिशतले ह्यारिस र ३७ प्रतिशतले ट्रम्पले बहसमा राम्राे गरेकाे बताएका बीबीसीले जनाएको छ ।

तर यो अवस्था क्षणिक हुनसक्छ । जब बहसमा अर्थतन्त्र र गर्भपतनको अधिकारसम्बन्धी मुद्दाहरू समावेश गरिएका थिए, त्यतिबेला नै ट्रम्प रक्षात्मक हुने आकलन गरिएको थियो ।

सार्वजनिक सर्वेक्षणहरूले अधिकांश अमेरिकीहरू बाइडेन प्रशासनले मुद्रास्फिती र अर्थतन्त्रका विषयमा लिएको नीतिप्रति असन्तुष्ट छन् । र, ह्यारिस बाइडेन प्रशासनको एक प्रमुख सदस्य हुन् । तर ह्यारिसले ट्रम्पको प्रस्तावित करसम्बन्धी नीतिको प्रसंग उठाइन् ।

तर ट्रम्पले आफ्नो कर योजनाको बचाउ गर्दै बाइडेन प्रशासनले आफ्नो पहिलो कार्यकालमा धेरै करहरू लगाएको दाबी गरे । तर उनी मुद्रास्फीति र उपभोक्ता मूल्यहरूका विषय उठान गर्दै उपराष्ट्रपतिलाई प्रहार गर्नबाट भने चुके ।

गर्भपतनका विषयमा पनि ट्रम्प कमजोर देखिए । उनले अधिकांश अमेरिकीहरू गर्भपतनको अधिकार प्रदान गर्ने ‘रोय भर्सेस वेड’ लाई उल्टाउने सर्वोच्च अदालतको फैसलाको पक्षमा रहेको दाबी गरेका थिए । तर सर्वेक्षणहरूको नतिजा भने त्यसविपरीतको छ ।

यसबीचमा, ह्यारिसले गर्भावस्थासम्बन्धी गम्भीर जटिलताको सामना गरेका र गर्भपतनमाथि प्रतिबन्ध लगाइएका राज्यहरूमा यसबारे सेवा लिन असमर्थ परिवारहरूप्रति भावपूर्ण र व्यक्तिगत अपील गर्ने मौका पाइन् । ‘ट्रम्पले गर्भपतन प्रतिबन्ध गर्ने’ जनाउँदै उनले ‘यो अमेरिकाका महिलाहरूका लागि अपमानजनक रहेको बताइन् । निकै सावधानीपूर्वक दिइएको सन्देशका कारण ह्यारिसले ट्रम्पविरुद्ध निकै गतिलो फाइदा लिइन् ।

(एजेन्सीहरूकाे सहयोगमा)

प्रकाशित : भाद्र २६, २०८१ १७:१२
×