कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

अमेरिकी राष्ट्रपति चुनाव : उम्मेदवारबीचको बहसले बदलिएको नतिजा

भाद्र २६, २०८१
अमेरिकी राष्ट्रपति चुनाव : उम्मेदवारबीचको बहसले बदलिएको नतिजा

Highlights

  • राष्ट्रपतिका प्रत्याशीबीचको बहस टेलिभिजनमार्फत अत्याधिक मतदाताले हेर्ने र कतिपय त्यसकै आधारमा निर्णयमा पुग्ने भएकाले बहसलाई निकै महत्त्वका साथ हेरिन्छ, खासगरी ‘स्विङ स्टेट’ राज्यका मतदातालाई प्रभावित पार्न यस्ता बहस गरिन्छन्

काठमाडौँ — अमेरिकामा नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावका प्रमुख प्रतिस्पर्धी हुन्– डोनाल्ड ट्रम्प र कमला ह्यारिस । चुनावको मिति नजिकिएसँगै रिपब्लिकन दलका उम्मेदवार तथा पूर्वराष्ट्रपति ट्रम्प र डेमोक्रेटिक दलकी उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसबीच पहिलो चुनावी बहस नेपाली समयअनुसार बुधबार बिहान पौने ७ बजेदेखि सुरु भएको छ । 

दुई उम्मेदवारबीच पेन्सिलभानिया राज्यको फिलाडेल्फियास्थित ‘नेसनल कन्स्टिच्युसन सेन्टर’ मा भएको करिब ९० मिनेट लामो बहस हुनेछ । एबीसी टेलिभिजनबाट प्रसारण हुने बहस एबीसी न्युज लाइभ, डिज्नी प्लस र हुलुबाट ‘लाइभस्ट्रिम’ गर्ने छ । एबीसी टेलिभिजनका समाचारमूलक कार्यक्रमहरू ‘वर्ल्ड न्युज टुनाइट’ का डेभिड मुइर र ‘प्राइम’ का प्रस्तोता लिन्से डेभिसले बहस सञ्चालन गर्ने छन् ।

अमेरिकी समयअनुसार मंगलबार साँझको बहस दोस्रो चरणको भए पनि ट्रम्प र ह्यारिस पहिलोपटक आमनेसामने हुने छन् । पहिलो चरणको बहस भने राष्ट्रपति जो बाइडेन र ट्रम्पबीच भएको थियो । तर बाइडेन गत जुलाई २१ मा चुनावी दौडबाट बाहिरिएपछि ह्यारिस डेमोक्रेटिक दलको उम्मेदवार बनेकी हुन् ।

दुई उम्मेदवारबीचको बहस खासगरी देशको अर्थतन्त्र, आप्रवासन नीति, सीमा सुरक्षा, गर्भपतनसम्बन्धी अधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीति, बन्दुकसम्बन्धी कानुन, स्वास्थ्य सेवा, जलवायु परिवर्तनलगायत मुद्दामा केन्द्रित रहनेछ । बहसमा सञ्चालकले सोधेका प्रश्नको जवाफ दिन प्रत्येक उम्मेदवारलाई दुई मिनेटको समय दिइनेछ भने प्रतिस्पर्धीको भनाइ खण्डन गर्नका लागि पनि उत्ति नै समय पाइनेछ । बहसका क्रममा बोलिरहेका बाहेक अर्को उम्मेदवारको माइक्रोफोन बन्द गरिन्छ । ह्यारिसले बहस अवधिभर माइक्रोफोन खुला राख्ने प्रस्ताव राखेकी भए पनि पछि उनी बन्द राख्न सहमत भएकी थिइन् । सन् २०२० मा बाइडेन र ट्रम्पबीचको पहिलो बहसका क्रममा एकअर्काले बोलिरहेका बेला हस्तक्षेप गरिएका कारण चार वर्षअघि नयाँ नियम ल्याइएको थियो । राष्ट्रपतिका प्रत्याशीबीचको बहस टेलिभिजनमार्फत निकै ठूलो संख्याका मतदाताले हेर्ने र कपितयले त्यसका आधारमा मत दिने निर्णयमा पुग्ने भएकाले पनि बहसलाई निकै महत्त्वका साथ हेरिन्छ । खासगरी ‘ब्याटलग्राउन्ड’ राज्यका ‘स्विङ भोटर’ लाई प्रभावित पार्नका लागि यस्ता बहस प्रभावकारी हुन्छन् ।

अमेरिकी राष्ट्रपतीय चुनावका प्रतिस्पर्धीबीचको बहस पहिलोपटक १९६० मा टेलिभिजनमा प्रसारण गरिएको थियो । खासमा अमेरिकी राष्ट्रपतीय चुनावका उम्मेदवारहरूबीच त्यसअघिदेखि नै बहसहरू आयोजना गर्ने गरिन्थे । तर त्यस्ता बहस टेलिभिजनमार्फत प्रसारण भएपछि मात्रै ठूलो संख्याका मतदातामाझ पुग्ने र उम्मेदवारलाई आफ्ना चुनावी एजेन्डाबारे प्रस्ट पार्ने अवसर मिलेको हो । त्यसयता टेलिभिजनमा प्रसारण हुने प्रमुख उम्मेदवारहरूबीचको बहस राष्ट्रपतीय चुनावको अभिन्न अंगका रूपमा रहेको छ । तर ६४ वर्षयताका त्यस्ता बहसमध्ये केही भने हालसम्म पनि चर्चामा रहने गरेका छन् ।

रिचार्ड निक्सन र जोन एफ केनेडी (१९६०)

डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका जोन एफ केनेडीले १९६० सेप्टेम्बर २६ मा रिपब्लिकन दलका रिचार्ड निक्सनसँग चुनावी बहस गरेका थिए । त्यो नै टेलिभिजनमा प्रसारित पहिलो अमेरिकी राष्ट्रपतीय चुनावी बहस हो । केनेडी र निक्सनबीचको बहसले ‘राजनीतिमा उपस्थितिले प्रभाव पार्छ’ भन्ने भाष्य नै स्थापित गरिदिएको थियो । मासाचुसेट्सका युवा सिनेटर केनेडीले बहसलाई उपराष्ट्रपति निक्सन आफ्ना अगाडि निकै फितलो सावित गर्न उपयोग गरेका थिए । बहसपछि ‘निक्सनले चुनाव हार्ने निश्चित’ भन्ने भनाइ नै चर्चित भएको थियो । त्यसको कारण थियो– बहसको क्रममा निक्सन बूढो र थकित देखिन्थे । जबकि मेकअप गरेका केनेडी जवान र आकर्षित देखिन्थे ।

तसर्थ, टिभीमा बहस हेर्नेहरूले केनेडीले निक्सनलाई भारी मतले पराजित गर्ने विश्वास लिएका थिए । तर उनीहरूबीचको बहस रेडियोमा सुन्नेहरूले भने केनेडीभन्दा निक्सन नै उत्तम उम्मेदवार भएको सोच बनाएका थिए । बहस प्रसारण कम्पनी सीबीएसका अध्यक्ष फ्रान्क स्ट्यान्टनले भनेका थिए, ‘केनेडी सुन्दर ढंगले सजिएका थिए । तर निक्सन मृतप्रायः देखिन्थे ।’

केनेडी त्यतिबेलासम्म अमेरिकी राजनीतिमा खासै परिचित थिएनन्, तर उपराष्ट्रपति रहेका निक्सन राष्ट्रिय राजनीतिमा बढी अनुभवी र परिचित थिए । ती बहसमा केनेडीको प्रदर्शन निकै उत्कृष्ट देखिएको थियो । त्यसपछिका तीनवटा बहसले नै चुनावी नतिजामा ठूलो प्रभाव पारेको मूल्यांकन गरिएको थियो ।

जिम्मी कार्टर र जेरार्ड फोर्ड (१९७६)

निक्सन र केनेडीबीचको बहसपछि केही समय अमेरिकी राजनीतिमा चुनावी बहसहरू भएनन् । १९७६ मा राष्ट्रपति जेरार्ड फोर्डले जर्जियाका तत्कालीन गभर्नर तथा डेमोक्रेटिक दलका उम्मेदवार जिम्मी कार्टरसँग बहसका लागि प्रस्ताव गरे । ‘वाटरगेट काण्ड’ का कारण रिचार्ड निक्सनले १९७४ मा राष्ट्रपति पदबाट राजीनामा दिएसँगै फोर्ड राष्ट्रपति बनेका थिए । जनतासामु भने उनी खासै लोकप्रिय थिएनन् । अवस्था कार्टरको पनि उस्तै थियो ।

बहसका क्रममा फोर्डले ‘पूर्वी युरोपमा सोभियत संघको कुनै प्रभुत्व नभएको र त्यो कहिल्यै पनि फोर्ड प्रशासनको अधीनमा नहुने’ बताएका थिए । त्यसलगत्तै न्युयोर्क टाइम्सका मध्यस्तकर्ता म्याक्स फ्रान्केलले त्यसबारे प्रश्न उठाएका थिए । राष्ट्रपति फोर्डको त्यही अभिव्यक्तिका कारण चुनावी नतिजा बदलिएको बताइन्छ । चुनावमा डेमोक्रेटिक दलका कार्टर झिनो मतान्तरले विजयी भएका थिए ।

बहसमा फोर्डको प्रस्तुतिपछि कतिपय सञ्चारमाध्यमले फोर्ड ‘कामका लागि तयार नभएको’ दाबी गर्दै समाचारहरू प्रकाशन गरेका थिए । फोर्डको अभिव्यक्तिका कारण युरोपमा कम्युनिस्ट शासनका कारण भागेका मतदाताहरू फोर्डको विपक्षमा उभिए । तर विश्लेषकहरूले भने फोर्डलाई उक्त अभिव्यक्तिकै कारण घाटा पुगेको चुनावी सर्वेक्षणहरूले पुष्टि नगरेको बताउँछन् । चुनावी नतिजा भने ओहायो राज्यको नतिजाले निर्धारण गरेको थियो । उक्त राज्यमा रहेका पूर्वयुरोपका क्याथोलिक आप्रवासीहरूको मत निर्णायक बनेको बताइन्छ । ओहायोमा कार्टरले फोर्डलाई ११ हजार मतले पराजित गरेका थिए । जुन त्यतिबेला खसको ४० लाख मतको ०.३ प्रतिशतभन्दा पनि कम हो । लोकप्रिय मतमा भने कार्टरले फोर्डलाई सहजै हराएका थिए ।

जिम्मी कार्टर र रोनाल्ड रेगन (१९८०)

अमेरिकाको १९८० को राष्ट्रपतीय चुनावी अभियानको अधिकांश समय जिम्मी कार्टर रोनाल्ड रेगनसँग बहस गर्न इच्छुक थिएनन् । फिल्मी दुनियाँमार्फत आममानिसमा लोकप्रियता हासिल गरेका क्यालिफोर्नियाका पूर्वगभर्नर रेगनलाई कार्टर कम आँकेका थिए । तर चुनावको करिब १० दिनअघि कार्टरले आफ्नो सोच परिवर्तन गरे र बहसका लागि तयार भए । त्यतिबेला कार्टरले आफू चुनावी प्रतिस्पर्धामा पछाडि परेको महसुस गर्दै अनिर्णीत मतदाताहरू रिझाउने उद्देश्यले बसका लागि तयार भएका थिए ।

बहसका क्रमा जब कार्टरले तथ्य र नीतिको साथ आफ्नो बयान गरे, रेगनले त्यसको प्रतिवाद गर्दै भने, ‘के तपाईं चार वर्ष पहिलेको भन्दा राम्रो हुनुहुन्छ ?’ र ‘के तपार्इं फेरि त्यहाँ (राष्ट्रपति कार्यालय जानुहुन्छ र ?’ त्यसको एक सातापछि नै रेगनले चुनाव जित्ने आंकलन गरिएको थियो । विश्लेषकहरूका अनुसार रेगनले बहसको आधारभूत कुरा बुझेका थिए र रेगन त्यो बहसमा धेरै विश्वस्त र मिलनसार देखिएका थिए । तर बन्धनबाट बाहिर निस्केको जस्तो देखिएका कार्टरले जनतालाई आश्वस्त पार्न सकेनन् ।

जर्ज एचडब्लू बुस, बिल क्लिन्टन र रोस पेरोट (१९९२)

अन्य चुनावभन्दा भिन्न १९९२ मा भने राष्ट्रपतिका तीन उम्मेदवारबीच बहस भएको थियो । त्यति बेलाको बहस बिल क्लिन्टनको अभियानले सुझाव दिएअनुसार आरामदायी ‘टाउन हल’ ढाँचामा सञ्चालन गरिएको थियो । त्यसले अर्कान्सासका तत्कालीन गभर्नर क्लिन्टनलाई फाइदा पुगेको बताइएको थियो । बुसका प्रतिद्वन्द्वी क्लिन्टनले आफ्नो छविलाई मिलनसार, उपयुक्त र बढी सान्दर्भिक उम्मेदवारको रूपमा प्रस्तुत गरेका थिए । बहसमा मतदाताहरूले उनलाई विपक्षीहरूभन्दा बढी मन पराएका थिए ।

बहसका क्रममा रिचमन्डका एक मतदाताले राष्ट्रिय ऋणको विषयमा प्रश्न सोधेका थिए । तर त्यतिबेला राष्ट्रपति बुसले आफ्नो घडीमा समय हेरिरहेको अवस्थामा क्यामेरामा कैद भए । त्यसलाई राष्ट्रपति बुस निष्क्रिय रहेका वा उनलाई अल्छी लाग्दो रूपमा अर्थ्याइएको थियो । त्यस्ता बहसमा हरेक हाउभाउ, इसारा वा शब्द चयन निकै महत्त्वपूर्ण ठानिने भएकाले त्यसले बुसलाई असर पुगेको बताइन्छ । बहसमा ‘रिफर्म पार्टी’ का रोस पेरोट पनि सहभागी भएका थिए । अमेरिकी राष्ट्रपतीय चुनावको इतिहासमा उनी सबैभन्दा सफल तेस्रो उम्मेदवार हुन् । १९९२ को चुनावमा उनले १८.९ प्रतिशत मत ल्याएका थिए । । मतदानपछिका सर्वेक्षणमा उनले क्लिन्टन र बुस दुवैको समान मत खोसेका थिए । तर चार वर्षपछिको चुनावमा भने उनले ८.४ प्रतिशत मत मात्र पाएका थिए ।

जर्ज डब्लु बुस र अल गोर (२०००)

सर्वोच्च अदालतले निर्णय गरेको सन् २००० को निकै प्रतिस्पर्धात्मक राष्ट्रपतीय चुनावका बहसहरू निकै महत्त्वपूर्ण थिए । चुनावी बहसअघि उपराष्ट्रपति अल गोर बलियो अवस्थामा थिए भने टेक्सासका गभर्नर बुस कमजोर । तर जब बहस भयो, बलियो अवस्थाका गोरको अवस्था फेरियो । बहसका क्रममा उनी निकै आक्रामक देखिए र मानिसहरूले उनको शैली वा व्यवहारलाई त्यति रुचाएनन् ।

पहिलो चरणको बहसमा बुसले जवाफ दिइरहेका बेला गोरले ठूलो स्वरमा सुस्केरा हालेको माइक्रोफोनले समात्यो । त्यस्तै, उनी आँखा घुमाइरहेका, निराशमा टाउको हल्लाइरहेका देखिए । तेस्रो चरणको बहसमा बुस बोलिरहेका बेला तर्साउने वा झुक्काउने उद्देश्यले गोर उनको नजिकै गए । तर बुस निर्धक्क देखिए । उनी मुस्कुराए र दर्शकहरूलाई हाँस्न प्रेरित गर्दै अगाडि बढे । पूर्वराष्ट्रपति जर्ज एचडब्ल्यू बुसका जेठा छोरा जर्ज डब्लू बुस लोकप्रिय मतमा उपराष्ट्रपति गोरसँग हारे । तर राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २७२ इलेक्टोरल मतभन्दा एक मतमात्र बढी पाए ।

डोनाल्ड ट्रम्प र जो बाइडेन (२०२४)

अमेरिकी राष्ट्रपतीय चुनावका क्रममा गत जुन २७ मा भएको बहसलाई भने फरक तरिकाले हेरिन्छ । त्यसको कारण हो, बहसकै कारण अमेरिकी राष्ट्रपति जो बाइडेनको राजनीतिक करियरको अन्त्य भयो । त्यो पनि दुःखद रूपमा ।

जुन २७ को बहसलाई सबैभन्दा ‘लज्जास्पद’ बहसका रूपमा पनि व्याख्या गरिन्छ । अमेरिकाको अट्लान्टास्थित सीएनएन स्टुडियोजमा भएको बहस ९० मिनेट चलेको थियो । त्यसमा बाइडेनले ३५ मिनेट ७ सेकेन्ड बोलेका थिए ।

जेक टापर र डाना बास सहजकर्ता रहेको बहसपछि अमेरिकी राष्ट्रपति जो बाइडेन एकाएक चर्चामा आए । त्यसको कारण हो, उनको प्रस्तुति । अमेरिकी सञ्चारमाध्यम र डेमोक्रेटिक दलबाट उनी निकै आलोचित भए भने अधिकांश अमेरिकी मतदाताहरूले बाइडेनको उमेर र काम गर्न सक्ने क्षमतामाथि प्रश्न उठाए । प्रस्तुति निकै फितलो भएको भन्दै डेमोक्रेटहरूले नै बाइडेनको चर्को आलोचना गरेका थिए ।

बहसपछि नेटफ्लिक्सका सह–संस्थापक रिड हास्टिङ्गसले द इकोनोमिस्टमा ‘ह्वाइ बाइडेन मस्ट विथड्र’ शीर्षकको लेखमा लेखेका थिए, ‘शब्दहरू र तथ्यहरू सम्झन संघर्ष गरिरहेको एक बूढो मानिसलाई हेर्दा पीडा भयो ।’ बहसमा ८१ वर्षीय बाइडेनको आवाज कमजोर र जवाफहरू नबुझिने थिए । त्यसका साथै उनले दिएका जवाफ विषयवस्तुमा केन्द्रित थिएनन् ।

त्यस्तै, न्युयोर्क टाइम्सका स्तम्भकार निकोलस क्रिस्टोफले ‘प्रेसिडेन्ट बाइडेन, आई ह्याभ सिन इनफ’ शीर्षकमा लेख लेख्दै ‘बाइडेन राष्ट्रपतिको दौडबाट अलग हुनेमा आशावादी रहेको’ उल्लेख गरेका थिए । लेखमा उनले डोनाल्ड ट्रम्पलाई पुनः निर्वाचित हुनबाट रोक्न डेमोक्रेटिक दलले नयाँ उम्मेदवार अघि सार्नुपर्ने र त्यसका लागि बाइडेनले बाटो खोलिदिनुपर्ने जनाएका थिए ।

त्यसअघि, राष्ट्रपतिको कार्यभार सम्हाल्न ८६ वर्षको उमेरसम्म बाइडेनको मानसिक र शारीरिक क्षमताबारे प्रश्न उठेका थिए । बहसपछिका केही दिन उम्मेदवारी त्याग्न जो बाइडेनले आफ्नै पार्टीभित्रबाट पनि चर्को दबाब सामना गरे र जुलाई २१ मा चुनावी दौडबाट अलग भएको घोषणा गरे । बाइडेनलाई राष्ट्रपतिको दौडबाट अलग बनाउने बहसको नतिजा भने आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा देखिनेछ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : भाद्र २६, २०८१ ०६:५३
×