कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

इजरायली आक्रमणमा २७ प्यालेस्टिनी मारिए 

भाद्र २६, २०८१
इजरायली आक्रमणमा २७ प्यालेस्टिनी मारिए 

जेरुसलेम — इजरायली सेनाले गाजाका विभिन्न स्थानमा बुधबार गरेको आक्रमणमा कम्तीमा २७ जना प्यालेस्टिनीको ज्यान गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार खान युनिस क्षेत्रमा गरिएको आक्रमणमा १३ जना प्यालेस्टिनी मारिएका हुन् । 

रफाहमा गरिएको आक्रमणमा ४ जनाले ज्यान गुमाएका अलजजिराले जनाएको छ । आक्रमणमा १५ जना घाइते भएका छन् ।त्यस्तै विभिन्न स्थानमा गरिएका आक्रमणमा थप प्यालेस्टिनीले ज्यान गुमाएका हुन् ।

इजरायलले मंगलबार अल–मवासीमा गरेको आक्रमणको अन्तर्राष्ट्रिय समुदायद्वारा निन्दा भइरहेका बेला बुधबार थप आक्रमण गरेको हो । इजरायली सेनाले मंगलबार अमेरिकामा निर्मित ९ सय ७ किलोको ‘एमके–८४’ बम प्रहार गरेपछि कम्तीमा १९ जनाको ज्यान गएको थियो । अल जजिराका अनुसार आक्रमणमा ६० जना घाइते भएका थिए ।

इजरायली सेनाले रफाहमा गरिएको आक्रमणमा हमास कमान्डर महमुद हमदानको ज्यान गएको बताएको छ । ड्रोन निगरानीका क्रामा हमासका चारवटा आश्रयस्थल पत्ता लगाइ आक्रमण गरिएको सेनाको दाबी छ ।

गत अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामिक समूह हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि गाजामा सक्रिय सैन्य कारबाही सुरू गरेको थियो । त्यसयता इजरायलले गाजामा गरेका आक्रमणमा ४१ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको छ । गाजास्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा धेरैजसो महिला र बालबालिका छन् ।

इजरायलले पछिल्लो समय लेबनान र यमनमा रहेको विद्रोही समूहलाई लक्षित गरी हवाई आक्रमण गर्दै आएको छ । यसअघि लेबनानमा गरेको हवाई आक्रमणमा हमाससँग निकट लेबनानी हेजबुल्लाह समूहका सैन्य शाखा कमाण्डर मारिएका थिए ।

त्यस्तै इरानमा मारिएका हमास नेता इस्माइल हानियाको मृत्युका लागि इजरायलको जिम्मेवार रहेको इरान र हमासले दाबी गर्दै आएका छन् । हानियाको हत्यामा आफ्नो संलग्नताबारे भने इजरायलले कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित : भाद्र २६, २०८१ १७:४३
×