कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

इजरायल–हमास द्वन्द्व : ११३ पत्रकारको मलामी बन्यो प्रेस

श्रावण २६, २०८१
इजरायल–हमास द्वन्द्व : ११३ पत्रकारको मलामी बन्यो प्रेस

Highlights

  • १० महिना लामो इजरायल–हमास युद्धमा परी कम्तीमा १ सय १३ पत्रकार/सञ्चारकर्मी मारिएको कमिटी टू प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) को तथ्यांक छ, उसले पत्रकारका लागि यो अवस्था सन् १९९२ यताकै सर्वाधिक घातक भनी टिप्पणी गरेको छ ।
  • पत्रकारको सुरक्षाका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था सीपीजेले अझै पनि इजरायल–हमास द्वन्द्वमा पत्रकारको हत्या, गिरफ्तारी र चोटपटकका थप ३ सय ५० भन्दा बढी घटनाको अध्ययन गरिरहेको जनाएको छ ।

काठमाडौँ — इजरायलविरुद्ध २०२३ अक्टोबर ७ मा हमासले आक्रमण गरेलगत्तै इजरायलले पनि गरेको जवाफी हमलासँगैको १० महिना लामो युद्धले गाजामा कार्यरत पत्रकारहरूले ठूलो क्षति बेहोर्नुपरेको छ । इजरायलले हमासविरुद्ध युद्ध सुरु गरेदेखि ३९ हजारभन्दा बढी मारिएका छन् ।

जसमा पत्रकार तथा मिडियाकर्मी मात्रै कम्तीमा १ सय १३ मारिएको २०२३ अगस्ट ५ मा ‘कमिटी टू प्रोटेक्ट जर्नालिस्ट’ (सीपीजे) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले बताउँछ । सीपीजेका अनुसार, पत्रकारहरूका लागि इजरायल–हमास युद्धको यो १० महिनाको अवधि सन् १९९२ यताकै सबैभन्दा घातक हो ।

उता, ‘इन्टरनेसनल फेडेरेसन अफ जर्नालिस्ट’ (आईएफजे) ले भने हमासको आक्रमणमा परी ४ इजरायली मिडियाकर्मीको ज्यान गइसकेको जनाएको छ भने इजरायलको आक्रमणका कारण १ सय २० प्यालेस्टिनी र ३ लेबनानी पत्रकारहरूको मृत्यु भएको दाबी गरेको छ । इजरायल–हमास द्वन्द्वका कारण विशेष गरेर गाजालाई कार्य क्षेत्र बनाएका पत्रकारहरूले उच्च जोखिमको सामना गरिरहेका छन् ।

सीपीजेका अनुसार इजरायली सेनाले गाजामा गरिरहेको स्थल तथा हवाई हमला, अवरुद्ध सञ्चार, आपूर्ति अभाव र व्यापक बिजुली कटौतीका बावजुद पनि पत्रकार/सञ्चारकर्मीहरूले द्वन्द्वका बारेमा समाचार सम्प्रेषणलाई निरन्तरता दिइरहेका छन् । चर्को द्वन्द्वका कारण सीपीजेलाई पनि युद्ध क्षेत्रमा भइरहेका गतिविधिहरूको वस्तुगत विवरण संकलन गर्नका लागि कठिन भइरहेको छ । पत्रकारको सुरक्षाका लागि काम गरिरहेको संस्था सीपीजेले द्वन्द्वका बेला भएका सम्भावित हत्या, गिरफ्तारी र चोटपटकका झन्डै ३ सय ५० घटनाको अनुसन्धान गरिरहेको पनि आफ्नो आधिकारिक वेबसाइटमा उल्लेख गरेको छ ।

‘गाजामा युद्ध सुरु भएदेखि पत्रकारहरूले रिपोर्टिङका लागि सबैभन्दा ठूलो मूल्य चुकाइरहेका छन् । उनीहरूले आफ्नो जीवन धरापमा राखेरै भएपनि रिपोर्टिङलाई निरन्तरता दिइरहेका छन् । पर्याप्त सुरक्षा, उपकरण, अन्तर्राष्ट्रिय उपस्थिति, सञ्चार तथा खानापानीको अभाव झेलेरै भए पनि उनीहरूले अझै पनि संसारलाई सत्य बताउन जोखिम मोलेर खटिइरहेका छन्,’ न्युयोर्कस्थित सीपीजे कार्यक्रम निर्देशक कार्लोस मार्टिनेज डे ला सेर्ना भन्छन्, ‘जब कुनै पत्रकार मारिन्छ, घाइते हुन्छ, गिरफ्तारीमा पर्छ वा निर्वासनमा जान बाध्य हुन्छ, हामीले सत्यका अवशेषहरू पनि गुमाउँछौं । यी हताहतका लागि जिम्मेवार व्यक्तिहरूले दोहोरो परीक्षणको सामना गर्नैपर्छ, एउटा अन्तर्राष्ट्रिय कानुनअन्तर्गत र अर्को इतिहासले उनीहरूलाई कहिल्यै माफी दिने छैन ।’

पत्रकारहरू पनि नागरिक हुन् र उनीहरू अन्तर्राष्ट्रिय कानुनद्वारा सुरक्षित छन् । जानाजान निःशस्त्र नागरिकलाई लक्षित गर्नु युद्ध अपराध मानिन्छ । हमास र इजरायली नेताहरूलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि कानुनी दायरामा ल्याउनका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतले मे महिनामा पक्राउ पुर्जी पनि जारी गरेको थियो । सीपीजेले हालसम्म गरेको अनुसन्धानमा इजरायली सेनाले लक्षित गरेरै ३ जना पत्रकारको हत्या गरेको देखाएको छ । यस्तै अन्य १० घटना पनि पत्रकार लक्षित नै देखिएको जनाउँदै त्यसमा थप अनुसन्धान भइरहेको बताएको छ ।

गत जुलाई ३१ मा अलजजिरामा कार्यरत २७ वर्षीय प्यालेस्टिनी पत्रकार इस्माइल अल घोउल र उनका साथी तथा क्यामेरापर्सन रमी अल रेफी सवार कारमा इजरायली सेनाले लक्षित गरेर क्षेप्यास्त्र प्रहार गरेपछि उनीहरूको घटनास्थलमा नै मृत्यु भएको थियो । गाजा सहर नजिकै रहेको अल साहतेइ शिविरमा उनीहरू सवार गाडीलाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार गरिएको अलजजिराका साथै बीबीसीलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । प्रकाशित समाचारअनुसार प्रेस लेखिएको ‘युनिफर्म’ लगाएकै अवस्थामा घोउल मारिएका थिए । अल घोउल र अल रेफी मारिनु एक घण्टाअघि मात्रै उनीहरूले हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्याका बारेमा गाजास्थित उनकै निवास अगाडिबाट समाचार सम्प्रेषण गरिरहेका थिए । अलजजिराले घटनाको प्रत्यक्ष प्रशारणमा बताएअनुसार उनीहरूले रिपोर्टिङ गरिरहेको स्थान नजिकैको भवनमा इजरायलले क्षेप्यास्त्र प्रहार गरेपछि उनीहरू घटनास्थल छोड्दै थिए । यस साता खाडी क्षेत्रका समाचारहरू अन्य उच्च–तहका व्यक्तिका हत्याबारे केन्द्रित भए पनि धेरै प्यालेस्टिनीहरूले भने स्थानीय रूपमा प्रख्यात पत्रकारको हत्यालाई नै केन्द्रमा राखेका छन् ।

गत बिहीबार एक विज्ञप्ति जारी गर्दै इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले इस्माइल अल घोउल ‘हमासको सैन्य सहयोगी र नुख्बा आतंकवादी’ रहेको दाबी गरेको थियो । उनी हमासको इलाइट युनिटको हिस्सा रहेको दाबी इजरायली सेनाको थियो । इजरायली सेनाका अनुसार उनी हमासका अन्य अपरेटिभलाई कसरी आफ्नो ‘अपरेसन रेकर्ड’ गर्ने र त्यसलाई आईडीएफविरुद्ध प्रयोग गर्ने भनेर निर्देशन दिने गर्थे । यद्यपि आईडीएफले आफ्नो विज्ञप्तिमा रेफीको नाम भने समावेश गरेको छैन ।

अलजजिराले आफ्नो सदस्यविरुद्ध इजरायली सेनाले लगाएको आरोपलाई ‘निराधार’ भएको बताएको छ । ‘इजरायलले आफ्ना जघन्य अपराधहरू ढाक्नका लागि लामो समयदेखि कसरी बनावटी र झूटा प्रमाणहरूलाई प्रयोग गर्छ भन्ने देखाउँछ,’ अलजजिरालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । इस्माइलका भाइ जिहादले बीबीसीलाई आफ्नो दाइ गाजाभित्र प्यालेस्टिनी जनताले भोगिरहेका पीडा बाहिरी संसारलाई बताउने एक नागरिक भएको बताएका छन् । गाजा सहरमा रहेर रिपोर्टिङ गर्ने उनी गाजाबाट सम्प्रेषित हुने समाचारको नियमित पत्रकार थिए । अलजजिरा अरबिक गाजा क्षेत्रमा समाचारको लोकप्रिय स्रोत हो । त्यसैले पनि यसले इजरायली अधिकारीहरूको कडा आलोचनाको सामना गर्नुपरिरहेको छ ।

गाजाका पत्रकारहरूले अल घोउल र अल रेफीको सम्मानमा एउटा भेलाको आयोजना गरी आफ्नो ‘फ्ल्याक ज्याकेट’ हरू खोलेका थिए । उनीहरू दुवैका एक साथीका अनुसार इजरायल आक्रमणमा मारिएका पत्रकारद्वय धेरै दिनदेखि सुतिरहेका थिएनन् र खाना खाने टुंगो पनि थिएन । त्यसैले उनीहरूको तौल पनि धेरै घटेको थियो । इस्माइल अल घोउलले मार्चमा इजरायली सेनाले सिफा अस्पतालमा गरेको छापामारीको पनि समाचार सम्प्रेषण गरेका थिए । त्यसबेला उनलाई आईडीएफले हिरासतमा लिएर १२ घण्टापछि छोडेको थियो । अलजजिराका अनुसार सोही घटनाले कुनै पनि संगठनसँग उनको सम्बद्धता रहेको इजरायलको दाबीको आफैं खण्डन गर्छ ।

हमासविरुद्ध गाजामा आक्रमण गर्न थालेयता इजरायलले सो क्षेत्रमा अन्तर्राष्ट्रिय पत्रकारको प्रवेशमा पनि रोक लगाएको छ । इजरायली सेनासँग सीमित र उच्च नियन्त्रित भ्रमणहरू बाहेक, युद्धको क्रममा प्यालेस्टिनी क्षेत्रमा प्रवेश गर्न अन्तर्राष्ट्रिय पत्रकारहरूलाई अनुमति छैन । गाजासँगको आफ्नो रफाह सीमा नाका बन्द गर्नुअघि इजिप्टले पनि पत्रकारहरूलाई प्रवेश गर्नबाट रोकेको थियो ।

१० महिनाभन्दा बढी समयदेखि बीबीसीलगायत धेरै अन्तर्राष्ट्रिय नेटवर्कहरू स्थानीय प्यालेस्टिनी कर्मचारीहरूको भर परेका छन् भने थप समाचार कभरेजका लागि नयाँ स्वतन्त्र पत्रकारहरूको सहारा लिइरहेका छन् । इस्माइल अल–घोउल नोभेम्बरदेखि अलजजिराका लागि काम गरिरहेका थिए । यही द्वन्द्वमा उनले आफ्नो बुबा र भाइ गुमाउनु लगायतका धेरै कष्टहरू सहेका थिए ।

अन्य ‘क्यामेरापर्सन’ ले कसरी अल–रिफीले आफ्नो प्राविधिक विशेषज्ञता प्रयोग गरेर उनीहरूलाई छायांकनमा मद्दत गरेको बताए ।

अंग्रेजी र अरबी भाषामा समाचार प्रसारण गर्ने अलजजिराले हालै गाजामा आफ्ना कर्मचारी र उनीहरूका परिवारविरुद्ध शृंखलाबद्ध आक्रमणहरू भोगेको छ । अक्टोबरको अन्तमा, नेटवर्कका ब्युरो प्रमुख वेल दहदौहले समाचार प्रत्यक्ष प्रसारणकै क्रममा इजरायली हवाई आक्रमणमा आफ्नी श्रीमती, छोरी, एक छोरा र नातिनातिना मारिएको सूचना प्राप्त गरेका थिए । डिसेम्बरमा, उनी पनि एक आक्रमणमा घाइते भएका थिए भने सोही आक्रमणमा अलजजिराका अर्का क्यामेराम्यान समेर अबुदाकाको मृत्यु भएको थियो । यस्तै, जनवरीमा एक आक्रमणमा दहदौहका छोरा हम्जा र एक भिडियो स्ट्रिङ्गर मुस्तफा थुरिया मारिएका थिए । त्यतिबेला उनीहरू पनि अलजजिराकै लागि काम गरिरहेका थिए । सो घटनापछि पनि आईडीएफले उनीहरू गाजामा केन्द्रित आतंकवादी संगठनका सदस्यहरू रहेको आरोप लगाएको थियो ।

संयुक्त राष्ट्रसंघले अल जजिराका पत्रकारका साथै अन्यको हत्याको पूर्ण अनुसन्धान र जवाफदेहिताको माग गर्दै पत्रकारको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताउँदै आएको छ । हमासले इजरायलमा गरेको अप्रत्याशित आक्रमणपछि सुरु भएको युद्धमा मारिएका मिडियाकर्मीहरूको यकिन तथ्यांक भने फरक फरक छ ।

यद्यपि, कमिटी टू प्रोटेक्ट जर्नालिस्ट्सका अनुसार गाजामा भएको पछिल्लो मृत्युसँगै त्यहाँ १०८ जना प्यालेस्टिनी, तीन लेबनानीका साथै दुई इजरायलीहरू ७ अक्टोबरको हमलामा मारिएका बताएको छ ।

के हो द्वन्द्वको कारण ?

२०२३ अक्टोबर ७ को शनिबार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासका हतियारधारी दक्षिणी इजरायलमा अचानक प्रवेश गरेर इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी आक्रमण थालेको थियो । हमास विद्रोहीहरू मोटरसाइकल र प्यारासुटमार्फत इजरायली भूमिमा प्रवेश गरेका थिए । हमासका अनुसार त्यस बिहान इजरायलतर्फ करिब ५ हजार रकेट आक्रमण गरिएको थियो । आक्रमणपछि हमास विद्रोहीले एक नेपालीसहित सयौंलाई बन्धक बनाएका थिए भने अहिलेसम्म इजरायल–हमास युद्धमा १० नेपालीले ज्यान गुमाइसकेका छन् ।

लगातार चर्किरहेको द्वन्द्वमा परेर गाजा क्षेत्रमा मात्र ४० हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ । सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई ‘भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानी’ का रूपमा लिँदै आएको छ । यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रूप लिएको छ । २०१४ जुलाईदेखि अगस्टको बीचमा भएको युद्धमा २ हजार २ सय ५१ प्यालेस्टाइनी मारिएका थिए । तीमध्ये १ हजार ४ सय ६२ जना सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।

पछिल्लो पटक २०२२ अगस्टमा इजरायली सेनाले प्यालेस्टिनी विद्रोही अखडामा हवाई आक्रमण गर्दा ४४ जनाको मृत्यु भएको थियो । प्यालेस्टिनी विद्रोही समूहले १ हजारभन्दा बढी रकेट आक्रमण गरेपछि इजरायलले जवाफी कारबाही गरेको दाबी गरेको थियो । त्यसअघि २०२१ मा रमदानकै महिना इजरायल–प्यालेस्टाइन द्वन्द्व चर्किएको थियो ।

११ दिनसम्म लम्बिएको उक्त हिंसात्मक द्वन्द्वमा गाजा क्षेत्रका २ सय ५० जना र इजरायलका १३ जना मारिएका थिए । इजिप्टबाट कब्जामा लिएको ३८ वर्षपछि इजरायली सेना गाजाबाट एकतर्फी हटेको थियो । उक्त क्षेत्र उसले प्यालेस्टाइनलाई छाडिदिएको थियो । त्यसयता कैयौँ पटक इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्किंदै आएको छ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : श्रावण २६, २०८१ ०८:३१
×