कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

बंगलादेश : शेख मुजिबुरदेखि हसिनासम्म

श्रावण २३, २०८१
बंगलादेश : शेख मुजिबुरदेखि हसिनासम्म

Highlights

  • ९ महिना लामो युद्ध, करिब ३० लाखको बलिदानीको मूल्य चुकाएर बंगलादेश जन्मिएको थियो । त्यसको नेतृत्व शेख मुजिबुर रहमानले गरेका थिए । स्वतन्त्रतापछि उनले बंगलादेशमा समाजवाद र धर्मनिरपेक्षतालाई मूल राजनीतिक मन्त्र बनाएका थिए । तर छोरीले निर्वाचित अधिनायकवाद रोजिन् ।
  • शेख मुजिबुर रहमानमा १९७५ मा एकाएक तानाशाह छवि देखापर्‍यो । उनले संविधान नै परिवर्तन गरेर आफूलाई बंगलादेशको राष्ट्रपति घोषणा गरे र एकतन्त्रीय प्रणाली लागू गरे । बंगलादेशको निर्माताको त्यो अराजनीतिक कदम नै देशका लागि अभिशाप बन्न पुग्यो ।

काठमाडौँ — बेलायती शासकले १९०५ मा बंगाल प्रेसिडेन्सीलाई पूर्वी बंगाल र पश्चिम बंगालमा विभाजन गरेदेखि नै बंगलादेश निर्माणको जरो गढेको थियो । अंग्रेजहरूले १९०९ मा मोर्ले–मिन्टो सुधार लागू गरेर धर्ममा आधारित निर्वाचन प्रणाली लागू गरेपछि पूर्वी बंगालमा मुसलमान बाहुल्य कायम भएको थियो । बंगाली मुसलमानहरूको प्रतिनिधित्व गर्नका लागि ‘द बंगाल प्रोभिन्सनल मुस्लिम लिग’ गठन भयो । 

अंग्रेजहरूले १९१२ मा पुनः दुई भागमा विभाजन गरिएको बंगाललाई एक बनाए । त्यस निर्णयबाट पूर्वी बंगालमा रहेका मुसलमानहरू चिढिए । एकीकरणले आफ्नो समुदायको हित नहुने सोच मुसलमानहरूको थियो । १९४६ मा बेलायती प्रधानमन्त्री क्लिमेन्ट एट्लीले एक ‘क्याबिनेट मिसन’ लाई भारत पठाएका थिए । मिसनको मुख्य उद्देश्य बेलायती शासनबाट भारतीय राजनीतिक नेतृत्वलाई सत्ता सम्पिनु थियो । त्यसै मिसनले नै बंगाललाई पुनः धर्मका आधारमा विभाजन गरिदिएको थियो ।

अन्ततः १९४७ अगस्ट १५ मा भारत बेलायतबाट स्वतन्त्र हुने भयो र त्यसको ठीक एक दिन अघि अगस्ट १४ मा नयाँ देशका रूपमा पूर्वी पाकिस्तान र पश्चिम पाकिस्तानको घोषणासँगै बेलायती शासनबाट स्वतन्त्र भयो । मुसलमानको बाहुल्य भएकै कारण पूर्वी पाकिस्तानलाई पश्चिमको अधीनस्त रहने घोषणा गरिएको थियो । पाकिस्तानका नेता थिए मोहम्मद अलि जिन्ना । धर्मका आधारमा भारतलाई टुक्य्राउँदा एकअर्काबाट १६ सय किलोमिटर पर भए पनि दुई राज्य एक देश पाकिस्तान बनेर स्थापित भयो । पूर्वी पाकिस्तानको बहुसंख्यक जातीय समूह पश्चिम पाकिस्तानमा जस्तै मुसलमान थिए । तर तिनीहरूको संस्कृति, सम्पदा र फरक भाषा फरक थियो । यही बेमेल नै बंगलादेश निर्माणको प्रमुख कारण बन्यो ।

विभाजनलगत्तै, पाकिस्तानका दुई पार्टीहरूबीच आर्थिक असमानताले आकार लिन थाल्यो, र पूर्वी पाकिस्तानीहरूले पश्चिम पाकिस्तानी शासकका उत्पीडनको सामना गर्न थाले । १९४८ मा, पाकिस्तान सरकारले उर्दूलाई राज्य सञ्चालनको एक मात्र भाषाको रूपमा स्थापित गर्ने प्रयास गर्‍यो । पूर्वी पाकिस्तानमा रहेका बहुसंख्यक बंगला भाषीलाई यो कुरा असह्य भयो । १९५२ फेब्रुअरी २१ मा चरम सीमामा पुगेको भाषा आन्दोलनले छुट्टै बंगाली राष्ट्रिय पहिचानको भावनाको पहिलो बीजारोपण भयो ।

भाषा अन्दोलनसँगै कृषक श्रमिक पार्टीले १९५३ मा पूर्वी पाकिस्तानको स्वायत्तताको माग गरेको थियो । यही मागलाई अघि सारेर १९५४ मा पाकिस्तान मुस्लिम लिगविरुद्ध कृषक श्रमिक पार्टीले प्रान्तीय चुनाव जितेको थियो । त्यससँगै कृषक श्रमिक पार्टीका नेता एके फजलुल हक पूर्वी पाकिस्तानको मुख्यमन्त्री बने । मुख्यमन्त्री बनेको केही समयपछि नै पाकिस्तानी सरकारले १९५४ मे ३१ मा कृषक श्रमिक पार्टीलाई सत्ताबाट हटायो र मुख्यमन्त्री एके फजलुल हक र पार्टी महासचिव शेख मुजिबुर रहमानलाई अलगाववादको आरोपमा घरमै नजरबन्द गर्‍यो ।

सन् १९५८ मा जनरल अयुब खानले पाकिस्तानमा सैन्य शासन लागू गरेपछि अवामी लिगका केही सदस्यहरूले जमालपुरमा ‘इस्ट बंगाल लिबरेसन फ्रन्ट’ नामक पृथकतावादी संगठन गठन गरेर तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसँग स्वतन्त्रताको युद्धमा सहयोगको लागि आग्रह गरे । तर नेहरूले उनीहरूको प्रस्तावमा १९५० मा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री लियाकत अलीसँग गरेको ‘नेहरू–लियाकत सम्झौता’ का कारण समर्थन जनाएनन् ।

शेख मुजिबुर रहमानले १९६१ मा पूर्वी पाकिस्तान कम्युनिस्ट पार्टीका नेताहरूलाई स्वतन्त्रताका लागि अवामी लिगसग संयुक्त रूपमा आन्दोलन गर्न आह्वान गरे । त्यसबेला मोनी सिंहको नेतृत्वमा कम्युनिस्ट पार्टीका नेताहरूको समूहले सोभियत संघसँग स्वतन्त्रता आन्दोलनमा सामेल हुन अनुमति मागेको थियो । सोभियतबाट सकारात्मक प्रतिक्रिया नपाएपछि कम्युनिस्ट पार्टी स्वतन्त्रता संघर्षमा सामेल हुन हिच्किचाएको थियो । जस्तो विषम परिस्थिति आए पनि शेख मुजिबुर रहमान भने पूर्वी पाकिस्तानलाई पाकिस्तानबाट स्वतन्त्र बनाउनमै तल्लीन थिए । उनी जेलभित्र रहे पनि वा बाहिरै रहे पनि एक मात्र उद्देश्य थियो स्वतन्त्र बंगलादेश । १९६३ मा उनले पुनः नेहरूलाई पत्र लेख्दै पूर्वपाकिस्तानको स्वतन्त्रताको घोषणा गरेर लन्डनमा निर्वासित सरकारको गठनबारे छलफल गर्ने प्रयास गरेका थिए । तर नेहरू भने मुजिबुरसँग कुरा गर्नै चाहँदैनथे किनभने त्यसबेला चीन–भारत युद्ध चलिरहेको थियो ।

यसैबीच, पश्चिमी पाकिस्तानले पूर्वी पाकिस्तानमाथिको प्राकृतिक तथा आर्थिक स्रोतमाथिको नियन्त्रण बढाउँदै लग्यो । जसका कारण बंगाली जनतालाई पश्चिम पाकिस्तानको सत्ताप्रति वितृष्णा बढ्दै गइरहेको थियो । त्यसक्रममा शेख मुजिबुर रहमानसहित धेरैलाई पूर्वी पाकिस्तानीहरूलाई भारतको सहयोगमा अलग गर्न खोजेको आरोप लगाएर १९६६ मा पुनः पक्राउ गरिएको थियो । उक्त घटनालाई पाकिस्तानी सरकारले ‘अगरतला षड्यन्त्र’ को नाम दिएको थियो । आफ्ना नेतालाई पक्राउ गरेको विरोधमा १९६९ मा पूर्वी पाकिस्तान ठूलो जन विद्रोह भयो ।

त्यसपछि पक्राउ परेका नेताहरूलाई ‘अगरतला षड्यन्त्र’ आरोपबाट मुक्ति दिइयो । यससँगै मुजिबुरलाई १९७० फेब्रुअरी २२ मा अयुब खानले जेल मुक्त गरिदिए । उनले स्वतन्त्र बंगलादेशको अभियानलाई भने जारी नै राखेका थिए । १९७० नोभेम्बर १२ मा बंगालको खाडीमा आएको विनाशकारी भोला नामक चक्रवातको चपेटामा परेर करिब ५ लाख जनाले ज्यान गुमाउँदा पनि पाकिस्तानी सरकारले राहतका लागि उचित कदम चालेन । स्वतन्त्र बंगलादेश संग्रामका लागि त्यस विपद्ले पनि ठूलो भूमिका खेल्यो ।

१९६३ देखि १९७१ को स्वतन्त्रता प्राप्तिसम्म, विभिन्न राजनीतिक दलहरू, मुख्यतः शेख मुजिबुर रहमानको नेतृत्वमा अवामी लिगले पूर्वी पाकिस्तानको क्षेत्रीय स्वायत्तताका लागि अभियान चलाए । १९७० डिसेम्बर ७ मा भएको पाकिस्तानी आमचुनावमा शेख मुजिबुरको नेतृत्वमा अवामी लिगले पाकिस्तानको राष्ट्रिय सभामा रहेका १६९ सिटमध्ये १६७ सिट जित्यो भने प्रान्तीय सभाका ३०० सिटमध्ये २८८ मा जित हासिल गर्‍यो । भारी जितको बबजुद, जनरल याया खानको नेतृत्वमा पाकिस्तानी सैन्य प्रशासनले अवामी लिगलाई सरकार बनाउन दिएन । यो घोर अन्यायको विरोधमा देश उत्तेजित भयो ।

शेख मुजिबुर रहमानले रमना रेसकोर्समा १९७१ मार्च ७ मा एक ऐतिहासिक भाषण दिए । उनले पूर्वी पाकिस्तानका आम जनतालाई पश्चिम पाकिस्तानी प्रशासनको प्रतिरोध गर्न आह्वान गरे । रहमानले अब पश्चिमी पाकिस्तानसँग प्रतिरोध गर्न अवामी लिगले कर उठाउने र टोलटोलमा कमिटी नै बनाएर प्रतिरोध गर्ने घोषणा गरे । सोही भाषणको क्रममा उनले बोलेका कुरा उनको प्रख्यात वाणीका रूपमा चर्चित बन्यो, ‘यस पटकको संघर्ष हाम्रो मुक्तिको लागि हो, यस पटकको संघर्ष हाम्रो स्वतन्त्रताको हो !’

साताव्यापी नागरिक अवज्ञा र राजनीतिक अस्थिरतापछि अवामी लिगले पूर्वी पाकिस्तानमा प्राप्त गरिरहेको बढ्दो जनसमर्थनलाई निस्तेज पार्न जनरल याया खानले पश्चिम पाकिस्तानबाट पूर्वमा थप सैनिक र हतियारहरू पठाएर सैन्य नियन्त्रणको तयारी गर्न थालेका थिए । १९७१ मार्च २५ मा जनरल खानले सैन्य कारबाहीको घोषणा गरेसँगै सेनालाई शेख मुजिबुरलाई गिरफ्तार गर्न आदेश दिए । मार्च २५ रात पाकिस्तानी सेनाले अप्रेसन सर्चलाइट सुरु गर्‍यो र हजारौं निर्दोष जनताको ज्यान लियो । उनीहरूको घरमा आगो लगाइयो र धनमाल लुटियो । सोही रात पाकिस्तानी सेनाले हिरासतमा लिनुअघि शेख मुजिबुरले बंगलादेश स्वतन्त्र राष्ट्र भएको घोषणा गरेका थिए ।

मार्च २५ मा मुजिबुरले देश पश्चिम पाकिस्तानबाट स्वतन्त्र भएको घोषणा गरे पनि वास्तविक स्वतन्त्रता भने १९७१ डिसेम्बर १६ मा प्राप्त भएको थियो । स्वतन्त्रता घोषणाको नौ महिनासम्म बंगलादेशको मुक्ति वाहिनीले पश्चिमी पाकिस्तानका सेनासँग मुक्ति युद्ध लडेको थियो । डिसेम्बर १६ मा भने पाकिस्तानी सेनाले मुक्ति वाहिनीसमक्ष हतियारसहित आत्मसमर्पण गरेको थियो । बंगलादेशको स्वतन्त्रता युद्धमा भारतीय सेनाले पनि साथ दिएको थियो । भारतीय सेना र मुक्ति वाहिनीका योद्धाहरू मिलेर बंगलादेश निर्माणको युद्ध लडेका थिए ।

आत्मसमर्पणको दुई दिन पूर्वपाकिस्तानी सेनाले सयौंको संख्यामा बंगाली प्राध्यापक, चिकित्सक, पत्रकार, लेखक, राजनीतिज्ञ, कलाकार र अभियन्ताको हत्या गरेको थियो । भारतले बंगालदेशको स्वतन्त्रताका लागि औपचारिक रूपमा नै सहयोग गरेपछि पाकिस्तानले आत्मसमर्पण गर्नुपूर्व योजनाबद्ध रूपमा नै नयाँ राज्य निर्माणमा उल्लेख भूमिका खेल्न सक्ने व्यक्तिहरूको हत्या गरेको थियो ।

स्वतन्त्रता प्राप्तिपछि पनि बंगलादेशीका लागि विजय र शान्तिको संक्रमण सहज र तत्काल प्राप्त भने भएन । पराजयपछि पनि पाकिस्तानी अधिकारीहरूले स्वतन्त्र बंगलादेशका प्रमुख नेतृत्वकर्ता शेख मुजिबुरलाई रिहा गर्न आनाकानी गरिरहेका थिए । त्यसले नवनिर्मित राष्ट्रमा एक प्रकारको तनाव, अनिश्चितता, अपूर्णताको भावना जगाएको थियो । शेख मुजिबुर रहमान अन्ततः १९७२ जनवरी १० मा स्वतन्त्र बंगलादेशमा फर्किएका थिए । ९ महिना लामो युद्ध र करिब ३० लाख जना बंगालीको नरसंहार र १० लाखको विस्थापनको ठूलो मूल्य चुकाएर बंगलादेशले विजय हासिल गरेको थियो ।

ढाका विश्वविद्यालयका प्राध्यापक डा. सहमसद मोर्तुजाका भनाइमा बंगलादेश स्वतन्त्र हुनुमा क्षेत्रीय गतिशीलता र औपनिवेशिक राजनीतिले दुवैको गहिरो प्रभाव छ । उनका अनुसार बेलायती शासन अन्त्य हुँदा भारतीय उपमहाद्वीपलाई धर्मका आधारमा टुक्राएर दुई राज्य भारत र पाकिस्तान बनाइए पनि पाकिस्तानको दुई भागलाई भने केवल धर्मले जोडेर राख्न भने असम्भव सावित भएको हो । पाकिस्तान बनेपछि नै भाषिक, सांस्कृतिक र सामुदायिक भिन्नताका कारण दुई भागबीच वैमनस्यता बढ्न थालेको थियो । त्यसमाथि पनि पश्चिमी पाकिस्तानले पूर्वी पाकिस्तानीमाथि सुरुदेखि नै गरेको राजनीति र आर्थिक विभेदले बंगलादेश निर्माणको मार्गप्रशस्त गर्दै लगेको हो ।

‘उर्दूलाई एक मात्र राज्यको भाषाको रूपमा थोपार्ने उनीहरूको प्रयासले पूर्वी प्रान्तका जनतालाई पश्चिमले उपनिवेशको रूपमा मात्रै हेरेको स्पष्ट देखिन्थ्यो । भाषा पहिचान ठूलो मुद्दा साबित भयो । मातृभाषाको पवित्रता जोगाउन आन्दोलनमा उत्रिएका विद्यार्थीहरूको चर्को व्यवहारले पाकिस्तानको कमजोर राष्ट्रिय एकतालाई धुजाधुजा पारिदियो,’ उनी भन्छन्, ‘यो बंगबन्धु मुजिबुरको दूरदर्शी प्रतिभा थियो जसले परिवर्तनको मागलाई बुझे र बंगालीलाई धार्मिक वर्गको रूपमा नभई राजनीतिक र सांस्कृतिक रूपमा एक कदम चाले । उनको राजनीति नै मातृभूमि निर्माण गर्न समर्पित थियो । जहाँ हाम्रो पहिचानका विभिन्न धारहरू सुरक्षित रहन सक्छन् ।’

स्वतन्त्र बंगलादेशलाई देशका रूपमा सबैभन्दा पहिला १९७१ डिसेम्बर ६ मा भुटानले र त्यसको केही घण्टापछि भारतले मान्यता दिएको थियो । त्यसपछि विस्तारै विश्वका अन्य देशले पनि बंगलादेशलाई नयाँ देशका रूपमा मान्यता दिन थालेका थिए । नयाँ देशका रूपमा बामे सर्दै गरेको बंगलादेशमा १९७५ मा पाकिस्तानकै इतिहास दोहोरिएपछि पुनः राजनीतिक संकट पैदा भएको थियो । स्वतन्त्र भएको चार वर्षपछि नै १९७५ अगस्ट १५ मा दोस्रो दर्जाका सैन्य अधिकारीहरूले ‘कु’ गरेर रहमानको हत्या गरेका थिए । मुजिबुरले धर्मनिरपेक्ष राष्ट्रका रूपमा अगाडि बढाउँदै गरेको देशमा धर्मलाई प्राथमिकता दिनकै लागि ‘कु’ गरेर खोण्डकर मुस्ताख अहमदलाई नेतृत्वमा ल्याइएको थियो ।

मुजिबुरकै नेतृत्वमा बंगलादेशले गणतान्त्रिक प्रजातन्त्रको राजनीतिक अभ्यासलाई सुरु गरेको थियो । उनको पार्टीले स्वतन्त्र भएको एक वर्षमा नै बंगलादेशको संविधान तयार पारेर लागू गरेको थियो । समाजवाद र धर्मनिरपेक्षतालाई मूल राजनीतिक मन्त्र बनाएर अगाडि बढे पनि १९७५ मा भने उनको राजनीतिक यात्राले एकाएक कोल्टे फेरेको थियो । आफ्नो ५ वर्षे कार्यकालको अन्त्य हुन लाग्दा जनतामा छाएको निराशालाई उनले बुझेका थिए । सत्ताबाट बाहिरिन सक्ने भेउ पाएरै उनले एकाएक संविधान नै परिवर्तन गरेर आफूलाई बंगलादेशको राष्ट्रपति घोषणा गरेर र एक पार्टी प्रणाली लागू गरे । समाजवादी छविको नेताका रूपमा चित्रण गरिएका मुजिबुर एकाएक तानाशाहका रूपमा परिवर्तित भए । उनको यो एकतन्त्रीय शासन गर्ने इच्छा भने केवल सात महिनामै सैनिक ‘कु’ हुँदै हिंसात्मक रूपमा टुंगियो ।

सैन्य ‘कु’ का क्रममा प्रधानमन्त्री तथा बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांशले ज्यान गुमाए । उनका दुई छोरी शेख हसिना र उनकी बहिनी शेख रेहाना पश्चिम जर्मनीमा रहेकाले बच्न सफल भए । पारिवारिक सदस्य गुमाएपछि उनीहरूले पश्चिम जर्मनीस्थित बंगलादेशका राजदूतको घरमा शरण लिए । पछि भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको आह्वानमा उनीहरूले भारतमा राजनीतिक शरण लिए । सैनिक शासकले स्वदेश फर्कन प्रतिबन्ध लगाएपछि हसिना करिब ६ वर्ष भारतमै रहिन् । १९८१ फेब्रुअरी १६ मा अवामी लिगको अध्यक्ष भएपछि उनी मे १७ मा बंगलादेश फर्किइन् । त्यतिबेला उनलाई हजारौं समर्थकले स्वागत गरेका थिए ।

१९८१ मा अवामी लिगको अध्यक्ष भएयता हसिना राजनीतिमा सक्रिय भएकी थिइन् । सुरुआती दिनमा देशमा लोकतन्त्र स्थापनाका लागि उनले संघर्ष गरेकी थिइन् । निर्वासनबाट बंगलादेश फर्केपछि उनी बीएनपी नेतृ तथा पूर्वप्रधानमन्त्री खालिदा जियासँग जोडिइन् । दुई नेतृहरूको अगुवाइमा १९९० मा भएको आन्दोलनले बंगलादेशमा हुसेन मोहम्मद एर्सादको सैनिक शासनलाई विस्थापित गर्न सफल भएको थियो ।

लोकतन्त्र स्थापित भएपछिको आमचुनावमार्फत सन् १९९१ देखि जियाले पाँच वर्ष शासन सत्ता सम्हालिन् । तर, यसबीचमा हसिना र जियाबीचको सम्बन्ध चिसियो । जसका कारण बंगलादेशको राजनीति अस्थिर बन्न पुग्यो । हसिना भने १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन् । त्यसको पाँच वर्षपछि भने उनी जियासँग पराजित भइन् । जसका कारण २००१ देखि २००६ सम्म पुनः जिया प्रधानमन्त्री बनिन् । यसबीचमा दुई नेतृहरूबीचको सम्बन्ध थप बिग्रियो । उनीहरूबीचको द्वन्द्व राजनीतिक प्रतिस्पर्धामा मात्र सीमित रहेन, प्रतिशोधतर्फ अघि बढ्न थाल्यो ।

दुई नेतृबीचको राजनीतिक प्रतिशोधसँगैका विरोध प्रदर्शन, हिंसा र झडपहरूका कारण तोकिएको चुनाव हुन नसकेपछि सेनाले सत्ता हातमा लिएको थियो । पछि सेना प्रमुख जर्नेल मोहिन उद्दिन अहमदले अर्थशास्त्री फकरुद्दिन अहमदलाई प्रमुख सल्लाहकारका रूपमा कामचलाउ सरकारको नेतृत्वको जिम्मा दिएका थिए ।

अहमद नेतृत्वको सरकारले जियालाई भ्रष्टाचार र हसिनालाई जबर्जस्ती असुलीसम्बन्धी मुद्दा लगाएर जेल हालेको थियो । मुद्दा फिर्ता लिइएपछि हसिना २००८ को जुन र जिया सेप्टेम्बरमा रिहा भए । सोही वर्षको डिसेम्बर २९ मा भएको चुनाव अवामी लिगले भारी मतले जितेपछि हसिना प्रधानमन्त्री बनिन् । २००९ यता लगातार सत्तामा रहेकी हसिना विद्यार्थीको नेतृत्वमा भएको आरक्षणविरोधी आन्दोलनका कारण देशै छाडेर भाग्न बाध्य भइन् ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : श्रावण २३, २०८१ ०९:४४
×