कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

एनडीएले मोदीलाई चुन्यो नेता, आइतबार तेस्रो कार्यकालका लागि मोदीले शपथ लिने तय

जेष्ठ २६, २०८१
एनडीएले मोदीलाई चुन्यो नेता, आइतबार तेस्रो कार्यकालका लागि मोदीले शपथ लिने तय

नयाँ दिल्ली — भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले नरेन्द्र मोदीलाई नयाँ सरकार गठनका लागि शुक्रबार निमन्त्रण दिएकी छन् । राष्ट्रिय जनतान्त्रिक मोर्चा(एनडीए)ले मोदीलाई आफ्नो नेता चुनेको र बहुमत सदस्यको समर्थन उनलाई रहेको जानकारी राष्ट्रपति मुर्मूलाई गराएका थिए ।

मोदीले लगातार तेस्रो कार्यकालका लागि आइतबार साँझ शपथ ग्रहण गर्ने तय भएको छ । राष्ट्रपति कार्यालयले साँझ ७:१५ मा शपथको समय निर्धारण गरेको छ । २०१४ र २०१९ दुई पटक चुनाव जितेर मोदी लगातार १० वर्षदेखि प्रधानमन्त्री छन् । भर्खरै सम्पन्न लोकसभा चुनावमा उनको दल भाजपाले एकल बहुमत नल्याएपनि गठबन्धनमा आवद्ध दलहरूको समर्थनमा मोदी प्रधानमन्त्री बन्न लागेका हुन् ।

५ सय ४३ सदस्यीय भारतको लोकसभामा सरकार बनाउन सामान्य बहुमत २ सय ७२ सदस्यको समर्थन चाहिन्छ । भाजपाले २ सय ४० सिट जितेको छ । भाजपाले नेतृत्व गरेको एनडीए गठबन्धनले भने २ सय ९३ सिट ल्याएको छ ।

गठबन्धनमा आबद्ध अन्य प्रमुख तेलुगू देशम पार्टीका नेता चन्द्र बाबु नायडू र जनता दल यूनाइटेडका नेता नीतिश कुमारले मोदीलाई समर्थन गर्ने प्रतिबद्धता जनाएपछि मोदीलाई सहज भएको हो । नायडूको पार्टीले १६ र नीतिशको पार्टीले १२ सिट जितेको छ । मोदीलाई तेस्रो पटक प्रधानमन्त्री बनाउन यी दुई दल निर्णायक भएको हो ।

एनडीए संसदीय दलबाट नेता चुनिएपछि मोदीले राष्ट्रपतिलाई भेटेका थिए । साथै भाजापा सांस्थापक नेता लालकृष्ण आडवाणी र मुरली मनोहर जोशीलाई भेट्न उनको निवास पुगेका थिए । त्यस्तै पूर्व राष्ट्रपति रामनाथ कोविंदलाई पनि भेट्न उनको निवास पुगेका थिए ।

एनडीए संसदीय दलको बैठकमा बिहारका मुख्यमन्त्री तथा जदयूका नेता नीतिशले मोदीको नतृत्वमा आफूहरू काम गर्न तयार रहेको बताएका थिए ।

‘यता–उता कोही गर्न चाहन्छ, भने त्यसको कुनै लाभ छैन,’ उनले भने ‘हामी मोदीजीको नेतृत्वमा काम गर्छौ, उहाँको कुरा मानेर अगाडि बढ्छौं ।’ सत्ता स्वार्थका लागि सबैभन्दा ‘यता–उता’ गर्ने नेतामा नीतिश नै परिचित छन् । मत परिणाम आए देखि सबैतिरबाट उनैमाथि शंका गरिँदै आएको थियो । तर, कार्यक्रममा नीतिशले विश्वस्त तुल्याउन आफूहरू सधैं मोदीकै साथमा रहने बताएका छन् ।

‘धेरै खुसीको कुरा हो, १० सालदेखि प्रधानमन्त्री रहेका व्यक्ति फेरि प्रधानमन्त्री बन्दै हुनुहुन्छ, उहाँले पूरै देशको सेवा गर्नु भएको छ,’ उनले भने ‘हामी सम्पूर्ण रूपमा उहाँको साथमा छौं ।’ तेलुगू देशम पार्टीका नेता नायडूले भारतले सही समयमा सही नेता पाएको भन्दै मोदीको प्रशंसा गरेका थिए ।

एनडीए बैठकबाट नेता चुनिएपछि मोदीले पघिल्लो १० वर्ष कामको ट्रेलर मात्रै रहेको भन्दै उनले कामको सबै पुराना रेकर्ड अब तोडिने बताए । उनले ‘एनडीए’ गठबन्धनलाई न्यू इन्डिया, डेवेलप इन्डिया र एस्पिरेसन इन्डियाका रूपमा व्यख्या गरे ।

विपक्षीमाथि प्रहार गर्दै उनले दश वर्षमा कांग्रेसले एक सय सिट पनि पुर्‍याउन नसकेको भन्दै पछिल्लो तीन चुनावमा कांग्रेसले ल्याएको सिटभन्दा भाजपाले यसपटक सिट ल्याएको बताए । उनले २०२४ अगाडि वा अहिले एनडीएकै सरकार रहने भएकाले आफूहरू हरेको कहाँ भनि प्रश्न गरेका थिए ।

उनले ईवीएम(इलेक्ट्रोनिक भोटिङ मेसिन) प्रति विपक्षी दलहरूले उठाउँदै आएको प्रश्न र आशंकालाई ईवीएमले जवाफ दिएको बताए । निर्वाचन आयोगमाथि लगाईएको आरोपहरूमाथि पनि उनले असन्तुष्टि व्यक्त गरे । संवैधानिक संस्थामाथि अनेकौं आरोप लगाउनुको आशय नै पछि परिणाममाथि सवाल उठाउने उद्देश्यले रहेको उनको भनाई थियो । विपक्षी दलहरूले चुनावको दौरान लगातार आयोग तथा ईवीएममाथि प्रश्न उठाएका थिए ।

भारत ‘मदर अफ डेमोक्रेसी’ रहेको प्रचार आफूले गरिरहँदा विपक्षीले भने डेमोक्रेसी सिध्एिको भन्दै हिडेका उनले बताए । ‘चाय बेच्ने व्यक्ति त्यहा कसरी पुग्यो, केही त गडबबड भएकै हो भनेर भ्रम फैलाउने प्रयास गरिएको छ,’ उनले भने ‘प्रगति र आधुनिकता बिरोधी व्यक्तिहरू इंडी एलयान्समा छन् ।’

प्रकाशित : जेष्ठ २६, २०८१ १३:१९
x
×