कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

महिला लिग फुटबल : एपीएफलाई पुलिसको धक्का

भाद्र १९, २०८१
महिला लिग फुटबल : एपीएफलाई पुलिसको धक्का

Highlights

  • चन्द्रपुर र कैलालीले पनि बराबरी खेल्दै अंक बाँडे

काठमाडौँ — मैदानमा पुलिस टिम केही हदसम्म एपीएफसामु कमजोर नै देखियो । एपीएफले लगातार आक्रमण बुनिरह्यो, तर गोल भने हुन सकेन । पुलिसको बलियो भन्नु नै रक्षापंक्ति थियो । त्यसले केही काम त गर्‍यो । तर, नतिजा रह्यो गोलरहित बराबरी । 

एन्फा महिला लिग फुटबलको पहिलो ‘बिग म्याच’ वर्षाका कारण ढिलो सुरु भएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टुंगिँदा लगभग अँध्यारो नै भइसकेको थियो ।

यसको सार रह्यो, डिफेन्डिङ च्याम्पियन एपीएफले उपाधिको रक्षा गर्ने हो भने मिहिनेत राम्रै गर्नुपर्नेछ । ‘पछिल्लो समय हाम्रो कमजोरी अग्रपंक्तिमै छ । हामीसँग सावित्रा भण्डारी पनि छैन । हामीले विकल्प दिनु सक्नुपर्छ र यसका लागि तयारी पनि गरिरहेका छौं,’ एपीएफका प्रशिक्षक जीवेश पाण्डेले भने, ‘तीन खेल भयो हामीले गोल गर्न नसकेको छ । यसमा सुधार आवश्यक छ ।’

एएफसी वुमन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणका दुई खेलसँगै एपीएफले गोल गरेको संख्या तीन गोल पुगेको छ । यो यस्तो समस्याका रूपमा अगाडि आएको छ, जसले टोलीलाई पिरोल्न सक्नेछ । पूरा खेल अवधिमा एपीएफले कति आक्रमण बुन्यो, त्यसको गणना नै हुन सक्ने छैन । तर, त्यसलाई पूजा रानाको नेतृत्वमा रहेको पुलिस डिफेन्स र गोलरक्षक उषा नाथले शृंखलाबद्ध रूपमा रोकिरहे ।

विशेषतः उषा असाध्यै धेरै व्यस्त रहिन् । यो बराबरीमा प्रशिक्षक पाण्डे पूर्णतः निराश पनि रहेनन् । उनले थपे, ‘हाम्रो उद्देश्य उपाधि जित्ने नै हो । पूरा प्रतियोगितामा अपराजित रहने नै हो । हामी यसकै प्रयासमा हुनेछौं ।’

एपीएफको यो प्रदर्शन पुलिसका प्रशिक्षक भोलानाथ सिलवालका लागि खुसी हुने बहाना भयो । उनलाई के लागेको छ भने उपाधि होडमा पुलिसले एपीएफलाई बलियो चुनौती दिनेछ । सिलवालले खेलबारे प्रतिक्रिया दिए, ‘केही हदसम्म हामीभन्दा अगाडि एपीएफ अगाडि नै रह्यो । तर, हामीले अब आउने दिनहरूमा एपीएफको चुनौती काट्न सक्ने विश्वास बढेको छ ।’ उनले पुलिसको सबैभन्दा बलियो पक्ष भनेकै रक्षापंक्ति रहेको माने । पुलिसको आक्रमण भने त्यसको तुलनामा कमजोर नै छ ।

बराबरीको अर्थ के रह्यो भने दुवै टिमले एक–एक गोलमा चित्त बुझाए । यो बराबरी कस्तो रह्यो भने यसले प्रमाणित गरेको छ, नेपालको फुटबलमा पनि मैदानमा हेर्नलायक प्रतिस्पर्धा चल्ने गर्छ । नत्र कमजोर तयारी र प्रशिक्षणको अभावमा अधिकांश टिमको प्रदर्शन औसतभन्दा कमजोर नै रहेको देखियो ।

दिनको पहिलो खेल पनि बराबरीमै टुंगियो । एक–एक अंकमा चित्त बुझाउने टिम रहेका थिए चन्द्रपुर र कर्णाली । त्यस खेलमा कर्णालीले सातौं मिनेटमा सुनकला राईको गोलले अग्रता लिएको थियो । उनले पेनाल्टी एरियाको ठीकबाहिरबाट उचाइ दिएर गरेको प्रहार गोलमा परिणत भयो । तर, कर्णालीले यसलाई कायम राख्न सकेन ।

पहिलो हाफको इन्ज्युरी समयमा रजनी थोकरले चन्द्रपुरका लागि बराबरी गोल फर्काइन् । सेनु परियारले कर्णालीको डिफेन्सलाई तोडेर निकालेको पास रजनीले सजिलै पोस्टको दिशा दिइन् । दोस्रो हाफमा गोलको अवसर बनेनन् । चन्द्रपुरका सहायक प्रशिक्षक भोजराज घिमिरेले खेलपछि भने, ‘हाम्रो प्रदर्शन आसअनुसार रहेन । तर, हाम्रो लक्ष्य शीर्ष पाँचमा रहने नै हो ।’

उनले मध्यान्हको घाममा आफ्ना खेलाडीलाई स्वाभाविक खेल प्रदर्शन गर्न गाह्रो भएको दाबी गरे । कर्णालीका सहायक प्रशिक्षक गणेश खड्काको प्रतिक्रिया यस्तो रह्यो, ‘कर्णालीमा टर्फ पिच छैन । तर घाममा टर्फ पिचमा खेल्दा हाम्रा खेलाडीलाई गाह्रो भयो । तर पनि एक अंकमा सन्तुष्ट छौं । हाम्रो लक्ष्य शीर्ष पाँच रहने नै हो ।’

प्रकाशित : भाद्र १९, २०८१ ०६:१८
x
×