कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

ब्याट र बलबाट चम्किएका गुलशन

भाद्र १९, २०८१
ब्याट र बलबाट चम्किएका गुलशन

Highlights

  • पिपल्स च्वाइस अवार्डमा फुटबल, भलिबलसहित खेलाडीसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ — गत वर्ष राष्ट्रिय क्रिकेट टोलीका गुलशन झाको ब्याट र बल राम्रैसँग चम्किएको थियो । उनले १७ एकदिवसीय संरचनाका खेलमा ३ सय ३७ रन बनाए । त्यसमा उनको औसत २८ भन्दा र स्ट्राइक रेट ७७ भन्दा माथि थियो । बलिङमा उनी १० विकेट लिन सफल भए । 

एकदिवसीय विश्वकप छनोटमा अमेरिकाविरुद्ध जिम्बावेको हरारेमा ५२ रन खर्चेर ३ विकेट लिनु उनको उत्कृष्ट बलिङ थियो । गत वर्ष ट्वान्टी–२० अन्तर्राष्ट्रियका २५ खेलमा उनले ३ सय ४९ रन बनाएका थिए । उनको ब्याटिङ स्ट्राइक रेट १४० को नजिक रह्यो । प्रतिओभर ७ रनमुनि खर्चेर उनले १० विकेट लिएका थिए ।

अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न ट्वान्टी–२० विश्वकप १८ वर्षको उमेरमा खेलेर चर्चा बटुलेका गुलशन घरेलु क्रिकेट नेपाल पुलिस क्लबबाट खेल्छन् । तीन वर्षअघि नेपाल एपीएफ क्लबविरुद्ध प्रधानमन्त्री कप फाइनलमा ४ विकेट लिएर पुलिसलाई उपाधि दिलाएपछि उनी चर्चामा आएका थिए । लगत्तै उनले सन् २०२१ मा ओमानमा अमेरिकाविरुद्ध विश्वकप लिग २ मा खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए ।

मधेश प्रदेशका यी खेलाडीले गत वर्ष नै जिम्बावेमा भएको आईसीसी यू–१९ विश्वकप पनि खेलेका थिए । नेपाली क्रिकेटका यी प्रतिभा गत वर्ष निकै व्यस्त रहे । ट्वान्टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकासँग नेपाललाई अन्तिम बलमा २ रन चाहिन्थ्यो । अहिलेसम्म टेस्ट राष्ट्रलाई पराजित गर्न नसकेको अवस्थामा उपाधि दाबेदार दक्षिण अफ्रिकाविरुद्ध नेपाल ऐतिहासिक विजयको संघारमा थियो । गुलशनले अन्तिम बलमा आवश्यक रन बटुलेको भए नेपाली क्रिकेटले इतिहास रच्ने थियो । गुलशन स्वयं अहिले शिखरमा हुन्थे ।

तर, त्यही दक्षिण अफ्रिकासँगको खेललाई लिएर गुलशनको पूरा खेलजीवन विश्लेषण गर्नु भुल हुनेछ । गुलसन यस्ता खेलाडी हुन्, जो सधैं चर्चामा रहने गर्दछन् । गुलसनको एउटा त्यस्तो इनिङ्स थियो, जसले नेपाललाई पहिलो पटक एसिया कपमा पुर्‍याएको थियो । सोही कारण नेपालले भारत र पाकिस्तान जस्ता विश्वका शक्तिशाली क्रिकेट राष्ट्रसँग खेल्ने सपना पूरा गरेको थियो ।

उनै गुलशन अहिले पनि चर्चामा छन् । नेपाल खेलकुद पत्रकार मञ्चले भदौ २८ गते आयोजना गर्ने २१ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा छन् । एक वर्षको विश्रामपछि फेरि क्रिकेट खेलाडी यस विधाको मनोनयनमा परेका हुन् । उनले फुटबलकी प्रीति राई, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती विष्ट र रग्बीका श्रीराम श्रेष्ठसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

पिपल्स च्वाइस विजेताले पल्सर एनएस ४०० सिरिज मोटरसाइकल पाउनेछन् । गोल्छा ग्रुपले यो बाइक स्पोर्टस अवार्ड कार्यक्रम घोषणामा लञ्च गरेको थियो । मञ्चमा आवद्ध खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई–सेवाको भोटिङबाट पिपल्स च्वाइस विजेता छान्ने प्रावधान छ ।

मञ्चका सदस्य र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको समान १२.५ गरी २५ प्रतिशत मतभार रहनेछ । मञ्चको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट प्राप्त मत २५ प्रतिशत र ई–सेवाको मतभार ५० प्रतिशत रहने मञ्चले जनाएको छ ।

गुलशनको विशेषता स्तरीय अलराउन्डर हो । दाहिने हाते ब्याटिङ र देव्रेहाते बलिङले नेपाली टोलीमा उनको भूमिकालाई विशेष बनाएको छ । ब्याटिङमा त उनी ‘बिग म्याच’ का खेलाडी हुन् । गत वर्ष त्रिवि क्रिकेट मैदानमा नेपालले यूएईसँग एसीसी प्रिमियर कपको फाइनल खेल्दै थियो । विजेता एसिया कपमा पुग्थ्यो । अहिलेसम्म एसिया कप खेल्न नसकेको पृष्ठभूमिमा यूएईसँगको फाइनल नेपालले इतिहासकै ठूलोमध्ये एक खेल खेलिरहेको थियो ।

यूएईलाई ११७ रनमा अलआउट गरेर नेपालले आधा काम सकेको थियो । तर, ८ ओभरमा २२ रन बनाउँदा नेपालले ३ विकेट गुमाइसकेको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका गुलशनले नेपाली क्रिकेट इतिहासकै एक उत्कृष्ट इनिङ्स खेले । उनले ८४ बलमा ३ चौका र ६ छक्का प्रहार गरी अविजित ६७ रन बनाई भीम सार्कीसँग अविजित ९६ रन गरेपछि नेपाल यूएईलाई ७ विकेटले पराजित गरि एसिया कपमा पुग्न सफल भयो । एसिया कपमा उनले पाकिस्तानविरुद्ध १३ र भारतविरुद्ध २३ रन जोडेका थिए ।

गुलशनले अर्को ‘बिग इनिङ्स’ ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध कीर्तिपुरमै खेले । उनले २५ बलमै ५ चौका र ४ छक्कासहित ५४ रन बनाएपछि नेपालले ओमानलाई १ सय ८४ रनको लक्ष्य दिएको थियो । तर नेपाल सुपर ओभरमा पुगेर फाइनलमा ओमानसँग पराजित भएको थियो ।

टेस्ट मान्यताप्राप्त राष्ट्र आयरल्यान्डसँग गत वर्ष जिम्बावेको हरारेमा भएको एकदिवसीय विश्वकप खेल गुलशनको अझ विशेष थियो । उनले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गरि ५७ रन बनाएका थिए ।

प्रकाशित : भाद्र १९, २०८१ ०६:२२
x
×