कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मेडिकल कलेजस्तरीय खेलकुदको तयारी पूरा

भाद्र १५, २०८१
मेडिकल कलेजस्तरीय खेलकुदको तयारी पूरा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अन्तर मेडिकल कलेजस्तरीय खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । अन्तर मेडिकल कलेजस्तरीय खेलकुदको अन्तिम तयारी पूरा भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । 

खेलकुदका माध्यमबाट कर्णालीमा भइरहेको स्वास्थ्य, सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानका कार्यहरूको बारेमा जागरण फैलाउने हिसाबले अन्तर मेडिकल कलेजस्तरीय खेलकुदको आयोजना हुन लागेको हो ।

खेलकुद भदौ १६ देखि २१ गतेसम्म चल्ने आयोजकले जनाएका छन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि पहिलो पटक खेलकुद हुन लागेको उपकुलपति डा. मंगल रावलले जानकारी दिए ।

उनका अनुसार देशभरमा २७ मेडिकल कलेजलाई खेलकुद प्रतियोगितामा सामेल हुन पत्र पठाइएको भएपनि पाँच वटाले मात्र भाग लिने भएका हुन । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम, राजर्षिजनक विश्वविद्यालय जनकपुरधाम, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा, किस्ट मेडिकल कलेज ललितपुर र महाराजगन्ज चिकित्सा क्याम्पस, चिकित्साशात्र अध्ययन संस्थान महारजगञ्ज सहभागी हुने छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिने सेवा, कर्णालीको स्वास्थ्य अवस्था र कृषि पर्यटनलाई समेत यो खेलकुदले टेवा पुर्‍याउने प्रतिष्ठान खेलकुद समितिका संयोजक डा. विवेक पुनले जानकारी दिए ।

खेलकुदमा महिला पुरुष भलिबल, फुटबल, क्रिकेट, टेबल टेनिस, चेस, दौड, कविता र हाजिरी जवाफ लगायतका प्रतियोगिताहरू हुनेछन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

खेलकुदका माध्यमबाट कर्णालीको स्वास्थ्य चिनाउन आउने टिम मध्ये उत्कृष्टलाई प्रोत्साहनस्वरुप नगदसहित पुरस्कारको व्यवस्था गर्ने तयारी भइरहेको संयोजक पुनले बताए ।

अन्तर मेडिकल कलेजस्तरीय खेलकुदका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।

प्रकाशित : भाद्र १५, २०८१ ११:०७
x
×