कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

‘जेन जी’ खुसी पार्दै बंगलादेशको यात्रा

भाद्र ११, २०८१
‘जेन जी’ खुसी पार्दै बंगलादेशको यात्रा

Highlights

  • साफ यू–२० फुटबल च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशले घरेलु टोली नेपालसँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ — बंगलादेशमा आएको राजनीतिक परिवर्तनका संवाहक थिए, ‘जेन जी’ । अर्थात बंगलादेशका युवापुस्ता । तिनैलाई खुसी पार्ने जित निकाल्दै बंगलादेशले सोमबार साफ यू–२० फुटबल च्याम्पिनयसिपको फाइनल यात्रा तय गरेको छ ।

यसका लागि बंगलादेशले सेमिफाइनलमा हराएको टिम अरू कुनै नभएर भारत रह्यो । बंगलादेशको जित टाइब्रेकरमा सम्भव भएको हो । निर्धारित समयको खेल बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा पुगेको थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेल टुंगिएपछि मिडियासामु प्रस्तुत हुँदै बंगलादेशका प्रशिक्षक मरुफुल हकले भने, ‘भारतलाई हराएर बंगलादेश फाइनल पुगेको समाचारले जेन जी असाध्यै खुसी भएको जानकारी पाएको छु ।’ निर्धारित ९० मिनेटको खेलमा बंगलादेश दबाबमा रहे पनि पेनाल्टी शुटआउटमा भने यही टिम बलियो देखियो । यसका नायक रहे, बंगलादेशका दोस्रो रोजाइका गोलरक्षक मोहम्मद आसिफ ।

उनले भारतका दुई पेनाल्टी प्रहारको सही अनुमान लगाए र त्यसलाई गोल हुन दिएनन् । उनले सुरुमा ताङलालसोन गाङ्टेको प्रहार रोके । त्यसपछि पाँचौं प्रहारमा आकाश टिर्केको प्रहारलाई गोल हुन दिएनन् । यसबीच परमवीर, ग्वामस्वायर गोयरी र मन्जोतसिंह परमरले भने गोल गरेका थिए । बंगलादेशका लागि पेनाल्टी प्रहारमा ओर्लेका चारै खेलाडीले गोल गरेका थिए । उनीहरू थिए मोहम्मद पिसा, मोहम्मद मोनिमुल, मोहम्मद सकिल र मोहम्मह असरफुल ।

बंगलादेशका पहिलो रोजाइका गोलरक्षक मेहदी हुसेन घाइते भएर ६९ औं मिनेटमा मैदान छाड्न बाध्य रहे । उनको स्थानमा आसिफले खेलेका थिए । अन्ततः उनी नै निर्णायक खेलाडी साबित भए । निर्धारित समयको अन्त्यमा बंगलादेश १० खेलाडीमा समेटिएको थियो । टोलीका कामासाई मार्मा दोस्रो पहेँलो कार्ड पाए मैदान छाड्न बाध्य रहे । तर, भारतीय टिम यसको फाइदा लिन असफल रह्यो । भारतले पूरा खेल अवधिमा आक्रमणको शृंखला त बन्न सक्यो, तर ती निर्णायक हुन सकेन ।

‘खेलमा राम्रो प्रदर्शन गरेको भनेको भारतले नै हो । तर, जित हाम्रो रह्यो । त्यसैले म आफ्ना खेलाडीलाई बधाई दिन चाहन्छु । सायद नेपाल भूमि बंगलादेशी फुटबलका लागि भाग्यमानी साबित छ,’ प्रशिक्षक हकले भने, ‘अब हाम्रो ध्यान फाइनलमा केन्द्रित हुनुपर्नेछ ।’

फाइनलमा बंगलादेशले नेपालको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा नेपालले पनि भुटानलाई टाइब्रेकरमै पराजित गरेको थियो । फाइनल बुधबार हुनेछ । त्यो सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै हुनेछ ।

एउटा खराब दिन

भारतीय प्रशिक्षक रञ्जन चौधरीले भने आफ्नो टिमका लागि एउटा खराब दिन साबित भएको दाबी गरे । उनले भने, ‘जसले यो खेल हेरेको छ, तिनलाई पनि लाग्नेछ, खेलमा राम्रो टिम भारत नै थियो । तर यही टिम पराजित रह्यो । फुटबलमा यस्तो हुने गर्छ । म आफ्ना खेलाडीको प्रदर्शनमा खुसी छ । भारतले लगातार आक्रमण बुन्न सक्यो । यो हाम्रा लागि खुसीको उपलब्धि हो ।’

दक्षिण एसियाली फुटबलको पुरुष फुटबलमा लामो समययता पहिलो पटक भारतीय टिम हुने छैन । यही प्रतियोगितामा भारत दुईपल्टको च्याम्पियन हो । यसपल्ट भारतले यो प्रतियोगिताको उपाधि रक्षा गर्न सकेन । पूरा प्रतियोगितामा भारत गोलका लागि संघर्षरत रह्यो । यो नै टिम सेमिफाइनलमा रोकिनुको प्रमुख कारण रह्यो । प्रशिक्षक चौधरीले प्रतियोगिताका लागि प्रयोग भएको सातदोबाटोस्थित एन्फा मैदानमा आलोचना गरे ।

उनले भने, ‘यो हारका लागि कुनै गुनासो होइन, तर मैदान निकै खराब थियो । सायद अर्को मैदानमा खेलेको भए हाम्रो प्रदर्शन राम्रो हुन सक्थ्यो । टिमले गोलका लागि अझ मिहिनेत गर्नुपर्नेमा कुनै दुईमत रहने छैन । यो हारलाई लिएर धेरै चिन्ता लिनुपर्दैन ।’ उनले दक्षिण एसियाली फुटबलमा भारत कमजोर भएको मानेनन् । अन्य देशले पनि प्रगति गरेको भने उनले स्वीकारे ।

भारतले खाएको पहिलो गोल

निर्धारित समयको खेल बराबरीमा टुंगिएको थियो । यससँगै प्रतिस्पर्धा सिधै पेनाल्टी शुटआउटमा प्रवेश गरेको हो । बंगलादेशले ३६ औं मिनेटमा अग्रता लियो । राबी हुसेनको प्रहार भारतीय गोलरक्षक प्रियान्स दुबेले राम्रोसँग क्लियर गर्न सकेनन् । त्यसमै फर्केको बलमा असदुल मोल्लाले गोल गरे । यो भारतले प्रतियोगितामा खाएको पहिलो गोल रह्यो । अन्ततः यसले नै भारतलाई स्तब्ध पार्न पर्याप्त रह्यो ।

लिग चरणका दुवै खेलमा भारतले क्लिनसिट राखेको थियो । भारतले ७५ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । कप्तान गोयरीले शक्तिशाली प्रहारमा गोल गरेका हुन् । नियमित गोलरक्षक हुसेन चोट बोक्दै बाहिरिएपछि त्यसको तत्काल प्रभाव खेलमा देखिएको थियो । बंगलादेश केही असहज परिस्थितिमा परेको थियो । त्यसकै फाइदा उठाएर गोयरीले गोल गरे ।

यो प्रतियोगितामा भारतले गरेको तीन खेलमा तेस्रो गोलमात्रै रह्यो । बंगलादेश यस प्रतियोगिता फाइनल पुगेको यो चौथोपल्ट हो । सन् २०२२ को संस्करणको फाइनलमा बंगलादेश भारतकै हातबाट पराजित भएको थियो, त्यो पनि टाइब्रेकरमा । बंगलादेश अहिले त्यसको बदला लिन सफल भएको छ । तर, बंगलादेशले अहिलेसम्म यो प्रतियोगिता जित्न सकेको भने छैन ।

प्रकाशित : भाद्र ११, २०८१ ०६:०१
x
×