कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चर्च ब्वाइजलाई उपाधि

श्रावण ३१, २०७४
चर्च ब्वाइजलाई उपाधि

ताप्लेजुङ — चर्च ब्वाइज क्लब, काठमाडौंले सोमबार पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । उसले सगरमाथा युथ क्लब, मोरङलाई ३–० ले पराजित गर्‍यो । चर्च ब्वाइजका जाङबु शेर्पाले १२, राज पौडेलले १९ र राजकुमार कन्दङवाले ४९ औं मिनेटमा गोल गरे ।

सगरमाथाका मनोज राई खेलको म्यान अफ द म्याच घोषित भए । विजेता टिमले २ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पार्‍यो भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका वर्षात गुरुङ तथा हाइस्कोरर राज पौडेल र सगरमाथाका तीर्थ बस्नेत भए । उनीहरूले समान ३/३ गोल गरे । उत्कृष्ट गोलकिपरमा चर्च ब्वाइजका दीपेश यादव, डिफेन्डरमा सञ्जीव कार्की, मिडफिल्डरमा जाङबु शेर्पा, फरवार्डमा राज पौडेल र प्रशिक्षकमा रुविन राई घोषित भए भने उदीयमान खेलाडी नवप्रयास युथ क्लब, ताप्लेजुङका सुनील नाल्बो भए । विजयी खेलाडीलाई जिल्ला समन्वय समितिका संयोजक घनेन्द्र मादेनलगायतले कप, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । सर्वोत्कृष्ट खेलाडी र हाइस्कोररले क्रमश: १० र ७ हजार तथा बाँकीले समान ५/५ हजार रुपैयाँ हात पारे ।

वर्षाका कारण केही खेल प्रभावित भए पनि उद्घाटन र फाइनलमा मौसम राम्रो भएकाले दर्शकले भरपूर मनोरञ्जन लिए । उनीहरू टिकट काटेर खेल हेर्न आएका थिए । लाखेजात्राको अवसरमा २०२९ सालदेखि लगातार हुँदै आएको प्रतियोगितामा १० टिम सहभागी थिए ।

प्रकाशित : श्रावण ३१, २०७४ ०८:२१
×