कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘फेरि फिनाकै नियम’

श्रावण ३१, २०७४
‘फेरि फिनाकै नियम’

Highlights

  • राष्ट्रिय पौडी विवाद

काठमाडौं — अघिल्लो दिन एक खेलाडीले बढीमा व्यक्तिगत चार स्पर्धामा मात्र सहभागी हुन पाउने नयाँ नियम लागू गर्ने घोषणा गरेको नेपाल पौडी संघले फेरि सबै स्पर्धामा खेल्न पाउने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय पौडी संघ (फिना) कै नियमानुसार प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरिएको उल्लेख गर्दै संघका अध्यक्ष अशोक वज्राचार्यले भने, ‘संघको कार्यसमिति र आयोजक समितिको संयुक्त बैठकले सोमबार फिनाकै नियमानुसार प्रतियोगितामा एउटा खेलाडीले जति पनि स्पर्धामा सहभागी हुन पाउने नियमलाई निरन्तरता दिने निर्णय गरेको छ । द्वन्द्व भयो भने त्यसले खेल बिगार्छ । त्यसैले विगतको नियमलाई नै निरन्तरता दिएर अगाडि बढ्न लागिएको हो ।’

आइतबार पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक गीता राणाले ‘प्रतियोगितामा समावेशीका लागि एक खेलाडीले चार स्पर्धासम्म मात्र प्रतिस्पर्धा गर्न पाउने नियम ल्याएको’ बताएकी थिइन् । त्यसबारे संघका महासचिव जगतमान श्रेष्ठले ‘समयको माग’ भएको दाबी गरेका थिए । संघभित्रकै केही पदाधिकारीले भने नियतवश खेलाडीलाई निरुत्साहित गर्न ‘रातारात नयाँ नियम लाद्न खोजिएको’ भनेका थिए ।

विश्व पौडीको सर्वोच्च संस्था फिनाले पौडी प्रतियोगिता र संघलाई नियमन गर्छ । फिनाको नियमअनुसार विश्व च्याम्पियनसिप, ओलम्पिकदेखि कुनै पनि प्रतियोगितामा सहभागी खेलाडीले जति पनि स्पर्धामा खेल्न पाउँछ । वज्राचार्यले भने, ‘मैले जिन्दगी खेलकुदमा बिताएँ, कुनै पनि खेलाडीलाई रोक्नुहँुदैन भन्ने लाग्छ ।’

प्राविधिक समितिको प्रतिवेदनमाथि छलफल गरी नियमबारे कार्यसमितिले निर्णय लिएको उनले जनाए । स्रोतका अनुसार राजेश वज्राचार्य संयोजक तथा ईश्वर कार्की, ओङदेन लामा, नरेश वैद्य र विष्णु खडका सदस्य रहेको प्राविधिक समितिले आयोजकलाई फिनाकै नियमअनुसार प्रतियोगिता सञ्चालन गर्नुपर्ने प्रतिवेदन आयोजक र कार्यसमितिलाई बुझाएको थियो ।

थपियो स्पर्धा
नियम ‘संशोधन’ सँगै संघको बैठकले भदौ १ र २ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा हुने राष्ट्रिय प्रतियोगितामा २९ स्पर्धा समावेश गर्ने निर्णय पनि गर्‍यो । अघिल्लो दिन संघले जारी गरेको विज्ञप्तिमा २१ स्पर्धामात्र उल्लेख थियो र त्यसमा गौरिका सिंहले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजतपदक जितेको २ सय मिटर इन्डिभिज्युअल मिड्ले र कांस्य हात पारेको ४ सय मिटर फ्रिस्टाइल समावेश गरिएको थिएन । दक्षिण एसियाली खेलकुदमा पौडीको इतिहासमा व्यक्तिगत स्पर्धामा पदक हात पार्ने पहिलो र एकमात्र खेलाडी गौरिकाले १२ औं सागमा १ सय र २ सय मिटर ब्याकस्ट्रोकमा कांस्यपदक जितेकी थिइन् । ब्राजिलमा गत वर्ष भएको रियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी रहेकी उनी राष्ट्रिय पौडीमा आर्मीबाट खेल्दैछिन् ।

अध्यक्ष वज्राचार्यका अनुसार अब राष्ट्रिय पौडीमा पुरुष र महिला दुवैमा फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक र बटरफ्लाईमा ३–३ स्पर्धा (५०, १ सय र २ सय मिटर) मा प्रतिस्पर्धा हुनेछ । त्यस्तै दुवैमा २ सय मिटर इन्डिभिज्युअल मिड्ले र चार गुणा १ सय मिटर रिले (फ्रिस्टाइल) पनि समावेश गरिएको छ । चार गुणा १ सय मिटर फ्रिस्टाइल रिलेको मिक्स इभेन्ट पनि हुनेछ । बैठकले एक स्पर्धामा चार खेलाडीभन्दा कम प्रतिस्पर्धी भए स्पर्धा सञ्चालन नगर्ने निर्णय पनि गर्‍यो ।

प्रकाशित : श्रावण ३१, २०७४ ०८:२२
×