कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘समन्वय नगरे १३ औं साग हुन्न’

श्रावण ३०, २०७४

काठमाडौं — अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आफ्नो कमिटीले समन्वय गर्न पाएन भने १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना नेपालमा हुन नसक्ने बताएका छन् ।

व्यवस्थापिका संसद्को युवा तथा खेलकुद उपसमितिमा बोल्दै आइतबार एनओसी अध्यक्ष श्रेष्ठले भने, ‘१३ औं सागबारे निर्णय गर्ने अधिकार एनओसीलाई मात्र छ । अरूले गर्न सक्दैन । 

एनओसीले स्वतन्त्रपूर्वक काम गर्न नपाउने हो भने काम अगाडि बढाउन सकिन्न । हामीले समन्वय गर्न पाएनौं भने १३ औं साग नेपालमा हुन्न ।’ सरकारले आयोजना गर्ने निर्णय गरेर पनि पूर्वाधार निर्माण कार्य अगाडि नबढाएको उनले गुनासो गरे । श्रेष्ठ नेतृत्वको सातदोबाटोस्थित एनओसी कार्यालय सर्वोच्च अदालतले ब्युँताएको रुक्मशमशेर राणा समूहले कब्जा गरेको छ । 

नेपाली खेलकुदको अन्तर्राष्ट्रिय सहभागितालगायत काम भने श्रेष्ठ नेतृत्वको एनओसीले गरिरहेको छ भने राणा समूह स्वदेशमै पनि अस्तित्वको लडाइँमा छ । यी दुई समूहबीच सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । 

प्रकाशित : श्रावण ३०, २०७४ ०७:४०
×