कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

उर्लँदो भेलबाट दाउरा संकलन

आश्विन ३, २०८१
उर्लँदो भेलबाट दाउरा संकलन

Highlights

  • दाउरा संकलन गर्दा बर्सेनि दोहोरिन्छन मृत्यु र बेपत्ताका घटना

कञ्चनपुर — न लाइफ ज्याकेछ । न त अन्य कुनै सुरक्षाका साधन । हावा भरेको ट्यूबको भरमा महाकालीको उर्लँदो भेलमा दाउरा संकलन गर्नु कम्ती जोखिम छैन । तर यस्तै जोखिम मोलेर भीमदत्त नगरपालिका-१२ ओदालीका मनोज राना साथीभाईसँगै महाकालीमा हाम फाल्छन् । उर्लँदो भेलले बगाएर ल्याएका साना ठूला काठका टुक्रा संकलन गर्छन् । 

शारदा ब्यारेजको बनबासा पुलभन्दा केही तलबाट बग्दै महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसम्मै पुगेर राना दाउरा संकलन गर्छन् । यसरी दाउरा संकलन गर्दा जोखिम पनि निकै बढी हुने गरेको छ ।

‘डर त धेरै लाग्छ, जोखिम पनि धेरै छ,’ महाकालीमा ट्यूबबाट दाउरा निकाल्दै गरेका रानाले भने, ‘यस्तो गर्न नसके के गर्नु, खाना के ले पकाउनु, रोजगारी केही छैन, ग्यास किन्न सकिदैन ।’ उनले अलिअलि दाउरा बिक्री गरेर नुन तेलको जोहो पनि हुने गरेको बताए ।

महाकालीमा बाढी घटेका बेला ट्यूबमा नदीमै गएर दाउरा निकालिन्छ भने बाढी आएका बेला किनारबाटै निकल्ने गरेका छन्। लामो काठको डण्डीमा तारको हुकजस्तै बाँधेर दाउरालाई तान्ने गरिन्छ । त्यतिबेला नदी किनारमा दाउरा संकलन गर्नेको भीड नै लाग्ने गरेको छ ।

यसरी दाउरा तान्ने क्रममा बर्सेनि संकलन गर्नेहरु बग्ने पनि गरेका छन् । गत शुक्रबार पनि नदीमा २ जना बगे । एक जनाको शव भेटियो भने एकजना अझै बेपत्ता छन् । नदीमै गएर दाउरा संकलन गर्दा ट्यूबको हावा निस्केर पनि जोखिम हुने गर्दछ । तर तीन/चार वटा ट्यूबमा ५/७ जनासंगै जाने गरेको ओदालीकै सुरेश राना बताउँछन् ।

‘हामी सबैजना समुहमै जान्छौं, एउटा ट्यूब केही भइहाल्यो भने अर्को पनि नजिकैसंगै हुन्छ,’ उनले भने, ‘नजिकमा जंगल छैन, दाउरा कहाँबाट दाउरा ल्याउनु ?’ महाकाली किनारमा बसोबास गर्नेहरुले दाउराको जोहो बर्खायाममा बाढीबाटै गर्छन् । यसरी दाउरा निकाल्दा बर्सेनि एक/दुई जनाको ज्यान पनि जाने गरेको छ ।


दाउरा संकलन मात्रै होइन, ज्यान जोखिममा हालेर माछा मार्ने काम पनि स्थानीयले गर्छन् । यसरी माछा मार्दा पनि ज्यानै जाने घटना भइरहेका छन् । असार अन्तिम साताको बाढीका बेला पनि एक जनाको मृत्यु भएको थियो । दाउरा संकलन र माछा मार्ने क्रममा बर्सेनि नदीमा बगेर ज्यान जाने घटना भइरहेका हुन्छन् । तर पनि रोकथामका लागि भने कुनै प्रयास हुने गरेको छैन ।

ठूलो बाढी आएका बेला नदीतर्फ जान रोक्नुपर्ने स्थानीय बताउँछन् । ‘सानो दाउराको लोभमा ज्यानै जाने घटना भइरहेका छन्,’ स्थानीय रतन सिंह रानाले भने, ‘ठूलो बाढी आएका बेला नदी किनारमा जान दिनु हुदैन ।’ बाढीका बेला स–साना बालबालिका समेत दाउरा संकलनका लागि जाने गरेका छन् ।

अहिले पनि महाकाली नदीमा दाउरा संकलन गर्न तथा नुहाउन स–साना बालबालिकाहरु गइरहेका छन् । उनीहरुलाई नदीमा जान रोक्नुपर्ने रानाले बताए । सम्बन्धित परिवार, स्थानीय र सुरक्षाकर्मीले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

प्रकाशित : आश्विन ३, २०८१ १४:४६
×