कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

बझाङमा डेढ सातादेखि यातायात, संचार, विद्युत् न खानेपानी

आश्विन २, २०८१
बझाङमा डेढ सातादेखि यातायात, संचार, विद्युत् न खानेपानी

बझाङ — वर्षातसँगैको पहिरोका कारण डेढ साताअघि अवरुद्ध भएको बझाङको यातायात, संचार, विद्युत् र खानेपानी सेवा अझै पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन । अत्यावश्यक सेवाहरु अवरुद्ध हुँदा जिल्लावासीले सास्ती व्यहोर्नु परेको छ ।

छविस पाथीभेरा गाउँपालिकाअन्तर्गत पर्ने जयपृथ्वी राजमार्गको बालुवाटारमा खसेको पहिरो साता दिनसम्म पनि हटाउन नसक्दा अन्य जिल्लालाई जोड्ने एकमात्र राजमार्ग अवरुद्ध छ । अघिल्लो साताभरि छविस पाथीभेराकै जालेबगरको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध हुँदा आठ/दस घण्टामा पुगिने बझाङ–धनगढीको यात्रा दुई दिन लाग्ने गरेको यात्रुको गुनासो छ । ‘बिहान ६ बजे हिँडे साँझ ५ बजे पुगिन्थ्यो । यसपालिका ठ्याक्कै दुई दिन लाग्यो,’ एक यात्रु लक्ष्मी बोहराले भनिन्, ‘आठ महिनाकी छोरी, सामानको झोला बोकेर ठाउँ ठाउँमा हिँड्नु पर्‍यो । यस्तो दु:ख कहिल्यै पाइएको थिएन ।’ भदौ २५ गतेदेखिको वर्षाले पहिरो खसेका कारण सडक, बिजुली र टेलिफोन सेवा अवरुद्ध भएको हो ।

सडक खुलाउनका लागि जिल्ला प्रशासन कार्यालयलगायत सुरक्षा निकायहरुले निरन्तर पहल गरिरहे पनि डिभिजन सडक कार्यालयले बेवास्ता गरेका कारण थप समस्या भएको अधिकारीहरुले बताएका छन् । ‘डिभिजन सडक कार्यालयलाई भन्दा वास्ता नगरेपछि सडक विभागका महानिर्देशकलाई पनि फोन गर्‍यौं,’ बझाङकी निमित्त प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले भनिन्, ‘डोजर भेटिए तेल छैन भन्छन् । तेल भेटिए चालक भेटिँदैन । जिम्मेवार निकायले बेवास्ता गर्दा जनताले सास्ती पाइरहेका छन् ।’ स्थानीय ठेकेदार कम्पनीको डोजरलाई अनुरोध गरेर सोमबार केहीबेर सडक खुलाएको उनले बताइन् । डिभिजन कार्यालयको डोजरलाई पहिरोस्थलमा खट्न भने पनि त्यसअनुसार काम नगरेको उनले बताइन् ।

यस्तै पहिरोका कारण फाइवर नेटवर्कमा क्षति पुगेर अवरुद्ध भएको नेपाल टेलिकमको संचार सेवा पनि दुई सातादेखि चल्न सकेको छैन । बझाङको वित्थड, मालुमेलालगायत ठाउँमा फाइबर नेटवर्कमा क्षति भएको टेलिकमले जनाएको छ । टेलिकमको मोबाइलमा फोन नलाग्ने र इन्टरनेट पनि नचल्ने समस्या हुँदा जिल्लाभित्रको सम्पर्क बिच्छेद जस्तै भएको छ । सीमित नेटवर्क र सीमित संख्यामा प्रयोगकर्ता रहेको एनसेलको नेटर्वकले भने आशिंक रुपमा काम गरिरहेको छ ।

टेलिकमको सेवा अवरुद्ध हुँदा सिंगो जिल्लानै सञ्चारविहीन भएकोले तत्काल मर्मतको लागि ताकेता गर्दा पनि सुनुवाइ नभएको प्रजिअ जोशीले बताइन् । ‘नेपाल टेलिकमको विषयमा चैनपुर, डडेलधुरा र धनगढीस्थित कार्यालयमा पत्राचार तथा फोनबाट कुरा गर्दा पनि समस्या समाधान नभएपछि सञ्चार सचिवज्यूलाई फोनमा यस बारेमा अनुरोध गरिएको छ,’ उनले भनिन्, ‘यो समस्याबारे नेपाल दूरसञ्चार प्राधिकरणमा पनि सन्देश पठाइएको भए पनि सम्बोधन भएको छैन ।’

गत बुधबार रातिदेखि अवरुद्ध विद्युत् सेवा सोमबार सुचारु भए पनि मंगलबारबाट फेरि अवरुद्ध भएको छ । बैतडीको भालुमारे क्षेत्रमा प्रसारण लाइनमा आएको गडबडीका कारण विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बझाङ वितरण केन्द्रका प्रमुख सुजन खड्काले बताए । पटक-पटक विद्युत् अवरुद्ध हुँदा बझाङ सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार हुन थालेको छ । खानेपानीको अभावमा सदरमुकामवासीले सेती नदी र बाहुली खोलाको दूषित पानी पिउन बाध्य भैरहेका छन् । यस्तै बालुवाटारको पहिरोले खानेपानीको पाइप बगाउँदा छविस पाथीभेरा–१ सुगाला बस्तीमा खानेपानी अभाव देखिएको छ ।

खानेपानी, विद्युत्, संचार, यातायातजस्ता अत्यावश्यक सेवाहरु लामो समयसम्म सुचारु नहुँदा स्थानीयलाई सास्ती भएको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्रसमेत बुझाएको छ । ‘लामो समयसम्म जिल्लाको लाइफलाइनको रुपमा रहेको सडक अवरुद्ध हुनु विद्युत्, संचार, खानेपानीजस्ता अत्यावश्यक सेवा प्रवाह रोकिँदा स्थानीयले ठूलो सास्ती खेप्नु परेको छ,’ मञ्चका अध्यक्ष दलबहादुर धामीले भने, ‘यत्रो समस्या भैसक्दा पनि समाधानको पहल नगरेकोले ध्यानाकर्षणपत्र बुझाएका हौं ।’ उनले लामो समयसम्म सडक र संचार सेवा अवरुद्ध हुँदा पनि मर्मतको पहल नगर्ने जिम्मेवार अधिकारीलाई कारबाही गर्नुपर्ने बताए ।

प्रकाशित : आश्विन २, २०८१ १८:०४
x
×