कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

‘डाडू पुन्यू तेरा हात, न खा भन्न्या को छ ?’ : भीम रावल

भाद्र २५, २०८१
‘डाडू पुन्यू तेरा हात, न खा भन्न्या को छ ?’ : भीम रावल

अछाम — गृहजिल्ला अछाम आएका नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले सेती लोकमार्ग, बयालपाटा अस्पतालजस्ता ठूला योजनालाई सरकार र सत्तामा रहेका प्रभावशाली व्यक्तिहरूले बेवास्ता गरेको आरोप लगाएका छन् ।

मंगलबार साँफेबगरमा प्रेस चौतारी नेपाल अछामले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले डाडू पन्यू सम्हालेका व्यक्तिले आफ्नो जिल्लामा गत आवमा ८ अर्बसम्म निकासा गरेको तर सुदूरपश्चिम र अछामलाई नहेरेको बताए । ‘हाम्रो यता गीत गाउँछन् नि, डाडू पुन्यू तेरा हात, न खा भन्न्या को छ ?,’ राजनीतिक दलका ठूला नेताहरूप्रति लक्षित गर्दै उनले भने, ‘प्रभावशाली नेताहरूले डाडू पुन्यू मेरा हात, मै मात्रै खाँदो छु जस्तो गरेका छन् ।’

आफू अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य भएका बेला बयालपाटा अस्पतालका लागि स्वास्थ्य मन्त्रालयबाट ५ करोड, सुदूरपश्चिम प्रदेश सरकारबाट ७ करोड बजेट छुट्याएको दाबी पनि उनले गरे । ‘निःशुल्क सेवा दिइरहेको बयालपाटा अस्पताललाई अहिले बजेट दिनै नमिल्ने कस्तो तन्त्र आयो ? दिनै नमिल्ने हो भने पनि ऐन ल्याएर पनि दिन पर्‍यो,’ उनले भने ।

गेटा शिक्षण अस्पतालका रूपमा अगाडि बढाउनु पर्छ भन्ने मान्यता आफूले पहिल्यैदेखि राख्दै आएको उनले बताए । सरकारको विभेदपूर्ण निर्णयका विरुद्ध आफू आन्दोलित जनतासँगै जाने उनको भनाइ छ ।


ओली निकट नेता–कार्यकर्ता भेट्दैनन् रावललाई

एमालेको दसौं महाधिवेशनमा केपी शर्मा ओलीसँगै अध्यक्ष पदका लागि चुनाव लडेर पराजित भएका रावललाई गृहजिल्ला अछामा ओलीनिकट नेता–कार्यकर्ताले भेटघाट गर्न छोडेका छन् । एमालेको भ्रातृ संगठन प्रेस चौतारी नेपालले नै नेता रावलसँग भेटघाटको कार्यक्रम राखे पनि नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहराले पार्टीको औपचारिक कार्यक्रम हालसम्म जिल्लामा नभएको बताए ।

सोमबार साँफेबगरको एक कार्यक्रममा गए पनि नेता रावल साँफेबगर आउनेबारे कुनै जानकारी नपाएको उनले बताए । ‘रावल कमरेड अछाम आउँदै हुनुहुन्छ, कहिले आउनुहुन्छ, कतिबेला, कहाँ आउनु हुन्छ भन्नेबारे एमाले अछामलाई कुनै आधिकारिक जानकारी छैन,’ बोहराले भने, ‘रावल सर धनगढी विमानस्थलमा आउनु भएको, जिल्लामा एक संस्थाले गर्ने कार्यक्रमका लागि आउनु भएको सामाजिक संजालमै देखेको हुँ । उहाँसँग अहिलेसम्म मेरो कुनै संवाद भएको छैन ।’

फरक कार्यक्रमका लागि साँफेबगरमा गएको र कार्यक्रम सकिएपछि मंगलसेन फर्केको कुरालाई अतिरञ्जित बनाएको उनको भनाइ छ । ‘जुन प्रयोजनका लागि गइएको हो, त्यो कार्यक्रम सकिएपछि आइयो । त्यता बसिएन । उहाँ आउनेबारे जानकारी थिएन । रावल कमरेडहरूका बारेमा चिन्ता गर्नेहरूले पहिले रावल कमरेड एमालेमा हुनुहुन्छ । उहाँहरूले यही पार्टीमा आउनु पर्‍यो,’ बोहराले भने, ‘कमरेड रावल कम्युनिस्ट पार्टी र एमालेको अभिभावक हुनुहुन्छ । उहाँको भूमिकालाई अवमूल्यन गर्नु हुँदैन । उहाँलाई निषेध गरेको होइन । हामीले नेता मानेकै छौं । अभिभावक मानेकै छौं ।’

एमाले अछामको गत अधिवेशनको कार्यक्रममा कांग्रेस, माओवादीका नेताहरूलाई कार्यक्रममा बोलाइएको तर आफूलाई कुनै जानकारी नदिएको बारेमा समेत नेता रावलले आपत्ति जनाएका थिए । ‘म नेकपा एमालेको प्रतिनिधि परिषद् सदस्य त हुँ नि ? मलाई त्यसबाट निकालिइएको हो भने पनि अहिलेसम्म मैले पत्र प्राप्त गरेको छैन,’ नेता भीम रावलले भने, ‘म आएको कार्यक्रममा आउनै नहुने, मैले छोएको धाराको पानीसमेत खानै नहुने यस्तो खालको प्रवृत्ति देख्दा अचम्मित छु ।’

पार्टी विधान अनुसार चल्नुपर्छ भन्ने मत राखेकै कारण आफूलाई कारबाही गरिन्छ भने त्यो गरेर देखाउन उनले चुनौती दिए । ‘पार्टीले चुनौतीको सामना गरे त्यसपछिको कदम म चालौँला,’ नेता रावलले भने ।

ओली निकट एमाले अछामका अध्यक्ष बोहराले भने नेता रावल पार्टीको कुनै जिम्मेवारीमा नभएकाले उक्त कार्यक्रममा नबोलाइएको बताए । ‘उहाँ अध्यक्षमा पराजित हुनुभयो । सल्लाहकार परिषद्को सदस्यको शपथ लिनु भएको छैन । पोर्टफोलियो त विधानले बनाएको छ । प्रमुख अतिथि अरु बनाउँदा रावल सर अरुको मातहतमा बस्नु हुन्छ कि भन्ने पनि थाहा भएन,’ बोहराले भने, ‘कार्यक्रममा कुन पोर्टफोलियो भएकोलाई प्रमुख अतिथि बनाउने भन्ने विधान एमालेको सर्वोच्च निकायले बनाएको हो । जिल्लाले बनाएको होइन ।’

प्रकाशित : भाद्र २५, २०८१ १८:४५
×