कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

जापानिज इन्सेफलाइटिस फैलिन नदिन कैलालीमा ‘हाइ अलर्ट’

भाद्र १९, २०८१
जापानिज इन्सेफलाइटिस फैलिन नदिन कैलालीमा ‘हाइ अलर्ट’

धनगढी — कैलालीमा जापनिज इन्सेफलाइटिसबाट अघि दुई जनाको मृत्यु भएपछि स्वास्थ्यका निकायहरुले थप फैलिन नदिन स्वास्थ्य निकायले ‘हाई अलर्ट’ भएर नियन्त्रणका प्रयास सुरु गरिसकेको बताएका छन् । 

दुई दिनअघि कैलालीको घोडाघोडी नगरपालिका–५ का ९ वर्षीय सोही नगरपालिका ६ का ६० वर्षीय पुरुषको मृत्यु भएको थियो । कैलालीकै गौरीगङ्गा नगरपालिका, गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकामा गरी थप चार जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

‘ढिलो जानकारी हुन आएकोले समस्या भएको हो । नियन्त्रणका प्रयास सुरु गरिसकेका छौं,’ निमित्त निर्देशक डा. खगेन्द्र बमले भने ‘खोपको पहुँच बढाउने, तत्काल प्रभावकारी उपचार व्यवस्था मिलाउने र सचेतना अभिवृद्धि गर्ने योजना अघि बढाएका छौं ।’ संक्रमण देखिएको पाँच सय मिटर वरिपरिका १ वर्षभन्दा माथिका सबैलाई खोप लगाउने योजना बनेको उनले बताए ।

प्रदेश र स्थानीय तहअन्तर्गतका स्वास्थ्य संरचना, प्रयोगशाला, जिल्ला प्रशासन, भेटनरी कार्यालयले संयुक्त योजना बनाएर अघि बढेको डा. बमको भनाइ छ । विद्यालयमा पनि सचेतनाका कार्यक्रम चलाउन थालिएको उनले बताए । असोज मध्यसम्म जोखिम रहेको बताउँदै डा. बमले असोज मध्यसम्म अवधिमा जोखिम रहने उनले बताए । ‘सबै निकाय हाई अलर्टमा बसेका छौं,’ निमित्त निर्देशक बमले भने ‘पछिल्लो समय हामी डेंगीुमा फोकस भयौं, तर एकाएक जापानिज इन्सेफलाइटिस् देखियो ।’

क्युलेस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यो । टाउको दुख्ने ज्वरो आउने लक्षण भएकाहरूलाई तत्काल अस्पतालमा जाँच गर्ने व्यवस्था मिलाउन लागिएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित : भाद्र १९, २०८१ ०८:२०
x
×