कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

केदारनाथ क्षेत्रमा बर्सेनि पहिरोमा ज्यान गुमाउँछन् नेपाली कामदार

भाद्र १६, २०८१
केदारनाथ क्षेत्रमा बर्सेनि पहिरोमा ज्यान गुमाउँछन् नेपाली कामदार

Highlights

  • टहरा बनाएर बास बस्दा पनि ज्यानकै जोखिम

कञ्चनपुर — गत साता भारत उत्तराखण्डको केदारनाथ नजिकै फाँटा हेलिप्याड भन्ने ठाउँमा पहिरो जाँदा ४ जना नेपाली कामदारको मृत्यु भयो । पहिरोमा चितवनको माडीका ३ र दैलेखका १ जनाको मृत्यु भएको हो ।

चितवनका तीनै जनाको शव नेपालमै ल्याएर अन्तिम संस्कार गरियो भने दैलेख घर भएकाको भारतमै अन्तिम संस्कार गरियो । सानो नालासँगै जोडिएको सडक छेउमै छाप्रो बनाएर बसिरहेका उनीहरू फाँटा क्षेत्रमा डकर्मीको काम गर्थे । मध्यरातमा पहिरोले टहरासँगै चारै जनालाई बगाएको हो । बद्रीनाथ प्रहरीका अनुसार उनीहरूले बसोबास गर्ने क्षेत्र पहिरोको जोखिम भएको मानिन्छ । पहिरोका कारण उक्त क्षेत्रमा ठाउँठाउँमा सडकसमेत अवरुद्ध हुने गरेको छ ।

गत वर्ष साउनमा पनि यस्तै घटना भएको थियो । केदारनाथको प्रस्थान विन्दु मानिने गौरीकुण्डमा पहिरोमा परी १६ नेपालीको मृत्यु भयो । जसमध्ये ४ अझै शव नै भेटिएन ।

गैरीकुण्डमा पनि सडक किनारमै मन्दाकिनी नदी छेउमै बनाएको घर पहिरोले बगाएर नदीमा लगेको थियो । दुईतले काठको घरमा तल्लो तलामा होटल सञ्चालन गरिएको थियो भने माथिल्लो तलमा कामदारहरू सुत्ने गरेका थिए । जुम्ला पातारासीका अमर बोहराले नदी किनारमै संचालन गरेको होटलमा उनको ६ जनाको परिवारसमेत पहिरोमा परेको थियो । बद्रीनाथ, केदारनाथलगायतका धार्मिक पर्यटकीय क्षेत्र नेपाली कामदारका लागि रोजगारीको प्रमुख गन्तव्य हुन् ।

सिजनको छोटो समयमा राम्रो आम्दानी हुने भएकाले उक्त क्षेत्रमा ठूलो संख्यामा नेपालीहरू पुग्ने गरेका छन् । तर, जोखिमयुक्त क्षेत्रमा बसोबास र काम गर्दा बर्सेनि नेपालीले ज्यान गुमाउँदै आएका छन् । ‘बसोबासमा सावधानी देखिँदैन, जोखिमयुक्त क्षेत्रमा टहरा बनाएर बस्ने गरेको पाइन्छ,’ दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर उमारप्रसाद चतुर्वेदीले भने, ‘आम्दानी राम्रो भएकाले त्यहाँ नेपाली कामदारको संख्या बढ्दो छ, जोखिम पनि त्यत्तिकै छ ।’ उनका अनुसार बद्रीनाथ, केदारनाथ र रुद्रप्रयागलगायतका क्षेत्रमा ३ देखि ५ हजार नेपाली कामदार छन् ।

बद्रीनाथ र केदारनाथलगायतका क्षेत्रमा पर्यटकहरूलाई ओसारपसार गराउन नेपाली कामदार प्रयोग हुने गरेका छन् । नेपालीहरूले घोडा, डोली र डोकोको कण्डी बनाएर बोक्ने गर्छन् । गौरीनाथबाट केदारनाथ २२ किलोमिटर र दुईतर्फी गर्दा ४४ किलोमिटर एक जनालाई वारपार गराउँदा ३० देखि ४० हजार रुपैयाँसम्म आम्दानी हुन्छ । तर कतिपयको उकालोमा भारी बोक्ने क्रममै मृत्यु हुने गरेको ४ वर्षदेखि गौरीकुण्डमा बसेर काम गरिरहेका सल्यानका भीमबहादुर केसी बताउँछन् । ‘दिनमै एक जनाले ४० हजारसम्म आम्दानी गर्न सक्छन्, तर बाटोमै ज्यान पनि जान सक्छ,’ उनले भने । उनका अनुसार गौरीकुण्डबाट उकालोमा भारी बोक्दा गाह्रो हुने र त्यसैमा लेक लाग्ने समस्यासमेत हुने गरेको छ ।

‘पैसाको लोभमा धेरै जना परिवारसहित सडक किनारमा छाप्रो बनाएर बस्छन्, त्यहीं पहिरो जान्छ,’ केसी भन्छन्, ‘यहाँको पहाड निकै कोमल छ, ठाउँठाउँमा पहिरो गएर बेलाबेलामा सडक अवरुद्ध भई नै रहन्छ ।’ उनका अनुसार सडक किनारमा छाप्रो बनाएर बस्ने अधिकांश नेपाली नै हुने गरेका छन् । यसरी छाप्रो बनाएबापत मालिकलाई सिजनको ३०/४० हजार तिर्नुपर्ने उनले बताए ।

केदारनाथको सिजन वैशाखदेखि कात्तिकसम्मै चल्छ । यो अवधिमा एक जनाले कम्तीमा ३ लाख बढी आम्दानी गर्न सक्छन् । यसकारण जोखिम भए पनि नेपाली कामदारको आकर्षण भएको हो । पहिरो वा अन्य दुर्घटनामा परेर मृत्यु भएकाहरूले कुनै राहत तथा क्षतिपूर्ति त के आफूले गरेको कामको ज्यालासमेत पाउँदैनन् । त्यसको कुनै हिसाबकिताब नै नहुँदा ज्याला दिलाउनसमेत समस्या हुने गरेको उक्त क्षेत्रमा काम गरिरहेका नेपालीहरू बताउँछन् ।

पछिल्लो पटक केदारनाथ नजिकै मृत्यु भएका ४ जनाको विषयमा पनि यस्तै भएको छ । ‘कति ज्याला पाएका थिए, कति पाउन बाँकी थियो, केही थाहा छैन,’ पहिरोमा परी मृत्यु भएका चितवन माडीका तुलबहादुर परियारकी भान्जीबुहारी सरस्वती पार्कीले भनिन्, ‘अब मालिक आएपछि मात्रै कुरा हुन्छ, मालिक पनि हामीले चिनेका छैनौं ।’

२०७० मा केदारनाथमा बाढी र पहिराले ठूलो क्षति भएको थियो । त्यतिबेला धेरै कामदारको मृत्यु भएको अनुमान छ । त्यसमध्ये नेपाली कामदारको पनि मृत्यु भएको अनुमान छ । तर हालसम्म कति नेपालीको मृत्यु भयो भन्ने विषयमा कुनै खोजी भएको छैन । उसो त त्यतिबेला कति मानवीय क्षति भयो भन्ने विषयमा धेरै कुरा बाहिर आएको छैन । त्यहाँको स्थानीय प्रशासनमा नेपाली कामदारले आफ्नो नाम दर्ता गराउने प्रावधान भए पनि पूरा विवरण नलेखिने भएकाले यकिन तथ्यांक पत्ता लगाउन नसकिने काउन्सिलर चतुर्वेदी बताउँछन् ।

प्रकाशित : भाद्र १६, २०८१ १८:४०
x
×