कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

सुदूरपश्चिम विश्वविद्यालयले कृषि विज्ञानको प्रवेश परीक्षा काठमाडौंमा गर्न लाग्दा विरोध

भाद्र १५, २०८१

कञ्चनपुर — सुदूरपश्चिम विश्वविद्यालयले कृषि संकायको प्रवेश परीक्षा काठमाडौंमा पनि सञ्चालन गर्ने तयारी गरेपछि चर्को विरोध भएको छ । 

कृषि संकायले टीकापुर कृषि क्याम्पससँगै काठमाडौंमा समेत प्रवेश परीक्षाको तयारी गरेपछि विरोध हुन थालेको हो । यस क्षेत्रका स्थानीयले सामाजिक सञ्जालमार्फत विरोध व्यक्त गरिरहेका छन् । सुदूरपश्चिम विश्वविद्यालयले २०७४ देखि टीकापुरमा कृषि विषयको अध्यापन गराउँदै आएको छ । सेमेस्टर प्रणालीअन्तर्गत हरेक वर्ष १ सय १० विद्यार्थी भर्ना गर्दै आएको छ । सामाजिक सञ्जालमा विश्वविद्यालयले आफ्नै केन्द्रीय क्याम्पसमा प्रवेश परीक्षा सञ्चालन गर्न नचाहेको तर काठमाडौं गर्न खोज्नु गलत भएको गुनासो पोखेको छन् ।

यसैगरी उनीहरुले विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार र डीनले मनपरी गरिरहेको आरोपसमेत लगाएका छन् । कृषि संकायका डीन विष्णुविलास अधिकारीले भने टीकापुर कृषि क्याम्पससँगै काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा एकैदिन एउटै समयमा र एउटै प्रश्नपत्रबाट प्रवेश परीक्षा लिइने बताए । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीबाट मात्रै आउने विद्यार्थीले कोटा अपुग हुने अवस्था हरेकाले काठमाडौंमा समेत प्रवेश परीक्षा सञ्चालन गर्नुपरेको बताए । ‘हामीले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न खोजेका हौं, त्यसका लागि प्रवेशबाटै गुणस्तरीय विद्यार्थी छनौट गर्न सक्नुपर्छ,’ डीन अधिकारीले भने, ‘अहिले कोटा पूरा गर्न कम अंक ल्याउनेलाई पनि भर्ना गर्नुपरेको छ ।’

कृषि संकायले असोज ३ मा टीकापुर कृषि क्याम्पस र काठमाडौंमा प्रवेश परीक्षा लिने उनले बताए । विद्यार्थी संख्या बढाउन र गुणस्तरीय विद्यार्थी तान्न विश्वविद्यालयहरुले आवश्यकताअनुसार प्रवेश परीक्षा फरक ठाउँमा लिने गरेको डीन अधिकारीले बताए ।

प्रकाशित : भाद्र १५, २०८१ १९:२२
x
×