कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

लालझाडीका टपरी काठमाडौंसम्म 

श्रावण २३, २०८१
लालझाडीका टपरी काठमाडौंसम्म 

कञ्चनपुर — फुर्सदमा जंगल गएर सालका पात टिपेर ल्याउँछन् । एक दिनभर सुकाएर जोडेर राख्छन् । जसलाई लाफा भनिन्छ । विभिन्न साईजका लाफा मेसिनमा हालेर दुना र टपरी बनाइन्छ । लालझाडी मोहना संरक्षित क्षेत्रमा पर्ने कृष्णपुर नगरपालिका–९ राजघाटको वनदेवी सामुदायिक वनका महिला यस्तै काममा व्यस्त छन् । उनीहरु सामूहिक रुपमा जंगल पस्छन् ।

त्यसपछि जंगलबाट ल्याएका पात घरमा लगेर सुकाउने र लाफा बनाउने गर्छन् । फेरि एकै पटक सबै मिलेर मेशिनमा हालेर विभिन्न साइजका दुना र टपरी बनाउँछन् ।

‘एक दिन पात संकलन गर्छौ, अर्को दिन सुकाउँछौं, त्यसपछि धेरै लाफाहरु बनाएर एकै पटक मेशिनमा लिएर दुना टपरी बनाउँछौं,’ कृष्णपुर नगरपालिका–९ राजघाटकी दुना टपरी निर्माण समूहकी संयोजक फुलकुमारी चौधरीले भनिन्, ‘हामीहरु समूहमै मिलेर काम गर्छौ ।’

सामुदायिक वनसँगै आवद्ध भएका महिलाले तालिम लिएर यो काम गरिरहेका हुन् । लालझाडीको जंगलमा उत्पादन भएका दुना टपरी काठमाडौं र पोखरासम्मसम्म पुग्ने गरेका छन् । वनदेवी सामुदायिक वनमा उत्पादन भएका दुना टपरी दुई पटक काठमाडौं पठाइएको चौधरीले बताइन् ।

सामुदायिक वनले नै दुना र टपरी बनाउने मेशिन ल्याइदिएको छ । उक्त मेशिनमा ५, ६ र ७ इन्चका दुना र तथा १० र १२ इन्चका टपरी बन्ने गरेका छन् । दुना र टपरी साइज अनुसार प्रति पिसको १ देखि ६ रुपैयाँसम्म बिक्री हुने गरेको छ । ‘अहिले त गाउँमै खपत भइरहेको छ, पुजाका बेला धेरै माग हुन्छ, हामीले पुर्‍याउन सकिरहेका छैनौं,’ चौधरीले भनिन्, ‘कहिले खेतीपातीको काम हुन्छ, कहिले घरमै व्यस्त हुन्छौं, फुर्सदको समयमा मात्रै काम गर्छौ ।’

कृष्णपुर–५ मा रहेका वनदेवी साुमदायिक वनका उपभोक्ताहरु पनि वैशाखदेखि दुना टपरी बनाउने काममा जुटेका छन् । उक्त सामुदायिक वनका पदाधिकारी र उपभोक्ता गरि ८ जना महिला दुना टपरी बनाउने गरेका हुन् ।‘हामीहरुले अहिलेसम्म बाहिर पठाएका छैनौं, गाउँमै खपत भइरहेको छ,’ सामुदायिक वनकी कोषध्यक्ष सँगै दुना टपरी निर्माणमा जुटेकी यशोदा रावलले भनिन्, ‘नियमित रुपमा काम गर्न सके आफ्नो खर्च जुटाउन सकिन्छ ।’

उनका अनुसार सामुदायिक वन समन्वय समिति (लालझाडी मोहना संरक्षित क्षेत्रमा रहेका सामुदायिक वनहरुको संस्था) ले तालिम दिएपछि महिला दुना टपरी बनाउन जुटेका हुन् ।

उनीहरुले गाउँमा दुना टपरी बिक्रीका लागि पसल सञ्चालन गर्ने योजना बनाएका छन् । त्यहि पसलबाट अन्यत्र पनि पठाउने तयारी भइरहेको छ । ‘त्यसपछि गाउँमा खपत नभएको बाहिर बठाइनेछ,’ रावलले भनिन्, ‘अहिले त गाउँमा पनि धेरै खपत हुन थालेको छ ।’ अहिले बर्खायाम भएकाले जंगलभित्र धेरै जान सकिने अवस्था छैन । विगतमै संकलन गरिएका पातबाट दुना टपरी बनाउने काम भइरहेको छ ।

तयार गरिएका लाफाबाट एक दिनमा ५ सय सम्म दुना टपरी बनाउन सकिन्छ । महिलाहरुले संकलन गरेर ल्याएका पात पनि खरिद गर्दछन् । सामुदायिक वनका अन्य उपभोक्ताले पनि पात संकलन गरेर ल्याउने गरेका छन् ।

राजघाटका महिलाहरुले फागुन चैतमा धेरै पात संकलन गरेका थिए । त्यतिबेला बजारको अभावका कारण पात कुहिएर गएको चौधरीले बताइन् । उनका अनुसार महिलाहरु गहुँ कटाइमा व्यस्त हुनु र माग पनि थोरै भएका कारण पातहरु कुहिएका हुन् ।

सामुदायिक वनमा सालका पात त्यतिकै खेर गइरहेका हुन्छन् । तिनै पात संकलन गरेर महिलाहरु आम्दानीमा जोडिएका छन् । यसले महिलाहरुलाई स्वरोजगारसँगै आत्मनिर्भर समेत बनाउने वनदेवी सामुदायिक वन राजघाटका अध्यक्ष निरज भण्डारीले बताए ।

प्रकाशित : श्रावण २३, २०८१ १५:२३
×