कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

कञ्चनपुरमा बाढी र डुबानको अध्ययन गर्दै प्राधिकरण

श्रावण ३, २०८१
कञ्चनपुरमा बाढी र डुबानको अध्ययन गर्दै प्राधिकरण

Highlights

  • असार अन्तिम साता विस्थापित २५ परिवार अझै विद्यालयमै

कञ्चनपुर — असार तेस्रो साता जिल्लाका विभिन्न स्थानमा आएको बाढी र डुबानले परेको प्रभाव र प्रभावितको अवस्था बुझ्न गृह मन्त्रालयम मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली कञ्चनपुर आइपुगेको छ । प्रभावितको वास्तविक अवस्था बुझ्ने र विपद् व्यवस्थापनमा स्थानीय स्तरमा भएको अभ्यासको बारे जानकारी लिन प्राधिकरणको टोली यहाँ पुगेको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल र विपद् व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुरमा भुषाल सहितको टोली यहाँ पुगेको हो ।

टोलीले बिहीबार स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतसँग छलफल गरेको छ । प्रभावितको अवस्था, उद्धारमा भएका अभ्यास र कमीकमजोरीबारे छलफल गरेको हो । ‘अहिलेसम्मकै धेरै पानी परेको रेकर्ड छ, त्यसले निम्त्याउने क्षति पनि ठूलै हुन्छ,’ विपद् व्यवस्थापन महाशाखा प्रमुख भुषालले भने, ‘हामीले कस्तो अभ्यास गर्‍यौं, अबको तयारी कस्तो छ, स्थानीय सरकार र प्रशासनबीचको समन्वय कस्तो रहृयो यो सबै बुझ्न आएका हौं ।’

उनले बाढीबाट प्रभावित दोधरा चाँदनी नगरपालिकाका विभिन्न क्षेत्रको अवलोकन समेत गर्ने बताए । असार २४ गते बिहान ८ वजेर ४५ मिनेटमा दोधारा चाँदनी वर्षामापन केन्द्रमा ६२४ मिलिमिटर, बेदकोट नगरपालिका ३ को हनुमाननगर वर्षामापन केन्द्रमा ५ सय ७३ दशमलव ६ मिलिमिटिर र बेदकोटकै सुन्दरपुर वर्षामापन केन्द्रमा ५ सय ५५ दशमलव ८ मिलिमिटर वर्षा भएको थियो ।

विभागले वर्षा मापन सुरु गरेयताको यो नै उच्च हो । स्थानीय तहका जनप्रतिनिधिले ठूला नदीहरुमा बढी ध्यान दिइएको र उक्त क्षेत्रमा सरकारी र गैरसरकारी क्षेत्रबाट धेरै लगानी समेत भएको तर यस पटक साना खोला र नदीले बढी क्षति गरेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । विकास निर्माणका कामहरु गर्दा नदीनालाको धार परिवर्तन गरिएका कारण अहिलेको क्षति भएको उनीहरुले बताए ।

‘महाकाली सिँचाइको नहर निर्माणका क्रममा चौधर नदीको धार परिवर्तन भयो, अहिले चौधर नदी आफ्नो पुरानो धारमा फर्किदा दर्जनौं बस्ती डुबानमा परे,’ बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहोराले भने, ‘नदीलाई आफ्नै धारमा बग्न दिएको भए अहिलेको क्षति हुँदैनथ्यो ।’ असार २४ गते चौधर नदीको बाढी बेलडाँडी गाउँपालिका–३ इमिलियामा महाकाली सिँचाइको नहर फुटालेर बस्तीमा पसेको हो । जसका कारण बेलडाँडी र बेलौरीका दर्जन बढी बस्ती डुबानमा परेका थिए ।

भीमदत्त नगरपालिकामा पनि भुजेला खोलाको बाढी वस्तीमा पस्दा वडा ११, १२ र १३ का दर्जनौं बस्ती डुबानमा पर्दा तीन सय बढी परिवार विस्थापित भएका थिए । बाढीले पटान गरेर धानबाली पनि नष्ट भएको छ । महाकाली नदीको बाढीले भुजेला खोलाको बहाव रोकिएपछि बस्तीमा पसेको हो । यसैगरी दोधारा चाँदनी नगरपालिकामा पनि महाकालीका बाढीले जोगबुडा नदीको बहाव रोकिँदा अधा दर्जन बस्तीहरु डुबानमा परे ।

दोधारा चाँदनी–३ पटेराखल्लाका २५ परिवारका ९० जना अहिले पनि विस्थापित छन् । उनीहरु नजिकैको जमुना आधारभूत विद्यालयमा बसिरहेका छन् । घर पूरै भत्किएको र बस्तीभरि लेदो भरिएका कारण उनीहरु तत्काल पुर्नस्थापित हुन सक्ने अवस्था छैन । ‘अब विकास निर्माण र बस्ती विस्तारमा सोच्नुपर्ने भएको छ,’ प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले भने, ‘ठूला नदीको रोकथाममा मात्रै होइन साना नदी नालातर्फ पनि ध्यान दिनु आवश्यक छ ।’

उनले स्थानीय तह र प्रशासन मिलेर क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा जुट्नुपर्ने बताए । उनले कतिपय नदीको सतह बस्ती भन्दा अग्लो भएका कारण बाढीले बढी क्षति गरिरहेकाले उक्त नदीका भाग गहिरो बनाउने विषयमा पनि छलफल गरिनुपर्ने बताए । असार २३ र २४ गते आएको बाढीले कञ्चनपुर १ हजार ४ सय ६५ परिवारका ५ हजार ७ सय ६६ जना विस्थापित भएको स्थानीय प्रशासनको तथ्यांक छ ।

जसमध्ये अझै पनि २५ परिवारका ९० जना घर फर्किन सकेका छैनन् । जिल्लामा बाढी र डुबानका कारण कति क्षति भयो भन्ने एकिन विवरण अझै संकलन भइसकेको छैन । ‘त्यतिबेला जिल्लाको ७१ प्रतिशत भूभाग डुबानमा परेको थियो, सबै क्षत्रि जोखिममा थियो, धेरै क्षति भएको छ,’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले भने, ‘हामी विवरण संकलनमा लागेका छौं, स्थानीय तहबाट संकलनको काम भइरहेको छ ।’

प्रकाशित : श्रावण ३, २०८१ २०:०७
x
×