कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

प्रजनन् अधिकारबाट बञ्चित दुर्गमका महिला

फाल्गुन २३, २०८०
प्रजनन् अधिकारबाट बञ्चित दुर्गमका महिला

अछाम — पञ्चदेवल विनायक नगरपालिकाकी–३५ वर्षीया मैना (नाम परिवर्तन) ले गत साता नगरपालिकाको केन्द्रमा आयोजना भएको परिवार नियोजन शिविरमा मिनिल्याप (स्थायी बन्ध्याकरण) सेवा लिन तयार भइन् । ४ छोरी र १ छोरा भएकाले थप सन्तान आवश्यक नरहेको उनको बुझाइ थियो । छोराको आशमा ४ छोरीपछि पाँचौं सन्तान छोरा जन्मेपछि उनले मिनिल्याप गर्ने सोच बनाइन् ।

‘छोराको रहर थियो, त्यो पनि पुग्यो । ५ सन्तानको पालनपोषण गर्न पनि गाह्रो छ । फेरि सन्तान जन्मिए झन् गाह्रो हुन्छ भन्ने लागेको थियो,’ उनले भनिन्,‘आफूले मिनिल्याप गर्ने कुरा श्रीमानलाई सुनाए । एक छोरा मात्रै छ । मलाई अर्को छोरा पनि चाहिन्छ । तैलै अप्रेसन गरिस् भने अर्को बिहे गर्छु भनेर धम्की दिन थाले । श्रीमान्को डरले गाउँमै आएको सेवा पनि लिन पाइन ।’

गत साता नै रामारोशन गाउँपालिका–६ की रिता (नाम परिवर्तन) ले मिनिल्याप सेवा लिने योजना बनाइन् । २ छोरी र १ छोरा भएकाले उनलाई सन्तानको रहर पनि पुगेको थियो । तर सासुससुरा र श्रीमान्को दबाबले उनी पछि हटिन् । कामको सिलसिलामा भारतमा रहेका श्रीमान्लाई गाउँमै शिविर आएको मिनिल्याप गर्ने विषयमा सल्लाह गरिन् ।

‘म बम्बै भएको बेला किन अप्रेसन गर्ने भनेर श्रीमान्ले उल्टो थर्काए,’ उनले भनिन्,‘सासुससुरले पनि एक मात्र नाति छ, भोलि के कसो हुन्छ, तैंले अप्रसेन गरिस् भने छोराले अर्को बिहे गर्छ भनेर धम्की दिएपछि म पछि हटेँ ।’

मंगलसेनमा आयोजना भएको परिवार नियोजन शिविरमा मंगलसेन–५ की २६ वर्षीया रत्ना (नाम परिवर्तन) ले पनि सेवा लिने मनस्थिती बनाइन् । मजदुरी गरेर जीविकोपार्जन गर्ने उनलाई १ छोरा र १ छोरीको भविष्य राम्रो बनाउने चिन्ता उत्तिकै छ । ३/३ महिनाको अवधिमा ४ पटक गर्भपतन गरिसकेकी उनलाई घरछेउमै आएको शिविर अवसर थियो । तर उनको सल्लाह मान्न श्रीमान् तयार भएनन् ।

‘श्रीमान्ले जतिखेर पनि जाड खाइरहने, कुटपिट गर्ने शारीरिक र मानसिक पीडाले म त्यसै पनि कमजोर भइसकेकी छु । त्यसैमाथि हरेक ३ महिना मैले गर्भपतन गराइरहेकी छु । मेरो रहर, इच्छा नबुझेर पीडा दिइरहन थालेपछि मैले मिनिल्याप गर्ने निर्णय नै लिए,’ उनले भनिन्,‘सासुससुराले साथ दिए पछि अस्पताल गएकी थिए । श्रीमान जसरी पनि रोक्छु भनेर त्यतै जानुभयो । कुटपिट गर्न जानु भएको हो, धेरै मान्छे भएकाले कुट्न त पाएनन् गाली बेस्सरी गरे ।’ श्रीमानको कारणले घरमा जान सक्ने अवस्था नहुँदा आमालाई बोलाएर माइत आएर बसिरहेको उनले सुनाइन् ।

स्वास्थ्य कार्यालय अछामका अनुसार जिल्लाका ४ ठाउँमा भएको परिवार नियोजन शिविरमा स्थायी बन्ध्याकरण (मिनिल्याप र भ्यासेक्टोमी) सेवा लिने पुरुष भन्दा महिलाको संख्या बढी छ । पञ्चदेवल बिनायकमा ४ महिला (मिनिल्याप), ३ पुरूष (भ्यासेक्टोमी), मंगलसेनमा ५ महिला, १ पुरूष, रामारोशन २३ महिला, १२ पुरूष, मेल्लेखमा ४ महिला, १ पुरूष गरी ३६ महिला र १७ पुरूषले परिवार नियोजन गरेका छन् ।

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाका अनुसार शिविरमा सेवा लिन चाहेका महिलाको संख्या योभन्दा धेरै थियो । पारिवारिक दबाब र श्रीमान्को धम्कीका कारण धेरै महिला सेवा लिनबाट वञ्चित भएका छन् ।

प्रजनन् स्वास्थ्य अधिकारभित्र प्रत्येक दम्पती तथा व्यक्तिले सन्तान जन्माउने वा नजन्माउने, कति जन्माउने, जन्मान्तर कति राख्नेलगायत कुरा स्वतन्त्र र जिम्मेवारीपूर्वक निर्णय लिन पाउने विषय परे पनि अछामलगायतका दुर्गम क्षेत्रमा पुरुषको निर्णय नै चल्ने गरेको उनले बताए ।

‘यसमा कुनै दम्पतीले आफूले चाहेको परिवार नियोजनका साधन र विधिको छनोट, गर्भवती अवस्थामा कम्तीमा चारपटक भ्रुणको जाँच, कानुनी मापदण्डअनुसारको गर्भपतन, वैज्ञानिक प्रसूति, मातृशिशु खोप एवं उपचार, सुत्केरीपछिको स्याहारलगायतको हक पर्छन् ’ उनले भने,‘मुख्यतः सन्तान जन्माउने विषय महिलाभन्दा पुरुषको निर्णयमा भर पर्ने गरेको छ ।’

प्रकाशित : फाल्गुन २३, २०८० १६:०३
×