कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको राजीनामा माग्दै नेविसंघको विरोध प्रदर्शन

भाद्र २७, २०८१
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको राजीनामा माग्दै नेविसंघको विरोध प्रदर्शन

सुर्खेत — मध्यपश्चिम विश्वविद्यालयको स्ववियु चुनाव पटक–पटक स्थगित गरिएको भन्दै नेपाल विद्यार्थी संघले उपकुलपतिको राजीनामा माग गर्दै विरोध जनाएको छ । उच्च अदालत सुर्खेतको अन्तरिम आदेशका कारण २८ गते हुने भनिएको चुनाव स्थगित भएको छ । भोलि शुक्रबार हुने चुनाव पनि स्थगित भएपछि विद्यार्थीहरु आन्दोलित बनेका हुन् । 

बिहीबार अदालतले स्ववियु चुनाव रोक्न अन्तरिम आदेश दिएको थियो । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघको जित सुनिश्चित देखेपछि एमालेका मुख्यमन्त्रीको सेटिङमा चुनाव स्थगित गरेको आरोप लगाए । ‘स्ववियुको चुनावमा पनि मुख्यमन्त्री नै लाग्नु पर्ने, पार्टी नै होमिनु पर्ने,' उनले भने, ‘दुई वर्षअघि पनि यसैगरी षड्यन्त्रपूर्वक निर्वाचन रोकिएको थियो । नेविसंघले विजय प्राप्त गर्ने सुनिश्चितता भएको देख्दा कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मुख्यमन्त्री अखिलको कार्यकर्ताका रूपमा प्रस्तुत भएर चुनाव रोके । यसले राम्रो म्यासेज दिन्न ।’

निर्वाचन रोकेर विद्यार्थीको अधिकार कुण्ठित पार्न खोजिएको उनको भनाइ छ । विश्वविद्यालयका स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी बिएस्पी बायोलोजी पाँचौं सेमेस्टरका विद्यार्थी रञ्जित विकसमेतले आफूहरूको नाम मतदाता नामावलीमा नरहेको भन्दै चुनाव स्थगितको मागसहित रिट दिएका थिए । नेविसंघका केन्द्रीय सदस्य तथा स्ववियुका सभापतिका उम्मेदवाररोशन बस्नेतले स्ववियु चुनाव अन्तिम समयमा स्थगित हुनु दुःखद् रहेको बताए । विद्यार्थीको मताधिकारको प्रयोग गरेर लोकतान्त्रिक अभ्यास प्रक्रियालाई सुनिश्चित गर्नु पर्ने उनको भनाइ छ ।

कुलपति, रजिष्ट्रार र निर्वाचन समितिको आन्तरिक निर्देशनमा सम्मानित अदालतसमेतलाई गुमराहमा पारी बद्‌नियतपूर्वक निर्वाचन स्थगित गर्ने कार्यको आफूहरुले घोर विरोध गरेको उनले बताए । ‘हाम्रो आवाज दवाउन खोजियो, न्याय पनि मरेको आभास भयो,' उनले भने, ‘पदाधिकारीहरुको गुलाम बने उपकुलपति । निकम्मा भएर पार्टी गुहार्दै चुनाव स्थगित गरे ।’

प्रकाशित : भाद्र २७, २०८१ १७:३८
×