कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

१३ वर्षदेखि बडिमालिका जाने एउटै पुजारी

भाद्र २७, २०८१
१३ वर्षदेखि बडिमालिका जाने एउटै पुजारी

जुम्ला — भगवतीको डोली बोकेर निरन्तर १३ वर्षसम्म बाजुरास्थित बडिमालिका मन्दिरमा पूजा गर्न जाने विष्णुप्रसाद उपाध्याय जुम्लाका एक्लो पुजारी हुन् । उनीभन्दा अघि बर्सेनि पुजारी बदलिन्थे । एक पटक बडिमालिका पुगेको पुजारी अर्को पटक जान मान्दैनथे ।

तर, पछिल्लो समयमा निरन्तर पुजारीका रूपमा उपाध्याय भगवतीको डोली बोकेर बडिमालिका मन्दिरसम्म गइरहेका छन् । बडिमालिका यात्रा सुरु हुने केही दिनअगाडि जिल्ला प्रशासन कार्यालय जुम्लाले पुजारीका रूपमा जान पत्र थमाउँछ । उनी पनि भगवती माईको सेवा गर्न पाइने भन्दै उत्साहपूर्वक सोही पत्र लिएर त्यता लाग्छन् ।

२०५१ सालमा ३० वर्षको उमेरमा उनी रहरले बडिमालिका पुगेका थिए । सबै बडिमालिका जान थालेपछि उनलाई रहर जाग्यो । उनले जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरेर बडिमालिका जाने इच्छा जाहेर गरे । भात पकाउन सघाउने गरी प्रशासनले सरकारी टोलीमा पठाइदियो ।

त्यो टोलीमा एक जना पुजारी, सरकारी प्रतिनिधि, भात पकाउने सहयोगी, दुइ जना कार्यालय सहयोगी र प्रहरी हवलदारको नेतृत्वमा दुई जना सिपाही खटिएका थिए । उतिबेलाको यात्रामा उपाध्यायको भूमिका निकै राम्रो थियो । त्यही भूमिकाले अहिलेसम्म पुजारी बनेर बडिमालिका जाने मौका मिलिरहेको उनले सुनाए ।

उपाध्यायको कामले सन्तुष्ट बनेका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णसेन बुढाथोकीले २०६० सालमा पुजारी बनेर बडिमालिका जानुपर्ने प्रस्ताव गरे । मुलुकमा संकटकाल थियो । उनी पहिलोपटक पुजारी बनेर बडिमालिका निस्किए । उतिबेला सरकारी टोली ग्रामीण बस्ती हुॅदै बडिमालिका पुर्‍याउन सहज थिएन । माओवादीहरू देवताको पूजापाठमा मठमन्दिरको विरोधमा थिए । तर, उनी सरकारी टोली सकुशल सदरमुकाम खलंगा पुर्‍याउन सफल भए ।

उनी अर्को पटक २०६८ सालमा ८ वर्षपछि पुजारी बने । उतिबेला देशमा शान्ति प्रक्रिया अघि बढेको थियो । कडा संकटकालमा सरकारी टोली लिएर फर्केकाले उनको राम्रो छाप जुम्लाबासीमा बसिसकेको थियो । त्यहाँदेखि नै पुजारीका रूपमा हरेक वर्ष उनी नै जान्छन् । मिलनसार, इमान्दार भएकै कारण उनलाई अहिलेसम्म पूजा गर्न जाने अवसर मिलिरहेको छ ।

हरेक वर्ष यात्रामा देखिने समस्याले भने उनी हैरान छन् । ‘बाटो सहज छैन । कहिले पहिरो, कहिले बाढी त कहिले मादक पदार्थ सेवन गरेकाहरूले दुःख दिने गर्छन्,’ उपाध्यायले भने, ‘बाटोमा भोगिने सास्तीले अब सकिँदैन होला जस्तो लाग्छ तर श्रद्धालुको हौसला देख्दा निरन्तर गइरहुॅजस्तो हुन्छ ।’

२०६९ चैत २४ गते जिल्ला प्रशासनको मातहतमा रहने गरेर सरकारी दरबन्दी जिल्ला खेलकुद विकास समितिमा आयो । उनले जागिर खान प्रस्ताव पेस गरे । उनी खेलकुद विकास समितिको पुजारी बने । ‘हरेक वर्ष पुजारी बनेर बडिमालिका जान पाउनु अहोभाग्य हो,’ उनले भने, ‘यस्तो अवसर कसले पाउॅछ र ?’

पुजारी उपाध्यायका अनुसार ४११ वर्षदेखि बडिमालिका यात्रा सुरु भएको थियो । ‘अहिलेसम्मको शक्ति हेर्दा ६० वर्षसम्म बडिमालिका जाने प्रण गरेको छु । बाटोमा धेरै कठिनाइ छ । साथमा गएका सबै भक्तजनको सुरक्षा गर्नुपर्छ । सबै सरकारी संरक्षण चाहन्छन्,’ उनले भने, ‘बजेट अभाव हुॅदा समस्या छ । सरकारी पूजाको दक्षिणा र बडिमालिकाको लिंगको लागि मात्र बजेट आइरहने गरेको छ ।’

पहिले सुरक्षाकर्मीहरू साथमा जान्थे । जुम्लादेखि मूर्ति र गहनाहरू लैजानु परेकाले सुरक्षाकर्मीको साथ चाहिने उनले बताए । ‘बीच–बीचमा विवादहरू भइरहन्छन् । मदिरा सेवन गरेकाहरूबाट लफडा भइरहन्छ,’ उनले भने, ‘अहिले सुरक्षाकर्मीहरू नजाने भएकाले समस्या छ ।’ हरेक वर्ष नाग पञ्चमीको दिनमा बडिमालिका यात्रा सुरु हुन्छ । हरेक दिन दुई घण्टा मात्र हिँडिन्छ ।

प्रकाशित : भाद्र २७, २०८१ १६:४८
×