कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३५

जाजरकोटका गाउँ–गाउँमा तीज मेला

भाद्र २०, २०८१
जाजरकोटका गाउँ–गाउँमा तीज मेला

जाजरकोट — हिन्दु नेपाली नारीहरूको विशेष पर्व हरितालिका तीज जाजरकोटका गाउँ–गाउँमा मेला आयोजना गरी मनाइएको छ । जिल्ला सदरमुकाम खलंगाको गैरीखाली मैदानसहित बारेकोट, छेडागाड, नलगाडलगायत ठाउँमा स्थानीय सरकारले नै चेतनामूलक तीज गीत प्रतियोगिताको आयोजना गरी मनाएका हुन् ।

समाजमा हुने महिला हिंसाविरुद्ध मौलिक भाकामा नाच तथा गीतको आयोजना गरी तीज मनाइएको जाजरकोट सम्पदा प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए ।

महिला अधिकार मञ्च सामुदायिक सुरक्षा जालोको सहकार्य र स्थानीय समाजसेवी तथा युवा व्यवसायीको सहयोगमा प्रतिष्ठानले मौलिक तीज गीत गायन र खुला नृत्य प्रदर्शनीका कार्यक्रमसहित विशेष तीज मेलाको आयोजना गरेको हो ।

तीज मेलाका अवसरमा आयोजित मौलिक तीज गीत गायन तथा नृत्य प्रतियोगितामा छेडागाड–१२ की ममता सिंहको टोली प्रथम भएको छ भने सोही स्थानकी रमिता सिंहको टोली द्वितीय भएको छ । यस्तै भेरी नगरपालिका–३ स्यालाकी सुशीला केसीको समूहले तृतीय स्थान र भेरी नगरपालिका–२ डिंगाकी मनकुमारी पुनको समूहले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

यस्तै खुला नृत्य प्रदर्शनीमा हजारी नेपाली, मीनासिंह ठकुरी र मेलिना कार्कीले उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन् । तीज गीत तथा नृत्य प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वनालाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष केसीले बताए ।

जिल्लाको छेडागाड नगरपालिका, कुशे गाउँपालिका, बारेकोट गाउँपालिकाले पनि चेतानामूलक तीज गीतको आयोजना गरेका थिए । नलगाडमा भने एक हप्ते तीज महोत्सव नै सञ्चालन गरिएको थियो ।

प्रकाशित : भाद्र २०, २०८१ १२:४७
x
×