कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

जुम्लाको पहिलो साक्षर गाउँपालिका हिमा

भाद्र २०, २०८१
जुम्लाको पहिलो साक्षर गाउँपालिका हिमा

जुम्ला — हिमा गाउँपालिका जिल्लाकै पहिलो साक्षर गाउँपालिकाका रुपमा घोषणा गरिएको छ । जिल्लामा एक नगरपालिकासहित सात गाउँपालिका रहेकोमा हिमा पहिलो साक्षर गाउँपालिकाका रुपमा घोषणा गरिएको हो । 

कर्णाली प्रदेशकी जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढा हिमा गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरेकी हुन् । उनले हिमाले पहिलो साक्षर पालिका घोषणा गरेर इतिहासमा नाम दर्ज गरेको बताइन् ।

साक्षर हिमा गाउँपालिकाको सार्वजनिकिकरण कार्यक्रममा उनले साक्षर पालिका घोषणा गर्न चाहिने १२ सुचकमध्ये अधिकांश सुचकहरु पूरा गर्न सफल भएकोमा खुसी व्यक्त गरिन्। बहुभाषिक शिक्षाको प्रर्वद्धन,पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता भन्ने मुल नारासहित हिमालाई साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए ।

उनका अनुसार हिमाको कुल जनसंख्या १२ हजार आठ सय ४ छ । तीमध्ये १२ हजार २ सय ५६ जना साक्षर छन् । प्रतिशतमा ९५.७२ प्रतिशत नागरिक साक्षर भएकोमा निरक्षरको संख्या ४.२८ प्रतिशत रहेको छ ।

स्नातकोत्तर तहसम्म अध्ययन गरेका ५५ जना,स्नातक गरेका १ सय ५५ जना, आइएड गरेका ८ सय जना रहेका छन् । उच्च माबिसम्म पढेका ११ सय ९६,एसएलसी पास गरेका ९ सय ५० जना र एसईई उतिर्ण गरेका १ हजार ६ सय ४८ रहेका गाउँपालिकाको तथ्यांकमा उल्लेख छ ।

बालविकासतर्फ सामान्य साक्षरको संख्या ४ सय २२ जना रहेको छ । पालिकामा रहेका प्रौढ जनसंख्या एक हजार ६ सय ६० जना र विद्यालय उमेरका ५ हजार ३ सय ७० जना साक्षर छन् ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले पहिलो साक्षर गाउँपालिका घोषणा गर्न पाउादा उत्साहित भएको बताए । यसले शिक्षा क्षेत्रमा हिमा अब्बल सावित भएको संकेत गरेको छ,' अध्यक्ष शाहीले भने,‘यसलाई संस्थागत गर्दै लैजान सबैको हातेमालो आवश्यक हुन्छ । ’

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले साक्षर घोषणा गरेर हिमा गाउँपालिकाले महत्वपुर्ण सन्देश फैलाएको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, हिमा गाउँपालिका-१ का वडाध्यक्ष रतनबहादुर शाहीले हिमालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गर्नु नमुना कार्य भएको बताएका थिए । हिमाले हरेक वर्ष ३० प्रतिशत बजेट लगानी गरिरहेको बताए ।

साक्षर गाउँपालिका घोषणा कार्यक्रममा वक्तिृत्वकला र देउडा कार्यक्रमहरु देखाइएको थियो । सो अवसरमा प्रशासकीय भवन निर्माणको लागि जग्गा प्रदान गर्ने जग्गादाताहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित : भाद्र २०, २०८१ १९:५८
x
×