कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

८ वर्षमा बल्ल बन्यो शारदा नदीमाथि पक्की पुल

भाद्र १९, २०८१
८ वर्षमा बल्ल बन्यो शारदा नदीमाथि पक्की पुल

सल्यान — जिल्लाको छत्रेश्वरी गाउँपालिकाको वडा नं ६ र ७ जोड्नलाई राप्ती राजमार्गको छेवैमा रहेको शारदा नदीमाथि निर्माणाधीन पक्की पुल ८ वर्षमा सम्पन्न भएको छ । पेटी ठेकेदारको लापरवाही तथा कोरोना महामारीले गर्दा तोकेको समयमा काम हुन नसकी बीचमै रोकिएको पक्की पुल सात पटक म्याद थप गरेपछि सम्पन्न भएको हो ।

सडक डिभिजन कार्यालय दाङले पक्की पुल निर्माणको लागि २०७३ अन्तिममा ठेक्का आह्वान गरेको थियो । ७० मिटर लम्बाई रहेको पक्की पुलको लागि उक्त कार्यालयले झन्डै ७ करोड बजेट विनियोजन गरेको थियो । पुल निर्माणको कामको जिम्मेवारी एसबीए सूर्य जेभीले पाएको थियो । एसबीए सूर्य जेभी २०७४ असार २१ देखि काम सुरु गरेको थियो ।

ठेकेदार कम्पनीले २०७६ असार २२ मा सम्पन्न गर्नु पर्नेमा ढिलै भएपनि पुलको काम सम्पन्न भएपछि राप्ती लोकमार्ग हुँदै छत्रेश्वरी गाउँपालिका ४ दारिमज्युला, झिम्पे, खर्सुबास जान स्थानीयलाई सहज भएको छ । यस्तै जीर्ण झोलुङ्गे पुल तर्न नपर्ने भएको छ । दुई महिनाअघिसम्म करिब एक किलोमिटर तल रहेको पुलबाट वारपार गरेर जाने गाडीहरु अहिले सिधै नयाँ निर्मित पुलबाट आउजाउ गर्दै छन् ।

आब २०७३ मा ठेक्का खोलेर २०७४ असारदेखि सुरु भएको योजना ०७६ असार २० गते सम्पन्न गर्नु पर्नेमा निर्माण कम्पनीले लापरबाही गरेको र विभिन्न किसिमका जटिलताले गर्दा सम्पन्न हुन ढिलाई भएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी उज्वल कुमार झाले बताए । तोकेको म्याद सकिएपछि कार्यालयले नियमावली संशोधनसंगै २०७६ असार २१ देखि २०७७ पुष ३० सम्म, दोस्रो पटक २०७८ असार १२, तेस्रो पटक २०७८ चैत्र ३० सम्म र चौथो पटक २०८० जेठ ३० सम्म र त्यसपछि २०८१ असारसम्म तीन पटक गरी सात पटक म्याद थप गरेको उनले जानकारी गराए ।

उनका अनुसार लामो समय काम नगरेको ठेकेदारलाई कारबाही गर्दा तथा ठेक्का तोडदा योजनाको काम अगाडि बढ्न नसक्ने, तत्काल नयाँ व्यवस्थापन गर्न गाह्रो हुने र सरकारी बजेट समेत खेर जाने भएकाले नियमावली संशोधनसँगै योजनाको काम सम्पन्न गर्न पटक पटक म्याद थप गर्नु परेको हो ।

प्रकाशित : भाद्र १९, २०८१ १४:२४
x
×