कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

कर्णाली प्रदेश अस्पतालमा अब क्यान्सरको उपचार हुने

भाद्र १८, २०८१
कर्णाली प्रदेश अस्पतालमा अब क्यान्सरको उपचार हुने

सुर्खेत — कर्णाली प्रदेश अस्पतालमा अब क्यान्सर रोगको उपचार हुने भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सुर्खेत प्रदेश अस्पतालमा सेवा विस्तार गर्ने सम्झौता गरेसँगै सुर्खेतबाटै उपचार हुने भएको हो ।

मंगलबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल र सुर्खेत प्रादेशिक अस्पतालका तर्फबाट निर्देशक डम्बर खड्काले सम्झौतामा हस्ताक्षर गरेका छन् । उपचार सेवा भने असोज १३ बाट सुरु हुने भएको छ । सम्झौतामा बीपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरंग, अन्तरंग तथा उपचार समेटेर सेवा प्रदान गर्नुपर्ने उल्लेख गरेको छ ।

सुर्खेत प्रादेशिक अस्पतालले भने आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत असार ३१ गते पदभार सम्हाल्दा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए । जसले क्यान्सर उपचार सेवालाई सातवटै प्रदेशमा विस्तार गर्ने लक्ष्य लिएको छ ।

प्रदेश अस्पतालका निर्देशक डा. खड्काले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सहयोगमा सुर्खेतबाटै कर्णालीका जनतालाई सेवा दिन सक्ने बताए । उनले असोज ११ गतेसम्म नाम लेख्ने मिति रहेकाले उपचार १३ बाट सुरु हुने बताए । ‘सुरुमा भरतपुर अस्पतालको प्राविधिक टिमबाट सहयोग लिएर सेवा विस्तार गर्ने सम्झौता भएको छ,’ उनले भने, ‘प्रदेश अस्पतालमा प्रविधियुक्त उपकरणहरु भएकाले ठूलो अप्रेसन गर्न सहज हुनेछ ।’

प्रकाशित : भाद्र १८, २०८१ २१:३३
x
×