कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

बेरुजु शून्य बनाउने अभियानमा कपुरकोट गाउँपालिका  

भाद्र १७, २०८१
बेरुजु शून्य बनाउने अभियानमा कपुरकोट गाउँपालिका  

सल्यान — कपुरकोट गाउँपालिकाले बेरुजु शून्य बनाउने अभियान थालेको छ । २०७४ देखि गाउँपालिकाको बेरुजु १४ करोड ५१ लाख पुगेको छ । सुशासनको बाधककारुपमा देखिएको बेरुजु कम गर्न र पारदर्शिता बढाउन भन्दै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले बेरुजु शून्य बनाउने अभियान थालेका हुन् ।

गाउँपालिकाले सूचना प्रकाशन गरेर १५ दिन भित्रमा ज–जसको नाममा बेरुजु छ त्यो फर्छ्यौट गर्न समेत आग्रह गरेको छ । २०७४ देखि २०७९/८० सम्म असुल उपर गर्नुपर्ने १ करोड ५७ लाख ९४ हजार, पेस्की ३ करोड ८७ लाख ७ हजार, प्रमाण नपुगेका ५ करोड ३८ लाख १८ हजार, अनियमित ३ करोड ९० लाख ७ हजार गरी १४ करोड ५१ लाख ५० हजार बेरुजु रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले बताए ।

कपुरकोट गाउँपालिकाको आर्थिक स्रेस्ता तथा विवरणको लेखापरीक्षणमा करार कर्मचारी, जनप्रतिनिधि, फर्म, संस्था तथा व्यक्तिको नाममा रहेको १४ करोड ५१ लाख बेरुजु मध्ये अहिलेसम्म ७५ लाख १९ हजार असुल गरिएको उनले बताए ।

‘हामीले अहिले बेरुजु रकम फर्छ्यौटका लागि १५ दिनको सूचना प्रकाशन गरेका छौं । केही दिनमा सम्बन्धित करार कर्मचारी, फर्मवाला, जनप्रतिनिधि तथा व्यवसायीलाई पत्र पठाउने छौं, पत्राचार गर्दा पनि नआए ताकेता गर्छौं । त्यति गर्दा पनि फर्छ्यौट नगरे कारबाहीको प्रक्रिया अगाडी बढाउछौं,’ उनले भने, ‘बेरुजु रकम फर्छ्यौट नगरेका संघसंस्थालाई सेवा सुविधाका साथै कार्यक्रममा रोक लगाइने छ । व्यवसायीको कारोबार रोकिनेछ र कालोसुचीमा राखिने छ ।’ बेरुजु फर्च्यौट भएमा पालिकाको आर्थिक आम्दानी बढ्ने उनको भनाइ छ ।

करारमा भर्ना गरेका कर्मचारीको हकमा भने तलब कटौती गरेर फर्छ्यौट गरिने उनले बताए । लेखापरीक्षणबाट आब २०७९/८० मा बेरुजु असुल गर्नुपर्ने ३० लाख ९२ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने २ करोड १६ लाख ३२ हजार, नियमित गर्नुपर्ने २५ लाख ७५ हजार, पेस्की बाँकी २ करोड गरी ४ करोड ८४ लाख ३४ हजारको बेरुजु रहेको उनको भनाइ छ ।

प्रकाशित : भाद्र १७, २०८१ १७:००
x
×