कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

बल्ल हिँडे स्याउ बोकेका ट्रक

भाद्र १६, २०८१
बल्ल हिँडे स्याउ बोकेका ट्रक

जुम्ला — पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग ५ दिनपछि खुलेसँगै बाटोमा रोकिएका स्याउ बोकेका ट्रक गन्तव्यतिर लागेका छन् ।

कर्णाली राजमार्गको दहीखोला, गगनेखोला र मेयरखोलामा गएको पहिरोका कारण अवरुद्ध राजमार्ग खुलेसँगै जुम्लादेखि स्याउ बोकेका ट्रक अघि बढेका छन् ।

राजमार्गको कालीकोट खण्ड आइतबार बिहानै खुले पनि दैलेख खण्डको पहिरो पन्छाउने काम अबेरसम्म भएको थियो । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख इन्जिनियर चेतनकुमार मण्डलले सडक राजमार्ग अवरुद्ध हुँदा रोकिएका साधन गन्तब्यतिर लागेको बताए ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लाबाट स्याउ बोकेका ६५ वटा ट्रक बाटोमा रोकिएका थिए । ५ दिनदेखि झण्डै आठ करोडको स्याउ सडकमै अड्किएको कार्यालय प्रमुख बालकराम देवकोटाले बताए ।

प्रमुख देवकोटका अनुसार यो सिजनमा जुम्लाबाट ९ हजार मेट्रिकटन स्याउ निर्यात भइसकेको छ । जिल्लामा यो वर्ष १५ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान छ । उनले स्याउ बोकेका ट्रकलाई प्राथमिकतामा राखेर सञ्चालन गराउन आग्रह गरिएको बताए ।

जिल्ला विपद् व्यवस्थापन समिति पहिरोले राजमार्गमा रोकिएका कारण कुहिएर स्याउमा हुने क्षतिको एकिन गर्ने भएको छ ।

समितिको बैठकले जुम्ला–सुर्खेत सडक मार्गमा अलपत्र परेका मालबाहक ट्रकका स्याउ के कति क्षति भएको छ यकिन गर्ने र क्षति भएका स्याउको सम्बोधनका लागि कृषि विकास कार्यालय जुम्लाले अनुगमन गरी सुझावसहितको प्रतिवेदन पेश गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।

प्रकाशित : भाद्र १६, २०८१ २०:३४
x
×