कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बबईमा पुल नहुँदा स्कुले बालबालिकालाई सास्ती

भाद्र १५, २०८१
बबईमा पुल नहुँदा स्कुले बालबालिकालाई सास्ती

सल्यान — जिल्लाको कालीमाटी गाउँपालिका–७ काप्रेचौरको स्वामीबास, सल्यानचौर, हाउखोला, तल्नो बाटुलेका विद्यालयमा पढ्ने बालबालिकाले सास्ती भोग्दै आएका छन् । नजिकै माध्यमिक तहसम्मको विद्यालय नभएकाले बालबालिकाले सास्ती भोग्दै आएका हुन् ।

काप्रेचौरको घुइयाबारीमा मात्र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रहेको र विद्यालय जानका लागि लामो समय हिँड्नु पर्दा चार बस्तीका झन्डै दुई सय बालबालिका प्रभावित भएका छन् । बबई नदीमा पुल नभएपछि वर्षातको समयमा नदीमा पानीको सतह बढेका कारण विद्यालय पढ्ने बालबालिका दैनिक जंगलको बाटो हुँदै दुई घन्टा हिँड्न बाध्य हुँदै आएका छन् ।

पुल नभएका कारण हिउँदको समयमा पानीको सतह घट्दा बबई तरेर विद्यालय जाने गरे पनि वर्षातमा त्यो सम्भव नभएकाले नदीको किनारै किनार र जंगलको बाटो हिँडेर विद्यालय जाने गरेको नेरामावि घुइयाबारीमा कक्षा ९ मा अध्ययनरत छात्र तुलेन्द्र पुन मगरले बताए । विद्यालय पुग्न लामो समय लाग्ने भएकाले राम्रोसँग खाना नखाई बिहानै घरबाट हिँड्नु पर्ने बाध्यता रहेको उनले जानकारी गराए ।

‘बबई नदीमा पुल भैदिएको भए विद्यालय पुग्न ४० मिनेटभन्दा बढी लाग्दैन्थ्यो । वर्षातको समयमा ज्यान जोखिममा पारेर बबई नदी तर्न सकिँदैन,’ उनले भने, ‘ज्यानको मायाले गर्दा पनि भोक–प्यासको पर्वाह नगरी लामो समय हिँड्नु परेको छ । लामो समय हिँड्दा शरीर थाकेर हैरान हुन्छ । न राम्रोसँग सुत्न पाइन्छ, न खान नै । विद्यालय जान अहिले धेरै गाह्रो छ ।’

बबई नदीमा पुल नभएपछि लामो समय हिँड्नु पर्दा हिजोआज धेरै गाह्रो हुने गरेको कक्षा १० मा पढ्ने छात्रा उषा बस्नेतले बताइन् । नजिकै निकुञ्जको सिमाना भएकाले जंगली जनावरको डर त्यत्तिकै हुने भएकाले एक्लै विद्यालय जान नसकिने उनले जानकारी दिइन् । ‘वर्षात भएमा विद्यालय जान सकिँदैन । यसले गर्दा पढाइसमेत प्रभावित हुने गरेको छ,’ उनले भनिन्, ‘बबई नदीमा पुल नभएको होइन । पुल त छ तर पुलबाट वारपार गर्नलाई मात्र एक घन्टा बढी समय हिँड्नु पर्छ । विद्यालय पुग्न फेरो पर्छ । त्यही भएर नदीको किनारैकिनार हुँदै हिँडेर विद्यालय जाने गरेका छौं ।’

सम्बन्धित निकायमा बारम्बार माग राख्दै आए पनि बबईमा आवश्यकता अनुसार झोलुंगे पुल बन्न नसक्दा विद्यालय पढ्ने आफ्ना बालबालिकाले विभिन्न किसिमका समस्या भोग्दै आएको बाटुलेका प्रेमबहादुर रानाले बताए । बाँके राष्ट्रिय निकुञ्जको सीमाक्षेत्र भएकाले जंगली जनावरको डर त्यत्तिकै हुँदा बालबालिका समेत असुरक्षित रहेको उनले जानकारी गराए ।

नेरामावि घुइयाबारीका प्रअ ओमप्रकाश गुप्ताले बबई नदीमा पुल नभएकै कारण वर्षातको समयमा बाटुलेका १५/२० जना विद्यार्थी विद्यालय आउनबाट वञ्चित हुँदै आएको बताए । हिउँदमा खासै समस्या नभए पनि बर्षातको समयमा भने चार बस्तीका स्कुले बालबालिका मात्र नभई अन्य स्थानीय पनि समस्यामा पर्ने गरेको उनले जानकारी दिए । नदीमा पुल नभएकै कारण कति त विद्यालय नजिकै घर भाडामा लिएर बसी पढ्ने गरेको उनको भनाइ छ ।

कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालले बबईमा पुल बने पनि पर्याप्त नभएका र भएका पनि टाढा रहेकाले स्वामीबास, सल्यानचौर, हाउखोला, तल्नो बाटुलेका स्कुले बालबालिका बढी प्रभावित भएको बताए । चार वडाका स्थानीय र स्कुले बालबालिकालाई सहज होस् भनेर बबई नदीमा झोलुंगे पुलको योजना परे पनि काम हुन नसक्दा लामो समय हिँड्न बाध्य भएको उनले जानकारी गराए ।

‘विगतमा वर्षातको समयमा पनि बालबालिका शरीरमा चिन्डो बाँधेर बबई नदी तरेर विद्यालय जाने गर्थे । तर, त्यसो गर्दा वर्षातको समयमा ज्यान जोखिममा पर्न थालेपछि हिँडेर आउजाउ गर्छन्,’ उनले भने । बबई उर्लिएकाले स्कुले बालबालिका मात्र नभई स्थानीयले समेत विभिन्न किसिमको समस्या भोग्दै आएको उनको भनाइ छ ।

प्रकाशित : भाद्र १५, २०८१ १९:१९
x
×